कर्णाली प्रदेशका मुख्यमन्त्रीले संविधान दिवसमा यस्तो दिए सन्देश
सारांश
- काठमाडौं, ३ असोज ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको दिनलाई सशस्त्र र निःशस्त्र रुपमा नेपाली जनताले सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलव्धिको दिन भएको बताएका छन् ।
- संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले त्यस्तो धारणा राखेका हुन् ।
काठमाडौं, ३ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको दिनलाई सशस्त्र र निःशस्त्र रुपमा नेपाली जनताले सञ्चालन गरेका बलिदानीपूर्ण संघर्षको ऐतिहासिक उपलव्धिको दिन भएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री शाहीले त्यस्तो धारणा राखेका हुन् ।
शुभकामना सन्देशको पूर्णपाठ ः
संविधान दिवश–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई, दिदीवहिनीहरुमा हार्दिक वधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताले दशकौं लामो समयदेखि सशस्त्र तथा निशस्त्ररुपमा संचालन गरेका वलीदानीपुर्ण संघर्षहरुको ऐतिहासिक उपलब्धिस्वरुप आजकै दिन संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त गरेको ऐतिहासीक दिनको सम्झनास्वरुप हरेक वर्ष असोज ३ लाई हामी सवै नेपालीले संविधान दिवसका रुपमा व्यापक हर्षउल्लासका साथ विविध कार्यक्रम गरि मनाउदै आएकोमा यस वर्षदेखि राष्ट्रिय दिवसका रुपमा भव्यताका साथ मनाउदैछौं ।
यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्तिका लागि आफनो ज्यानको आहुती दिने महान शहीदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । वेपत्ता, घाईते तथा अपाङ्गगता भएका योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु । साथै ऐतिहासिक जनयुद्ध, जनआन्दोलन, प्रदेश प्राप्तिको आन्दोलन, संविधान प्राप्तिका सवैखाले आन्दोलन तथा संघर्षमा सहभागी आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दछु ।
स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न निर्वाचनवाट स्थानीय तह र प्रदेश तहका सरकारको गठन नयाँ संविधान कार्यान्वयनका महत्वपूर्ण खुड्किला हुन । जनताको घर आँगनमा जनताको आफ्नै सरकार बनेको विद्यमान अवस्थामा संविधान बमोजिम आवश्यक कानुन निर्माण गरी जनताको अपेक्षा वमोजिम सार्वजनिक सेवा तथा विकास निर्माण कार्यलाई अगाडि वढाउनु अहिलेको प्रमुख दायित्व हो । यही दायित्व पूरा गर्न कर्णाली प्रदेश सरकारले यो वर्षलाई कानुन निर्माण र योजना निर्माणको वर्ष घोषणा गरेर अगाडि बढिरहेको छ ।
यसका साथै संविधान प्रद्धत्त अधिकारको प्रयोग गर्दै तीव्र गतिमा आर्थिक, समाजिक तथा भौतिक विकास गरी समाजिक न्याय सहितको समृद्ध प्रदेश र समृद्ध राष्ट्र निर्माण गर्नु हाम्रो महत्वपुर्ण अभिभारा हो । कर्णाली प्रदेशमा रहेको प्रचुर प्राकृतिक श्रोत, कडा परिश्रम गर्न सक्ने जनता र नेतृत्वको तीव्र ईच्छा शक्तिको प्रयोगबाट हामीले छोटो अवधिमै कर्णाली प्रदेशको समृद्धि प्राप्त गर्न सकिने विश्वास लिएको छु ।
अन्तमा, आजको दिनले राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, समानुपातिक र समावेशी विकास सहित समाजवादी राज्य व्यवस्था स्थापनाको दिशामा अगाडि वढने प्रेरणा पैदा गरोस भन्ने कामना गर्दछु । धन्यवाद ।
प्रतिक्रिया