कर्णाली प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १, २०७९
|
|
४७ पटक हेरिएको
Shares
कर्णाली प्रदेशमा आज सभामुख चयनका लागि मतदान हुँदै

सारांश

  • काठमाडाैं ।
  • कर्णाली प्रदेश सभाकाे सभामुख चयनका लागि आज मतदान हुँदैछ ।
  • बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख चयनका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

काठमाडाैं । कर्णाली प्रदेश सभाकाे सभामुख चयनका लागि आज मतदान हुँदैछ । बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा सभामुख चयनका लागि मतदान हुने प्रदेश सभा सचिवालयले जनाएकाे छ । त्यसअघि बिहान साढे १० बजेदेखि ११ बजेसम्म उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

कर्णाली प्रदेश सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार दलको तर्फबाट नेकपा एमालेकी सांसद् नन्दा गुरुङ र प्रमुख प्रतिपक्षीबाट नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलको उम्मेदवारी परेको हो । सांसद्‍द्वय गुरुङ र पाेखरेलले शनिबार सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

गुरुङको प्रस्तावकमा एमाले संसदीय दलका नेता यामलाल कँडेल र समर्थकमा माओवादी केन्द्रका नेता एवं मुख्यमन्त्री राजकुमार शर्मा हुनुहुन्छ । गुरुङ एमालेबाट समानुपातिकतर्फ निर्वाचित सांसद् हुनुहुन्छ ।

पोखरेलको प्रस्तावकमा कांग्रेस सांसद्‍द्वय पूर्णबहादुर खत्री र समर्थकमा विजया बुढा हुनुहुन्छ । पाेखरेल मंसिर ४ गते सम्पन्न चुनावमा सुर्खेत १ (क) बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएकाे थियाे ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १-१ जना र स्वतन्त्र १ जना सांसद् छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?