कसरी अघि बढ्लान् दाहाल–ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कसरी अघि बढ्लान् दाहाल–ओली

सारांश

  • काठमाडौं : सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याएका एमाले-माओवादी केन्द्रको वाम गठबन्धनले पार्टी एकताको कार्ययोजना निर्माण गरी नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् ।
  • औपचारिक रूपमा यो विषयमा दुवै पार्टीका शीर्ष नेतृत्व तहमा छलफल नभए पनि शीर्ष नेताले निर्वाचनका सबै परिणाम सार्वजनिक भएसँगै पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय लिइने बताएका छन् ।
  • संविधानले नै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बहुमत प्राप्त दल वा दलका नेता प्रधानमन्त्री निर्वाचित भइसक्नुपर्ने गरी कानुनी व्यवस्था गरेको छ ।

काठमाडौं : सरकार गठनका लागि सुविधाजनक बहुमत ल्याएका एमाले-माओवादी केन्द्रको वाम गठबन्धनले पार्टी एकताको कार्ययोजना निर्माण गरी नयाँ सरकार बनाउन गृहकार्य थालेका छन् ।

औपचारिक रूपमा यो विषयमा दुवै पार्टीका शीर्ष नेतृत्व तहमा छलफल नभए पनि शीर्ष नेताले निर्वाचनका सबै परिणाम सार्वजनिक भएसँगै पार्टी एकता संयोजन समितिको बैठक बसेर निर्णय लिइने बताएका छन् ।

संविधानले नै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बहुमत प्राप्त दल वा दलका नेता प्रधानमन्त्री निर्वाचित भइसक्नुपर्ने गरी कानुनी व्यवस्था गरेको छ । सोही व्यवस्थाका कारण गठबन्धनलाई उक्त अवधिभित्रै पार्टी एकता टुंग्याउन भने अप्ठ्यारो देखिन्छ । तैपनि, पार्टी एकता कार्ययोजना तयार पारी नयाँ सरकार गठन प्रक्रियामा सक्रिय हुने नेताहरूले बताएका छन् ।

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको एपीवान एचडी टेलिभिजनसँगको अन्तर्वार्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनको सम्पूर्ण परिणाम सार्वजनिक भइसकेपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर त्यस्तो कार्ययोजना बनाउने खुलासा गरे ।

‘निर्वाचनको सबै परिणाम आइसकेपछि हामी पार्टी एकता संयोजन समितिको बैठक तुरुन्तै बस्छौं । हाम्रो प्रयास सकेसम्म पार्टी एउटै बनाएर सरकार बनाउनतिर हुन्छ । तर, सरकार बनाउन ढिला गर्न नहुने प्राविधिक÷कानुनी कारण रहँदा पार्टी एकताको सम्पूर्ण योजना÷कार्यक्रम बनाएर सरकार बन्छ’, दाहालले भने ।

दुई पाटीबीच पार्टी एकताका लागि सैद्धान्तिक सहमति मात्र भएको छ । तर, दुवै पार्टीका कमिटी एकै बनाउने, राजनीतिक दस्ताबेज तयार पार्नेलगायत प्राविधिक विषयमा दुई पार्टीबीच छलफल भएको देखिँदैन । मोटामोटी रूपमा दुवै पार्टीका अध्यक्षहरू कार्यकारी भूमिकामा रहने भने पनि त्यसको औपचारिक निर्णय भएको देखिँदैन । यस्तो अवस्थामा सरकार गठनअगावै पार्टी एकता हुने कुरा कठिन नै छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ सरकार गठनपछि मात्रै पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए । ‘सरकार गठनअगाडि नै पार्टी एकता गर्न समयले पनि भ्याइँदैन’, खनालले अन्नपूर्णसँग भने, ‘एकीकरण आफैंमा एउटा बृहत् प्रक्रिया हो । यो एकैदिनमा ठ्याक्कै हुने कुरा होइन । हामी अब छिट्टै शीर्ष तहमा बसेर पहिले कार्ययोजना बनाउँछाँै ।’

यसअघि गठबन्धन दलले पहिले चुनावलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका थिए । त्यही सहमतिअनुसार १७ असोजमा एमाले-माओवादीले प्रतिनिधिसभा तथा प्रदेशसभामा ६०-४० प्रतिशतको भागबन्डा गर्नेदेखि दुई पार्टीको संयुक्त चुनावी घोषणापत्र मात्रै तयार पारेनन्, पार्टी एकता संयोजन समिति नै गठन गरेका थिए ।

समितिमा एमालेबाट अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) छन् ।

वाम गठबन्धन निर्माणका ‘किङमेकर’ मध्येका एक माओवादी केन्द्रका नेता जनार्दन शर्मा सरकार गठन प्रक्रिया सँगसँगै पार्टी एकता प्रक्रिया पनि अगाडि जाने बताउँछन् ।

‘दुई पार्टीबीच एकता गर्ने भन्ने मूल निर्णय भइसकेको छ । अब आ-आफ्ना पार्टीका दुई वटा कमिटीलाई एउटै कमिटीमा बदल्न आवश्यक गृहकार्य बाँकी छ’, शर्माले भने, ‘संगठनात्मक गृहकार्य गर्न अझै केही समय लाग्ला । सरकार गठन र एकीकरण दुवै प्रक्रिया सँगसँगै अगाडि बढ्छ ।’

पार्टी एकतामा दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अन्य कुराको खुलासा भने नेताहरूले गरेका छैनन् । तैपनि, अबको सरकारको नेतृत्व (प्रधानमन्त्री) को बन्ने भन्नेमा एमाले नेताहरूले औपचारिक मुख नखोले पनि एमाले अध्यक्ष केपी ओली नै प्रधानमन्त्री हुने माओवादीका नेताले बताइसकेका छन् ।

‘पार्टी एकता संयोजन समितिमा दुई वटै पार्टीका अध्यक्ष रहेकाले दुवै नेताको कार्यकारी भूमिका हुनेमा कुनै शंका छैन’, दाहालले अन्तर्वार्तामा प्रस्टैसँग खुलाएका छन्, ‘अहिले संख्याको हिसाबले पनि एमालेले सरकारको नेतृत्व गर्ने कुरा सबैले बुझ्न सक्छन् । यो विषय जटिल हुनेवाला छैन । हामीले यो विषयलाई सैद्धान्तिक हिसाबले पनि, भावनात्मक हिसाबले पनि हल गरिसकेको विषय हो । औपचारिक निर्णय नहुँदै बोल्न मात्रै मलाई थोरै अप्ठ्यारो भएको हो ।’

अबको प्रधानमन्त्रीका रूपमा केपी ओलीको सम्भावना अलि बढी देखिएको पनि उनले बताए । तर, एमालेकै नेता झलनाथ खनालले भने यो विषय अहिले पार्टीभित्र छलफल भइनसकेकाले बोलिहाल्ने बेला नभएको प्रतिक्रिया अन्नपूर्णलाई दिए । उनले भने, ‘सरकारको नेतृत्वबारे हामीले छलफल गरेका छैनौं । छलफलपछि मात्र निष्कर्षमा पुग्छौं । फेरि यहाँ दुई वटा पार्टीका कुरा पनि छन् । सरकार बनाउँदा पनि तालमेल चाहिन्छ । दुई पार्टी अलग-अलग अहिले पनि छँदै छन् ।’

रामकृष्ण अधिकारी ले आनपूर्ण पोस्ट मा लेखेका छन !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
नयाँ संक्रमित भेटिए, नेपालमा कोरोना भाइरसको संक्रमित सख्या तीन पुग्यो
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु
अमेरिका र मेक्सिको बीच  स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
अमेरिका र मेक्सिको बीच स्वतन्त्र व्यापार सम्झौता अद्यावधिक हुँदै !
यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि राखिने
यज्ञनिधि दाहालको शव श्रद्धाञ्जलीका लागि राखिने
भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
काठमााडौंको सवारी साधनमा जोर बिजोर प्रणालीः सर्वसाधरण मर्कामा, जोर बिजोरको अवज्ञा गर्न दलका नेताहरुको आह्वान
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै

तपाईंले छुटाउनुभयो कि?