कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
१४
|
२६ पटक हेरिएको
Shares
कति बेला सुनअाइपुग्ला भनेर डिआइजी र एसएसपी साब कुरेर बस्नुहुन्थ्यो !

सारांश

  • कठमाडाै, २० वैशाख ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा भइरहेको सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये एक प्रहरीले आरोप स्वीकार गरेका छन्।
  • प्रहरी जवान विष्णुबहादुर खड्काले आरोप स्वीकार्दै आफूले तस्करहरुसँग पैसा पनि लिएको बयानका क्रममा बताएका छन्।

कठमाडाै, २० वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा भइरहेको सुन तस्करीमा सघाएको आरोपमा पक्राउ परेका ७ प्रहरीमध्ये एक प्रहरीले आरोप स्वीकार गरेका छन्।

प्रहरी जवान विष्णुबहादुर खड्काले आरोप स्वीकार्दै आफूले तस्करहरुसँग पैसा पनि लिएको बयानका क्रममा बताएका छन्।

प्रहरीसँगको लिखित बयानमा उनले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउतको नाम लिएका छन्। विमानस्थलमा प्रहरीको स्कर्टिङबाटै सुन तस्करी हुने र तत्कालीन डिआइजी निरौला लगायत प्रहरी अधिकारीहरुले आफ्नै कोठामार्फत सुन पास गराउने गरेको समेत खड्काले बताएका छन्।

पक्राउ परेका अन्य सबै प्रहरी अधिकारीहरुले बयानको क्रममा आफूहरुलाई तस्करहरुलाई सघाएको  वयानमा उल्लेख छ ।
यस्तो छ खड्काको लिखित बयानको अंश

२०५८ माघ ५ मा बागमती अञ्चलबाट जिप र कारको सवारीचालक अनुमतिपत्र प्राप्त गरी करिब ५/६ महिनापछि तत्कालीन प्रनाउ शेरबहादुर बस्नेत सरको गाडी चलाउन थालेँ। करिब २ वर्षसम्म तत्कालीन डिएसपी शेरबहादुर बस्नेत सरको गाडी चलाएँ। सो पश्चात् डिएसपी शेरबहादुर बस्नेत सरको एसपी पदमा बढुवा भएपश्चात् पनि सर सोही कार्यालयमा बस्नुभएको हुँदा मैले सरकै गाडी कुदाएर बसेँ।

उहाँको ठाउँमा तत्कालीन एसपी श्यामबहादुर खत्री सर आउनुभयो। महानगरीय प्रहरी अपराध महाशाखामा एसपी श्यामबहादुर खत्री सर करिब २७र२८ महिना कार्यरत रहनुभयो। त्यसपछि एसपी श्यामबहादुर खत्री सरको लागुऔषध नियन्त्रण ब्युरो नयाँ बानेश्वरमा सरूवा भयो र सरले मलाई पनि सँगै लिएर जानुभयो। लागुऔषध नियन्त्रण ब्युरोमा ७र८ महिना कार्यरत रहँदा उहाँको एसएसपी पदमा बढुवा भयो र अञ्चल प्रहरी कार्यालय सगरमाथा पदस्थापन भई जानुभएपछि म पुनः महानगरीय अपराध महाशाखा फिर्ता भएँ। महाशाखामा करिब एक वर्ष अफिसकै गाडी चलाएँ। सोपश्चात् एसएसपी श्यामबहादुर खत्री सरले नेपालगञ्ज तालिम केन्द्रमा मलाई काजमा झिकाउनुभयो। त्यहाँ सरसँग करिब एक वर्ष बसेँ। त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा एसएसपी श्यामबहादुर खत्री सरको सरूवा भयो र उहाँसँगै म पनि काठमाडौं आएँ। २०७२ सालको दशैंतिरबाट एयरपोर्टमा करिब १७र१८ महिना सरसँग बसेँ। एसएसपी श्यामबहादुर खत्री सर ३३ केजी सुन तस्करीमा छानबिनको क्रममा निलम्बन हुनु भएपछि म मेरो तत्कालको दरबन्दीमा फिर्ता भएको थिएँ। पछि सुरक्षा सेवा निर्देशनालयबाट सवारी महाशाखामा काज भयो र फेरि पछि एसएसपी श्यामबहादुर खत्री सरको निलम्बन फुकुवा भएपछि म मानवश्रोत विकास विभागमा सरको ड्राइभरको रूपमा खटिएको थिएँ। विभागमा विगत ७र८ महिना देखि म पुनः सरको चालकको रूपमा खटिरहेको थिएँ।

२०७५ बैसाख ५ गते मलाई एसएसपी श्यामबहादुर खत्री सरले मलाई निजको घरमा पुगेको समयमा तिमीलाई गृह मन्त्रालयको टोलीले खोजेको छ अरे तिमी गृह मन्त्रालयमा गएर १०९ नं को कोठामा जाऊ भनेको हुनाले म २०७५ बैसाख ५ गते म गृह मन्त्रालयमा रुम नं १०९ मा पुगेर नेपाल सरकार विशेष अनुसन्धान टोलीमा खटिनुभएका सरहरुलाई भेटी निजहरुले मलाई विमानस्थलबाट हुने गरेको सुनको तस्करी, काठमाडौंबाट लुटिएको भनिएको साढे ३३ केजी सुन र सोसँगै जोडिएको सनम शाक्यको हत्या लगायतका घटनाबारे सोधपुछ गर्ने क्रममा म पक्राउ परेको हुँ। मिति २०७४ चैत २७ गते मोरङको उर्लाबारी नगरपालिका ४ स्थित मोहन काफ्लेको घरबाट बरामद भई आएका सुनको परिमाण र प्रहरी कर्मचारीहरुको विभिन्न दर्जालाई दिएको भनेका हिसाबका विवरणहरू देखाउँदा देखिपाएँ। उक्त विवरणमा उल्लिखित डिआइजी मामा भन्ने व्यक्ति तत्कालीन समयमा विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत डिआइजी गोविन्दप्रसाद निरौला सर हो। यसैगरी एसएसपी मामा भन्ने मानिस एसएसपी श्यामबहादुर खत्री सर, एसपी मामा भन्ने व्यक्ति एसपी विकासराज खनाल सर, डिएसपी मामा भन्ने व्यक्ति डिएसपी सञ्जयबहादुर राउत सर हो भने एसएसपी मामाको ड्राइभर भन्ने व्यक्ति म स्वयं हुँ।

एसएसपी श्यामबहादुर खत्री सरको निर्देशनमा मैले तस्करीको सुन गाडीमा पुर्याई दिएबापत दाह्रीवाला पछि नाम थाहा पाएको मोहन काफ्लेले मलाई एक पटक रु ५ हजार र अर्को पटक रु १० हजार गरी जम्मा रू १५ हजार दिएका थिए। अवैध रुपमा नेपाल भित्रिने उक्त सुनको तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज। हाल प्रह। अमरबहादुर थापा मगर र म समेत संलग्न रहेका थियौं।

मिति २०७४ फागुन १८ गते मोरङ उर्लाबारी नपा। १ स्थितमा सनम शाक्याको हत्या गरिएको रहेछ। २०७४ फागुन १९ गते विराटनगर महानगरपालिका ३ स्थित गाडीमा सनम शाक्यको लास फेला परेको र सोही स्थानबाट मोहन काफ्ले पक्राउ परेको रहेछन्। मोहन काफ्ले लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा निजहरुले विदेशबाट सुन लिएर इमिग्रेसनसम्म आउने र निजहरुको पासपोर्टमा इमिग्रेसनको छाप लागेपश्चात् कहिले डिएसपी सञ्जयबहादुर राउत सरले र कहिले एसपी बिकासराज खनाल सरले निजहरुलाई इस्कर्ट गरेर सिधै एसएसपी श्यामबहादुर खत्री सरको र डिआइजी गोविन्दप्रसाद निरौला सरको विमानस्थलस्थित अफिस कोठामा पुर्याउने गरेका थिए। सुन आउने समयमा डिआइजी गोविन्दप्रसाद निरौला सर र एसएसपी श्यामबहादुर खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्ने गर्नुहुन्थ्यो। पछि एसपी विकासराज खनाल सरलाई कारबाही स्वरुप हेडक्वाटर तानेपछि सो काम डिएसपी सञ्जय राउत सर र एसएसपी श्यामबहादुर खत्री सरले गर्न थाल्नुभएको थियो। सुन आउने समयमा एसएसपी श्यामबहादुर खत्री सरको बडिगार्ड तत्कालीन प्रज। अमरबहादुर थापा मगर सरकै अफिसमा बस्ने गरेको र कहिलेकाहीँ निजले समेत अफिस छेउबाट स्कर्टिङ गर्ने गरेको थियो।

राप्रपाका केन्द्रिय सदस्य  भुजुङ गुरूङ को बयान जस्ताको तस्तै

मलाई यकिन मिति याद भएन, वि.सं. ०४०–४५ सालतिर म थाई एयरबाट विदेश जाने र नेपाल फर्कने क्रममा चिनजान भएका थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचल बस्ने बसन्तप्रसाद विजुक्षेसँग काठमाडौंमा भेट भयो । निजहरुले पहिलेदेखि नै सोल्टी होटेल छेउको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका मानिसहरुसँग मिली सुनको कारोवार गर्ने गरेका र निजहरुको ग्रयाण्ड होटेलको गोयल भन्ने साहुजीलगायतका अन्य साथीहरुसँग मनमुटाव भएको कुरा थाहा पाई हामी एक आपसमा भेटघाट हुँदा हामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाह भई सो कारोबार गर्न थाल्यौ ।

यसरी सुनको कारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ, बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमा हङकङबाट सुन किनेर बैंकक हुँदै थाई एयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएर काठमाडौंका सुन पसलहरुमा बेचबिखन गर्न थाल्यौं । उक्त सुन खरिदका लागि हामीले नेपाली रकम संकलन गरी सो नेपाली रकम हङकङमा रहेका नेपालीहरूका नेपालमै रहेका आफन्तहरुलाई दिने र हङकङबाट सो रकमको सोध भर्ना वापत हङकङ डलर लिएर हङकङमा सुन किन्ने र सो सुन नेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्न सुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।
यसरी सुनको कारोवार गर्ने क्रममा काठमाडौंमा चिनजान भएका एमके भन्ने मोहनकुमार अग्रवाल, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको उक्त सुन दिने गरेका थियौं । हामीले उक्त सुन निजहरुलाई दिएपछि उनहरुले को–कसलाई दिने गरेका थिए, मलाई थाहा भएन ।

सन १९९० (बिसं.०४८) भन्दा अगाडि बसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सको काम छाडेपछि तत्कालका लागि हामीले सुनको कारोवारमा केही असहज महसुस गरी सुनको कारोवार बन्द गरी हामीहरु अन्य व्यवसाय गरी बस्यौं । सन् २०१३ (बि.सं.०६९) देखि हुनुपर्छ म, गोरे भन्ने चँुडामणि उप्रेती, मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङ वाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाललगायतका मानिसहरुवीच भेटघाट तथा छलफल भई पुनः सुन तस्करी गर्ने योजना बनाइयो ।

योजना मुताविक मैले गोपालकुमार श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा र निजको घरमा समेत गएर निजसँग समेत सल्लाह गरी सुन तस्करीको कारोबार गर्ने योजना बनायौ । विमानस्थलबाट के कसरी सुन बाहिर निकाल्ने भनी निजसँग सल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनको ट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फत सुन लुकाएर थाई एयरका सरसफाइ गर्ने कर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुन ग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएर जाने भनी योजना बनाई सोही मुताविक सुन तस्करीको कारोबार गर्न थाल्यौं ।

यसरी सुनको तस्करी गर्ने क्रममा एमके भन्ने मोहनकुमार अग्रवाल र निजका तीन जना मैले नाम थाहा नपाएका दाजु भाइहरु, पवन अग्रवाल, दरबारमार्गस्थित आरके डायमन्डका साहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमा संलग्न रहेका थिए । सुन तस्करीका लागि एमके भन्ने मोहनकुमार अग्रवालले नेपाली रकमको व्यवस्था गर्ने र सो रकम बैंकक र दुबईमा रहेका नेपालीहरुका नेपालमा रहेका आफन्तहरुलाई दिई सो रकम वापतको सोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँ हाम्रो आफ्नो रकम लगानी गरी बैंकक र दुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याउन थाल्यौं ।

त्रिभुवन विमानस्थलमा त्यहाँ थाई एयरलाइन्सका कर्मचारीहरु गोपालकुमार श्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतका मानिसहरुको संलग्नतामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएर पहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्ने लालबहादुर मगर र वीरेन्द्रमान श्रेष्ठले मेरो घरमा आएर सुन दिने गरेका थिए । यसबीचमा मेरो पार्टनर मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र मेरो केही मनमुटाव समेत भएको साथै लामो समयसम्म मेरो घरमा निजहरुले सामान लिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुले समेत शंका गर्ने डरले मैले गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठलाई अबदेखि मेरो घरमा नआउनु, तर मेरो मान्छेले भनेको स्थानमा गएर सामान छाड्नु भनें ।

त्यसपछि निजहरुले म, मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्ने चुँडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरो साला नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक मैले भाञ्जा भन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिले देखाए बमोजिम गोरे भन्ने चुँडामणि उप्रेती लगायतले सञ्चालन गरेको अनामनगरस्थित अफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करी गर्न भाडामा लिएको कोठामा पुर्‍याउन थाले ।
गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै मेरो घरमा ल्याउने सुनको कमिसन मैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउने गरेको थिएँ ।

यसरी सुनको कारोवार गर्ने क्रममा एमके भन्ने मोहन कुमार अग्रवालको सुन ल्याउने मात्र नभएर कहिलेकाहीं मेरो र डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्त लगानीको र गोरे भन्ने चुँडामणि उप्रेतीको लगानी रहेको सुन समेत ल्याउने गरेका थियौं ।

गोरेको लगानी रहेको सुन गोरे भन्ने चुँडामणि उप्रेतीले लिने, मेरो लगानी भएको सुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने र एमके भन्ने मोहनकुमार अग्रवालको लगानी भएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गथ्र्यो । एमके भन्ने मोहनकुमार अग्रवालले सो सुनको कमिसन बापतको रकम गोरेलाई दिने, गोरेले उक्त रकमबाट आफ्नो टिमको के कति कमिसन कटाएर बाँकी रकम मेरो सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेले समेत निजको भागको के कति कमिसन रकम कटाएर मलाई दिएपछि मैले मेरो भागको कमिसन रकम कटाएर बाँकी रकम गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।

गोपालकुमार श्रेष्ठले सो रकम निजको टिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए । प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनको कमिसन बापत मैले प्रति एक किलो नेपाली रकम ४० हजार पाउने गरेको थिएँ । सो रकमबाट मैलेप्रति एक किलो ५ हजार रुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सो रकमबाट बिमावापत भनी केही रकम समेत काटेर मात्र निजलाई रकम दिने गरेको थिएँ । यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना ४–५ पटकदेखि ८–१० पटकसम्म सुन आउने गरेको मलाई थाहा छ ।

सुन तस्करीको क्रम निर्वाध तथा निरन्तर रुपमा चलिरहेको थियो र हाम्रो कमाइ पनि भइरहेको थियो । पछिल्लो पटक सन् २०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गते) एमके भन्ने मोहनकुमार अग्रवालको लगानी रहेको म समेतले कमिसन प्राप्त गर्ने साढे ३३ किलो सुन बैंककबाट थाई एयरलाईन्स हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंसम्म ल्याएपछि सो सुन सानु बन र तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अनामनगरस्थित गोरे भन्ने चुँडामणि उप्रेतीले सञ्चालन गरेको अफिसमा लैजाने क्रममा लुटिएको कुरा मैले जानकारी पाएँ ।

सुन मालिक एमके भन्ने मोहनकुमार अग्रवालको उक्त सुन पत्ता लगाउनै पर्ने दबाव आएसँगै मैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्त हराएको साढे ३३ किलो सुन जसरी भए पनि पत्ता लगाउनुपर्ने दबाव दिइरहेका थियौं । हामीहरुले जे जसरी हुन्छ, हाम्रै समूहका मानिसहरु यसमा संलग्न रहे पनि ज्यान लिनुपर्ने अवस्था आए पनि पछि नहटी सुन पत्ता लगाउनु भनी निर्देशन दिएका थियौं ।

हराएको उक्त साढे ३३ किलो सुन नभेटिएमा थाई एयरका एयरपोर्टका कर्मचारीहरुको समूहबाटै हराएको सुनको क्षतिपूर्ति असुल गर्नुपर्ने अवस्था रहेको थियो । त्यसैले विमानस्थलका थाई एयरका कर्मचारीहरुले समेत यस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकै यातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछि नहटी सुन पत्ता लगाई छाड्नु भनी गोरे भन्ने चुँडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएका थियौं ।

हामीलाई सुन मालिक मोहनकुमार अग्रवालले उक्त सुन कसले लगेको छ, जसको समूहका सदस्यबाट गद्दारी भएको भए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यान मार्ने सम्मको) अवस्था आए पनि सफाया गरेर (ज्यान समेत मारेर) सुन पत्ता लगाउनु भनी हामी सबैलाई दबाव दिइरहेका थिए । यो कामका लागि गोरेलाई बरु आफ्नो समूहमा रहेका वा अन्य जो कोही मानिसहरुको सफाया गर्नुपरे सो समेत गरी जसरी भए पनि उक्त सुन खोज्नु भनी दबाव दिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएका थियौं । हामीले दिएको आदेश बमोजिम नै गोरेले आफैं र आफ्ना समूहका मानिसहरुद्वारा विभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्न स्थानमा लगि यातना दिने क्रममा सनम शाक्यको ज्यान गएको हो ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Justin Biral

    ⚡ ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Ramparsd Baral

    Chirp haru

    Comment Author

    Tej Chapagain

    Aba jel ma kurnu bachunjel

    Comment Author

    Swt Shova

    Shame on you….

    Comment Author

    Shanta Nepal

    Police ma nai danka haru rahechan ani k shanti surkshya

    Comment Author

    Arjun Jung Himali

    Rip RiP RiP

    Comment Author

    Arjun Jung Himali

    Rip RiP RiP RiP

    Comment Author

    Magar Kumar Shyam

    Hora

    Comment Author

    Phadindra Pandey

    Sana darga lai sano tino kura ma karbai garna haru ayla vognu parako cha auta sapai ko nagarbanda ma basnu parako cha

    Comment Author

    Resham Khadka

    राम्रो डिउटी गरेका रहेछन।

    Comment Author

    Khadga Thapa

    सालाभातहो सत्यम सेवा सुरक्षण नारा बोकेरहिडेका डाकु हरु

    Comment Author

    Ganesh Giri

    Aba suna hoina una bechnu phatao

    Comment Author

    Shiva Bhandari

    Thaka

    Comment Author

    एसडिजी एसडिजी

    एर्पॉर्टमा हालसम्म डिउटीमा रहेका पूलीस अफ़िसरको सम्पती बिबरण जाच गर सरकार/बिगतमा त्यंहा कार्यरत कोहि नी अछूतो छैन/

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?