ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ८, २०७४
|
|
२२ पटक हेरिएको
Shares
ओली-दाहाल सम्बन्ध : फरक स्कुलिङ, ‘चामत्कारिक’ मिलाप

सारांश

  • काठमाडौं, ८ फागुन – कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।
  • ६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो।

काठमाडौं, ८ फागुन – कम्युनिस्ट दर्शन एकै भए पनि ५५ वर्षदेखि स्कुलिङ फरक भएका मूलधारका प्रभावशाली दुई कम्युनिस्ट पार्टीलाई एकै बनाउन सहमत नेता हुन्- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल। आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।

६८ वर्षको कम्युनिस्ट पार्टी इतिहासमा यी दुई नेताको पाँच दशकभन्दा बढी फरक स्कुलिङ थियो। तर, सोमबार राजनीतिमा ‘आइसब्रेक’ गर्दै यी दुई नेताले एमाले र माओवादीलाई एउटै पार्टी बनाउँदै ‘शक्तिशाली कम्युनिस्ट केन्द्र निर्माण’ को संयुक्त नेतृत्व नै लिए।

ओली-दाहाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूमा केन्द्रीकरण गर्न चाहने नेता हुन्। हुर्काइ, वर्ग धरातल र राजनीतिक पृष्ठभूमि नै फरक देखिएका यी दुई नेताको ‘चामत्कारिक’ मिलाप हुन्छ भन्ने ६ महिना अगाडिसम्म कसैले सोचेको थिएन।

आरोप-प्रत्यारोप र घोचपेचका कटु यथार्थ यी दुई नेताका सम्बन्ध थिए। ओली दाहाललाई ‘अस्थिर’ नेताको आरोप लगाउँथे भने दाहाल ओलीलाई पश्चगामी र ‘नक्कली राष्ट्रवादी’ भन्न पछि पर्दैनथे।

ओलीको दुःख, दाहालको सोखिन बाल्यकाल

ओली-दाहाल दुवैका पृष्ठभूमि, रहनसहन, स्वभाव फरक छन्। ओलीको बाल्यकाल दुःखैदुःखमा बितेको छ। अर्काको घरमा गोठालो बसेर उनले बाल्यकालको शिक्षा लिएका थिए। तर, दाहालले ओलीले बाल्यकालमा गरेजस्तो संघर्ष गर्नुपरेन। सानै उमेरदेखि नै अत्यन्त सफाचट (आइरन लगाएर टलक्क टल्काएको लुगा) लगाएर हिँड्ने दाहालको सोख पहिलेदेखि नै थियो। उनलाई पढ्नका लागि दुःख गर्नुपरेन। कृषिमा बीएसस्सी गरेर एमपिएसम्म दाहालले अध्ययन गरेका छन् तर ओलीले उच्च शिक्षा पढेका छैनन्। उनले त्यसरी पढ्ने अवसर पनि पाएनन्। दाहाल चितवन, गोरखालगायत विभिन्न विद्यालयमा केही समय अध्यापनमा पनि सहभागी भएका थिए।

ओलीका छोरा-छोरी छैनन्। दाहालका एक छोरा र तीन छोरीमध्ये एक्ला छोरा प्रकाशको मंसिर ३ मा हृदयाघातका कारण ३६ वर्षको उमेरमा निधन भयो भने जेठी छोरी पनि केही वर्षअघि क्यान्सरका कारण बितिन्। अहिले दाहालका रेणु र गंगा दुई छोरी छन्। रेणु भरतपुर महानगरकी मेयर हुन्।

ओली दाहालभन्दा ३४ महिना जेठा

ओलीभन्दा दाहाल ३४ महिनाले कान्छा छन्। ओली २००८ फागुनमा झापामा जन्मिएका हुन्। दाहाल भने २०११ मंसिरमा कास्कीमा। दाहालभन्दा ओलीले उमेरमा मात्र होइन, कम्युनिस्ट पार्टीको सदस्यताप्राप्त गर्नेमा पनि पहिलो नै छन्। उनले २०२६ सालमा संगठित सदस्यता लिँदै माक्र्सवादी अध्ययन दलमा संगठित भएका थिए। दाहालले भने ओलीले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको दुई वर्षपछाडि मात्रै ०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

पार्टी सदस्यता लिनु अगाडिदेखि नै यी दुई नेताको वैचारिक-राजनीतिक स्कुलिङ फरक थियो। तर, दुवैको हतियारबद्ध संघर्षको नेतृत्व गरेरै आएको पृष्ठभूमि छ। २०२७ सालको झापा आन्दोलन (वर्ग शत्रु खत्तम अभियान) का नेतामध्येकै एक हुन् ओली। ओलीले ०२७ सालमै थालेको हतियारबद्ध संघर्षको नेतृत्व ०५२ सालमा पुगेर दाहालले लिएका थिए।

पहिलो भेट : भारतको सिलिगुडीमा

ओली-दाहालबीच ३० को दशकमै कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीति गरे पनि प्रत्यक्ष भेट हुन भने अर्को ३० वर्ष कुर्नुपरेको थियो। यी दुई नेताबीच २०५९ सालमा मात्रै प्रत्यक्ष भेट भई संवाद भएको थियो, त्यो पनि नेपालमा नभई भारतको सिलिगुडीमा।

नेपालका सबैजसो वाम पार्टीलाई संविधानसभाको एजेन्डामा सहमत गराउने उद्देश्यले माओवादीले त्यसबेला सिलिगुडीमा दुई दिनसम्म बृहत् कम्युनिस्टको वार्ता र संवाद चलाएको थियो। त्यहीबेला ओली-दाहालबीच सिलिगुडीमा प्रत्यक्ष भेट र संवाद भएको थियो।

साथमा यो पनि पढ्नोस् : मिले एमाले-माओवादी, कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’

त्यसबेला ओलीसँगको भेटका सन्दर्भमा एक मिडियासँग दाहालले ओलीले त्यसबेला आफूलाई व्यक्त गरेको भनाइ स्मरण गर्दै भनेका थिए, ‘तपाईं (दाहाल) अलि जन्ड-जन्ड खालको हुनुहोला भनेको त पूरै सामान्य किसिमको नेता हुनुहुँदो रहेछ।’

ओली माओवादीले चलाएको सशस्त्र संघर्षका कटु आलोचक थिए। त्यही भएर पनि एमालेकै वामदेव गौतम, माधव नेपाल, झलनाथ खनाललगायत नेतासँग संवाद भइरहँदासमेत ओलीसँग दाहालको संवाद भएन। जनयुद्धकालदेखि शान्ति प्रक्रियासम्म ओली र दाहालबीच खासै संवाद भएन। ओलीले माओवादीप्रति तिखो आलोचना गर्ने भएकै कारण दुई नेताले एक-अर्कासँगको संवादलाई महŒव पनि दिएनन्। यसो हुनुमा दुवै नेतामा एक-अर्काप्रतिको ‘फोबिया’ ले पनि काम गरेको मान्नेहरू अहिले पनि दुवै पार्टीभित्र छन्।

अन्तरमुखी ओली, बहिर्मुखी दाहाल

ओली अन्तरमुखी स्वभावका छन् तर दाहालमा त्यसको विपरीत बहिर्मुखी स्वभाव छ। अन्तरमुखी स्वभावकै कारण ओलीमा मनोगतवादी र एकलकाँटे प्रवृत्ति पनि रहेको एमालेकै नेताहरू टिप्पणी गर्छन्। दाहालसँग भने बहिर्मुखी स्वभाव भएका कारण विपक्षीसँग उनी सजिल्यै घुलमिल गर्न सक्छन्। त्यसैले पनि दाहालमाथि अस्थिर स्वभावका नेताको आरोप लागिरहन्छ। तर, उनी स्वयं भने आफूलाई द्वन्द्वात्मक भौतिकवादका अनुयायी भएका कारण प्रत्येक विषय निरन्तरतामा भन्दा क्रमभंगतामा बुझ्नुपर्ने र त्यसैअनुरूप हिँड्न सक्नुपर्ने तर्क गर्छन्।

ओली कडा अडानमा रहने नेताका रूपमा पछिल्ला दिनमा परिचित छन्। उनी बोलेपछि हत्तपत्त अडान छाड्न चाहँदैनन् तर दाहालचाहिँ बेला-मौका हेरेर बोलीमा लचकता पनि देखाउन खप्पिस छन्।

वाम विश्लेषक श्याम श्रेष्ठको भनाइमा ओली र दाहाल दुवै नेता डिसिजन लिने सवालमा असाध्यै ‘बोल्ड’ छन्। पार्टीमा पनि दुवैको आफ्नै पकड छ तर प्रचण्ड लचिलो र ओली कसिलो स्वभावका नेता भएको उनको बुझाइ छ। ‘पर्सानालिटीका हिसाबले दाहाल अलिक लचिलो बन्न सक्छन् तर ओली रिजिक्ट छन्,’ दुई नेताको चरित्र चित्रण गर्दै उनी भन्छन्।

त्यसो त यी दुवै नेता एकअर्कालाई अझै पनि आशंकाले हेर्छन्। दुवै एकअर्कालाई चतुर राजनीतिक खेलाडी ठान्छन्। जसकारण एकअर्काको बडी ल्याङवेजलाई पनि अर्थपूर्ण ढंगले हेर्छन्।

दुवै नेताले लिने बोल्ड डिसिजनमा पार्टीभित्र कसैले पनि खुलेर औंला उठाउने हिम्मत गर्दैनन्। दुवै नेता सिद्धान्तभन्दा शक्तिमा विश्वास गर्ने स्वभावका भएका कारण पाँच महिनायता पार्टी एकता वार्ता अप-डाउन हुँदै निष्कर्षमा पुगेको हो।

दाहालकै प्रस्तावमा ओली प्रधानमन्त्री

एमाले अध्यक्ष ओली दुवै पटक माओवादी अध्यक्ष दाहालकै प्रस्तावमा प्रधानमन्त्री बन्न सफल भए। पहिलोपटक दाहाल आफैँले प्रस्ताव गरेर ओलीलाई प्रधानमन्त्री बनाए र पछि अविश्वास दर्ता गराएर कुर्सीबाट निकाल्न भूमिकासमेत खेले।

ओलीले सरकार छाड्ने बेला यी दुई नेताबीच सबैभन्दा पेचिलो संघर्ष चल्यो। आरोप-प्रत्यारोपमा दुवैले कसर बाँकी राखेनन्। तर, राजनीति सम्भावनाको खेल हो भनेजस्तै यी दुई पार्टीबीच असोज १७ मा एकाएक चुनावी तालमेल र पार्टी एकतासम्मको सहमति बन्यो।

दोस्रो पटक पनि दाहालकै पार्टीको समर्थनमा ओली प्रधानमन्त्री भएका छन्। दाहाल पनि दुई पटक प्रधानमन्त्री बनिसकेका छन्। पहिलो पटक एमालेसहितको समर्थनमा र दोस्रो पटक कांग्रेसलाई साथ लिएर। दाहाल पहिलो पटक प्रधानमन्त्री बन्दा ओली पार्टीको मूल नेतृत्वमा थिएनन् तर दोस्रो पटक प्रधानमन्त्री बन्दा ओलीसँगको सम्बन्धमा ब्रेक लागेको थियो।

अब एउटै कमिटीमा

२०४४ सालदेखि ओली पार्टीको केन्द्रीय समितिमा छन्। दाहाल पनि सोही पेरिफेरिमा पार्टीको केन्द्रीय समितिमा पुगिसकेका थिए। ओली केन्द्रीय समितिमा पुग्न संघर्ष गर्दैगर्दा दाहाल भने पार्टीको सर्वाेच्च पद सम्हाल्ने अवस्थामा पुगिसकेका थिए।

दाहाल ०४६ सालमा तत्कालीन नेकपा (मशाल) को महामन्त्री बनिसकेका थिए। त्यसयता उनी निरन्तर पार्टीको माथिल्लो पद (अध्यक्ष) मा छन्। पछिल्लोपटक ०७० मा पार्टीको विराटनगर महाधिवेशनबाट पनि उनी अध्यक्ष चुनिएका थिए। यस हिसाबले २८ वर्षयता दाहाल पार्टीको सर्वाेच्च पद (अध्यक्ष) मा छन्। ओली भने ०७१ को एमालेको नवौं महाधिवेशनबाट अध्यक्ष बनेका हुन्। उनले पार्टी नेतृत्व सम्हालेको तीन वर्ष पुगेको छ।

यी दुई नेताबीच एकै कमिटीमा बसेर सहकार्य भएको छैन। फरक स्कुलिङबाट भएका कारण पनि दुई नेताले एकै कमिटीमा बसेर काम गर्ने अवसर पाएनन्। तर, अब यी दुई नेता एकीकृत पार्टीको एउटै कमिटीमा बसेर काम गर्दै छन्।

एकीकृत पार्टी (नेपाल कम्युनिस्ट पार्टी) को संयुक्त नेतृत्व गर्ने गरी ओली-दाहालले सहकार्य गर्दै छन्।

इतिहास हेर्ने हो भने यी दुई नेताको सम्बन्ध तिक्ततापूर्ण अवस्थामै बितेको थियो। दाहाल ओलीलाई मानसिक उपचार गराउनुपर्नेसम्मका चर्का अभिव्यक्ति दिन्थे भने ओली पनि माओवादीलाई हिंस्रक (जंगली) सम्मका आरोप लगाउँथे। तर, अहिले यी दुई नेतामा आएको मिलापले कम्युनिस्ट आन्दोलनमै ‘ब्रेक थु्र’ गराएको छ।

(https://nelsonjsalon.com/)

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    Milap ho ki Bilal, herna Banki.

    Comment Author

    Tiljapun Magar

    नेपाल मा चमत्कारिक बिकास पनि देख्न पाइयोस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)
पुष्कल शर्माको फेरी अर्को मार्मिक कोशेली “आँशु आखाँमा ” (भिडियो सहित)
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सच्चिन जरुरी छ : विनोद चौधरी
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
मालपोत अधिृकत जेल जाँदा गच्छेदार तथा दीप बस्न्यातलाई टेन्सन
यति छ बाहुबाली नायक प्रभासको सम्पत्ति र गाडी
यति छ बाहुबाली नायक प्रभासको सम्पत्ति र गाडी
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
संसद विघटनविरुद्धको मुद्वामा प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ताहरुबीच रोचक सवाल-जवाफ
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न
सगरमाथाको उचाइ नाप्न नेपाली टोली आधार शिविरतर्फ प्रस्थान
सगरमाथाको उचाइ नाप्न नेपाली टोली आधार शिविरतर्फ प्रस्थान
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते
प्यालेस्टाइनको गाजामा चारको मृत्यु, ४५० घाइते

तपाईंले छुटाउनुभयो कि?