एमाले माओवादी एकतापछि- आठ तहको संगठन संरचना बन्ने
सारांश
- काठमाडौं, २५ फागुन – पार्टी एकीकरण प्रक्रियाका क्रममा एमाले र माओवादी केन्द्रको कार्यदलले राज्य पुनर्संरचनाअनुसार आठ तहको कार्यकारी कमिटीको प्रारम्भिक मस्यौदा तयार पारेको छ ।
- आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।
- कार्यदलले केन्द्रीय कमिटीदेखि प्रारम्भिक कमिटीसम्मका आठ तहको कार्यकारी र निर्वाचन क्षेत्रका आधारमा समन्वय कमिटीको खाका तयार पारेको हो ।
काठमाडौं, २५ फागुन – पार्टी एकीकरण प्रक्रियाका क्रममा एमाले र माओवादी केन्द्रको कार्यदलले राज्य पुनर्संरचनाअनुसार आठ तहको कार्यकारी कमिटीको प्रारम्भिक मस्यौदा तयार पारेको छ । आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।
कार्यदलले केन्द्रीय कमिटीदेखि प्रारम्भिक कमिटीसम्मका आठ तहको कार्यकारी र निर्वाचन क्षेत्रका आधारमा समन्वय कमिटीको खाका तयार पारेको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र दुईवटा भएका जिल्लामा प्रतिनिधिसभा समन्वय कमिटी र एकमात्र क्षेत्र भएका जिल्लामा प्रदेशसभा समन्वय कमिटी रहनेछन् । पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटी हुनेछ भने केन्द्रमा पोलिटब्युरो र स्थायी कमिटीका संरचना हुनेछन्।
केन्द्रीय कमिटीका एकतिहाइ सदस्य रहनेगरी पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ सदस्य रहने स्थायी कमिटी गठन हुनेछ । तर यी कमिटी कति सदस्यीय हुने भन्ने तय भइसकेको छैन।
त्यसैगरी सातै प्रदेशमा प्रदेश कमिटी व्यवस्था गरिएको छ । प्रदेश कमिटीअन्तर्गत पनि केन्द्रको जस्तै आयोग निर्माण गरिने प्रस्ताव गरिएको छ । केन्द्रमा लेखा, निर्वाचन र अनुशासन आयोग रहने गरी मस्यौदा तयार पारिएको छ । केन्द्रीय कमिटी मताहत विभागहरु रहनेछन्।
प्रदेशपछि जिल्ला कमिटी, स्थानीय तहका कमिटीमा महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिकाअनुसार कमिटी हुनेछन् । त्यसैगरी वडामात्रै नभएर सेल कमिटीसमेत गठन गरिने छ।
‘राज्य पुनर्संरचना र देशको प्रशासकीय संरचनाअनुसार पार्टी कमिटी निर्माण गरिने प्रारम्भिक खाका तयार भएको छ’, कार्यदलका बेदुराम भुसालले नागरिकसँग भने, ‘सैद्धान्तिक आधार दुवै पार्टीबीच भएको सातबुँदे सहमतिअनुसार माक्र्सवादी लेनिनवादी सिद्धान्तलाई बनाइएको छ।’
कार्यदलका सदस्य गोकर्ण विष्टले प्रारम्भिक खाकालाई शुक्रबार अन्तिम रुप दिएर पार्टी एकता केन्द्रीय संयोजन समितिमा बुझाइने बताए।
मस्यौदामा केन्द्रमा विभाग, विद्यार्थी, युवा, मजदुर, किसानसहितका विभिन्न जनवर्गीय संगठन, पेसागत संगठनको संरचना तयार पारिएको छ । एमाले र माओवादी केन्द्रबीचको सहमतिअनुसार पार्टी संगठन निर्माणका लागि गठन गरिएको कार्यदललाई दुवै पार्टीका अध्यक्षले शुक्रबारसम्म आवश्यक खाका तयार पार्न निर्देशन दिएका छन् । एमाले र माओवादीबीच चैत पहिलो साताभित्रै पार्टी एकीकरण गरिसक्ने गृहकार्य भइरहेको छ।
प्रतिक्रिया