कमलपोखरी संरक्षणमा स्थानीयवासी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
१७ पटक हेरिएको
Shares
कमलपोखरी संरक्षणमा स्थानीयवासी !

सारांश

  • भक्तपुर, ९ साउन ।
  •   व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासँगै स्थानीय बासिन्दा पोखरी जोगाउन जुटेका छन् ।
  • पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ मध्यपुरथिमि नगरपालिकाले पोखरी संरक्षणका लागि रु ७५ लाख बजेट हालै विनियोजन गरेको छ ।

भक्तपुर, ९ साउन ।  व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासँगै स्थानीय बासिन्दा पोखरी जोगाउन जुटेका छन् ।

पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ मध्यपुरथिमि नगरपालिकाले पोखरी संरक्षणका लागि रु ७५ लाख बजेट हालै विनियोजन गरेको छ ।

सयौं वर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रहेको तत्कालीन बोडे गाउँ पञ्चायत–६ कित्ता नं १ को १५ रोपनी नौ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडे नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुपमै फर्काइनुपर्ने माग गर्दै अदालत गएका थिए । फैसला भएको भोलिपल्ट नै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगेर सम्याउने र सफा गर्ने काम गरेको थियो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यो पोखरीको संरक्षणका लागि नगरपालिकाले हालै रु ७५ लाख बजेट विनियोजन गरेको बताए ।

उनले भने –“यो धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पोखरीको संरक्षण गर्दै डुंगा सञ्चालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने छौं ।” नगरपालिकाले पोखरीको वरिपरि पर्खाल लगाउने, अतिक्रमित जग्गा भए निकाल्ने, पोखरीलाई आकर्षक बनाउने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने उनले बताए ।

विसं २०४२ असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ माघ २२ गते अधिकृत वारेसनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौँ ठमेल बस्ने ग्ल्याल्पो गुरुङ, तेञ्जी शेर्पिनी, जद्योना गुरुङलाई बिक्री भएको थियो । ग्ल्याल्पोले अन्य विभिन्न व्यक्तिलाई पनि जग्गा बिक्री गरेका थिए । भक्तपुर जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले उक्त पोखरी सार्वजनिक पोखरी नै रहने गरी गत साता फैसला गरेपछि नगरपालिका र स्थानीय बासिन्दा पोखरी संरक्षणमा जुटेको हुन् ।

भूमाफियासँग स्थानीयवासीले कानूनी लडाइँ लडेर सार्वजनिक रुपमा फर्काइएको पोखरीको संरक्षण गरिने स्थानीयवासी वीरेन्द्र जयनाले बताए। उनले बताए–“अब नगरपालिका र हामी स्थानीय बासिन्दा मिलेर यो पोखरीको संरक्षण गर्नेछांै, भूमाफिया फेरि सल्बलाए, हामी जवाफ दिनेछौं ।” व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर आएका भूमाफियालाई स्थानीयवासीले पटक÷पटक लखेटेका थिए ।

स्थानीय बासिन्दा एवं नेमकिपाका नेता रमेश थापा श्रेष्ठले आफूहरु सानो छँदा कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरीमा फूलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौं वर्षदेखि रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?