एमाले-माओवादी भातृ संगठनका पुच्छर हटाएर नाम राख्दै
सारांश
- एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् ।
- एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ ।
- एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।
एमाले र माओवादीले पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन गर्ने समझदारी गरेका छन् । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुने भएकाले जनसंगठनका नामबाट पनि ‘पुच्छर’ हटाएर संक्षिप्त बनाउने विधान मस्यौदा कार्यदलमा समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
‘मिल्दाजुल्दा नाम भएका जनसंगठनका नामको पुच्छर हटाएर छोटो बनाउने, महासंघीय ढाँचामा रहेका पेसागत संगठनहरूलाई एउटै जनसंगठन बनाउने समझदारी भएको छ,’ विधान मस्यौदा कार्यदलका एक सदस्यले भने ।
पेसागत संगठनका एउटै महासंघ बन्ने
विधान मस्यौदा कार्यदलमा भएको छलफलमा शिक्षक, स्वास्थ्यकर्मी, प्राध्यापक, चिकित्सक, निजामती कर्मचारीलगायत पेसागत संगठनलाई एउटै महासंघअन्तर्गत राखेर जनसंगठन बनाउने समझदारी भएको छ । त्यस्तै, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान संघ, किसान महासंघ नेपालको नाम संक्षिप्त बनाउने तयारी छ । युवा संघ नेपाल र वाइसिएल एकतापछिको नाम भने के राख्ने भन्ने टुंगो छैन ।
विधान अन्तिम चरणमा केन्द्रीय कमिटीमा गृहकार्य
विधान मस्यौदा कार्यदलले ७७ दफाको प्रारम्भिक मस्यौदा हेरफेर गर्दै अन्तिम रूप दिने तयारी थालेको छ । ‘विधानसँग सम्बन्धित तयारीको काम सकिएको छ, पार्टी एकता संयोजन समितिलाई बुझाउन मात्र बाँकी छ’, एमाले उपमहासचिव विष्णु पौडेलले भने, ‘एकपटक अन्तिम बैठक बोलाएर केही बाँकी कुरा मिलाएर संयोजन समितिलाई प्रतिवेदन हस्तान्तरण गर्छौं ।’
बिहीबार र शुक्रबारको छलफलमा आएका सुझाव राखेर मस्यौदालाई अन्तिम रूप दिने जिम्मेवारी नेताद्वय बेदुराम भुसाल र वर्षमान पुनलाई दिइएको छ । विधानको सैद्धान्तिक रूपरेखा तयार भइसकेकाले कार्यदलका सदस्यहरू आ–आफ्ना पार्टीभित्र आन्तरिक परामर्शमा लागेका छन् । पदाधिकारी, केन्द्रीय कमिटी, स्थायी समिति, पोलिटब्युरो, प्रदेश, जिल्लासहित तल्ला कमिटीहरूको संख्या कति राख्ने विषयमा दुवै पार्टीभित्र छलफल भएपछि मात्रै कार्यदलमा प्रवेश पाउनेछ ।
प्रतिक्रिया