ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने
सारांश
- कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता गर्न प्रस्ताव काठमाडौं : एमाले–माओवादी पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअगाडि नहुने भएको छ।
- दुवै पार्टीका अध्यक्षले छलफल तीव्र पारे पनि कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको हो।
- औपचारिक रूपमा घोषणा भइनसके पनि प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा छन्।
कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन एकता गर्न प्रस्ताव
काठमाडौं : एमाले–माओवादी पार्टी एकता प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअगाडि नहुने भएको छ। दुवै पार्टीका अध्यक्षले छलफल तीव्र पारे पनि कार्यदलले समयमै काम नसक्दा एकता धकेलिएको हो।
औपचारिक रूपमा घोषणा भइनसके पनि प्रधानमन्त्री केपी ओली २३ देखि २५ चैतसम्म भारतको तीनदिने राजकीय भ्रमणमा जाने तयारीमा छन्। प्रधानमन्त्रीले यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो भ्रमणअगाडि नै एकता टुंगो लगाउन प्रस्ताव गरेका थिए। अब कम्युनिस्ट पार्टीको स्थापना दिवस ९ वैशाख (२२ अप्रिल) मा एकता हुने सम्भावना बढेको छ। माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापा नेतृत्वको अन्तरिम विधान बनाउन गठित कार्यदलले दुवै अध्यक्ष (ओली–दाहाल) लाई उक्त दिन एकताको घोषणा गर्न प्रस्ताव गरेका थिए।
कार्यदलले संगठनात्मक सबै संरचनालगायत विषय टुंगो लगाए पनि अझै चुनाव चिह्न, प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने–नराख्नेदेखि पार्टी एकतापछि बन्ने कमिटीमा कुन पक्षका कतिलाई सहभागिता गराउने भन्ने विषय टुंगो लाग्न सकेको छैन। टुंगो नलागेका यी विषय सकभर टुंग्याउन सकिन्छ कि भनेर कार्यदल संयोजक थापा र एमालेका तर्फबाट कार्यदलमा नेतृत्व गरेका रक्षामन्त्री ईश्वर पोखरेलले बिहीबार बैठक बसेर प्रयास गरेका थिए।
‘उहाँहरू (थापा–पोखरेल) बीच बिहीबार छलफल भए पनि टुंग्याउने र सहमति जुटाउनेतिर गएन,’ कार्यदलका सदस्यसमेत रहेका एमाले नेता वेदुराम भुसालले भने, ‘अब यो विषय एकता संयोजन समितिमै पठाइदिनेतिर उहाँहरू पुग्नुभएको देखिन्छ।’
उता, अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले प्रतिवेदनलाई मूर्तता दिने गरी छलफल बिहीबारबाट मात्र केन्द्रित गरेका छन्। बिहीबार अबेरसम्म कार्यदलका नेताहरू प्रतिवेदनलाई अन्तिम रूप दिन छलफलमा बसेका थिए। राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले पनि प्रतिवेदन तयार भएपछि दुवै कार्यदलले आ–आफ्नो प्रतिवेदन ओली–दाहाललाई बुझाउनु पर्नेछ। त्यसपछि दुवै पार्टीका शीर्ष नेता रहेको एकता संयोजन समिति र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने, नमिलेका विषय मिलाउने र प्रतिवेदन पारित गर्नुपर्ने कार्यसूची छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Ananda Bajracharya
अहिले नै भारत भ्रमण किन जानू पर्यो पछि गए पनि भैहाल्छ नि। त्यहाँ गएर सपथग्रहण गर्नु पर्ने त होइन। के को हतार।