ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०८१
|
|
५१ पटक हेरिएको
Shares
ओलम्पिक फुटबलमा विवादकाबीच मोरक्कोसँग अर्जेन्टिना पराजित

सारांश

  • काठमाडौं।
  • पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ।
  • बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो।

काठमाडौं। पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ। बुधबार साँझ खेल निकै रोचक भइरहेको बेला अर्जेन्टिनाले अन्तिम क्षणमा गरेको गोललाई भारले मान्यता नदिएपछि विवाद बढेको हो।

अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६औ मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यस लगतै दर्शकदीर्घाबाट मैदानमा बोतल फ्यालिएको थियो र केही दर्शक मैदानमा प्रवेश गरेका थिए। अवस्था नियन्त्रणभन्दा बाहिर जाने स्थिति बनेपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए र दुवै टिमले मैदान पनि छोडेका थिए। तर खेल भने सकिएको थिएन। खेल करिब २ घण्टा अवरुद्ध रह्यो।

दर्शकले हुलदंगा गरेपछि दुई घण्टापछि खाली रंगशालामा खेलको बाँकी ३ मिनेट समय खेलाइने निर्णय गरियो। तर बाँकी समयको खेल शुरु हुनु अघि अर्जेन्टिनाको गोललाई अफसाइड भन्दै भारले अस्वीकृत गरिदियो । तर बिना दर्शक बाँकी समय खेल खेलाइयो र मोरक्को यस खेलमा २-१ ले विजयी भएको घोषणा गरियो।

खेलपछि अर्जेन्टिनी प्रशिक्षक ज्याभिएर मास्केरानाले यो निर्णयले फुटबलकै बेइज्जत भएको र खेललाई सर्कस बनाइएको प्रतिक्रिया दिएका छन्। अर्जेन्टिनाका सुपरस्टार खेलाडी लियोनेल मेसीले पनि यस घटनामा आफ्नो प्रतिक्रिया दिँदै ‘अविश्वसनीय’ भनेका छन्।

अब अर्जेन्टिनाले समूह बी मा शनिबार इराकविरुद्ध खेल्ने तालिका छ भने मोरक्कोले सोही दिन युक्रेनको सामना गर्दै छ।

बुधबारनै सम्पन्न अन्य खेलमा समूह डी मा जापानले पाराग्वेलाई ५-० ले समूह सी मा स्पेनले उज्वेकिस्तानलाई २–१ ले पराजित गर्यो भने इजिप्ट र डोमिनिक रिपब्लिकले गोलरहित बराबरी खेले । यस्तै समूह बी मा इराकले युक्रेनलाई २-१ ले पराजित गरको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?