आज सुपर मुन देख्न पाइने, दुर्लभ दृश्य- खग्रास चन्द्र ग्रहण पनि

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १७ माघ- आज नेपाली परम्पराअनुसार एक महिनासम्म चलेको स्वस्थानी व्रतको समापन हुँदैछ ।
  • माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि आज लाग्ने छ ।
  • सताब्दीपछि देखिने यो दुर्लभ दृश्य भएको वैज्ञानिकले बताएका छन् ।

काठमाडौं, १७ माघ- आज नेपाली परम्पराअनुसार एक महिनासम्म चलेको स्वस्थानी व्रतको समापन हुँदैछ । माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि आज लाग्ने छ । सताब्दीपछि देखिने यो दुर्लभ दृश्य भएको वैज्ञानिकले बताएका छन् । जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर आज चन्द्रमा अघिपछिको पूर्णिमाको रातभन्दा ठूलो आकारको हुनेछ । यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् ।

अंग्रेजी पात्रोअनुसार महिनामा दुईपटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ‘ब्लु ब्लड मुन’ भन्दै आएका छन् । चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ब्लु ब्लड मुनमा खग्रास चन्द्र ग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो । यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्र ग्रहण लागेको थियो।

पूर्णिमाको दिन पृथ्वीको सबैभन्दा नजिक चन्द्रमा आयो भने त्यसलाई सुपर मुन भनिन्छ । चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदा पर्ने पूर्णिमाको रात ‘माइक्रो मुन’ भन्दा चौध प्रतिशतसम्म ठूलो र तीस प्रतिशतसम्म उज्यालो हुन्छ । जनवरी १ अर्थात् पुस १७ गते स्वस्थानी सुरु हुने पूर्णिमाको दिन पनि ‘सुपर मुन’ थियो । अंग्रेजी पात्रोअनुसार दोस्रोपटक जनवरी ३१ अर्थात् माघ १७ गते सुपर मुन हुनेछ । चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्न २७।३३२ दिन लाग्छ भने साढे २९ दिनमा पूर्णिमा पर्छ । चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्छ।

आज अर्थात माघ १७ गते नेपाली समयअनुसार साँझ ५ बजेर ३३ मिनेटमा चन्द्र ग्रहण सुरु हुनेछ । त्यस दिन नेपालमा ५ बजेर ३७ मिनेटमा चन्द्रमा उदाउनेछ । अर्थात् दक्षिण एसियाली क्षेत्रबाट देख्दा चन्द्रमा उदाउँदा नै ग्रहण सुरु भइसकेको हुनेछ । साँझ ६ बजेर ३६ मिनेटमा चन्द्रमा पूरै ढाकिने छ । यो क्रम १ घण्टा १६ मिनेटसम्म कायम रहने छ अर्थात् ७ बजेर ५२ मिनेटमा चन्द्र ग्रहण सकिनेछ । त्यसपछि विस्तारै ग्रहणले छाड्दै जानेछ । ८ बजेर ५६ मिनेटमा पूर्ण रुपमा चन्द्र ग्रहण सकिने छ । खग्रास ग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ । तर ‘ब्लु ब्लड मुन’ भनेर भने पनि त्यस दिन चन्द्रमा निलो भने देखिने होइन । खग्रास चन्द्र ग्रहण हुँदा रङ रातो हुन्छ।

‘ब्लु ब्लड मुन वा सुपर मुन भनेको वैज्ञानिक नाम होइन बोलिचालीको नाम हो । मानिसलाई बुझाउन र खगोलप्रति उत्सुकता जगाउन यस्तो नाम दिइएको हो,’ नेपाल खगोल समाज ९नासो० का अध्यक्ष सुरेश भट्टराईले भने, ‘ग्रहणले खगोलप्रति चासो बढाउने छ भने विद्यार्थीले आफूले पढेको विषय व्यवहारमा हेर्न पाउँछन् । खगोलबारे जान्न खोज्नेका लागि यो सबैभन्दा राम्रो मौका हो ।’

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jagbir Rai

    Aaa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?