कहिलेसम्म धान्ला भत्किएको गुफाले कंक्रिट बस्ती र राजमार्ग ? (भिडियो सहित )
सारांश
- पोखरा जमिन भित्र भित्रै खोत्रो छ ।
- भूमिगत रुपमा पानी बगिरहेको छ ।
- पातलेछाँगो हुदै फेवातालबाट निकास भएको पानी भूमिगतरुपमै फुस्रेखोलामा गएर मिसिन्छ ।
पोखरा
जमिन भित्र भित्रै खोत्रो छ । भूमिगत रुपमा पानी बगिरहेको छ । पातलेछाँगो हुदै फेवातालबाट निकास भएको पानी भूमिगतरुपमै फुस्रेखोलामा गएर मिसिन्छ ।
छोरेपाटन स्थित गुप्तेश्वर गुफा र र पातलेछाँगो पोखराको मुख्य पर्यटकिय स्थलमध्येमा पर्छन् । दैनिक सयौ पर्यटन पुग्ने गुफा भित्रभित्रै क्षयिकरण भएपछि हाल मर्मतको क्रममा छ । अघिल्लो बर्षको बर्खायाममा माटो र ढुङ्गा खसेपछि संरक्षणको लागि एक करोड ७ लाख लागतमा काम भैरहेको छ ।
जोखिम नियन्त्रण गर्न गुप्तेश्वर गुफा ब्यवस्थापन समितिले टनेल प्रविधिमा संरक्षणको काम थालेको अध्यक्ष नारायण पौडेलले बताए । समितिको ६०, छोरेपाटन माध्यमिक विद्यालयको ३५ र ५ प्रतिशत स्थानीय जनसहभागिता जुटाएर रोकथामको काम जारी छ ।
गुफा माथि धमाधम पक्की घरहरु ठडिने क्रम बढ्दै छ । गुफा माथिनै सिद्धार्थ राजमार्गमा दैनिक हजारौ सवारी आवतजावत गर्छन् । राजमार्गमा गुड्ने सवारीले थर्काएको जमिन र धमाधम थपिदै गरेको पक्की घरले थिचिदै गरेकाले पनि गुफाको भित्री संरचनामा क्षति पुगेको अनुमान छ ।
२० बर्ष पहिलेनै जोखिमयुक्त क्षेत्र पहिचान गरी बस्ती बसाल्न नमिल्ने विज्ञको सुझाब लत्याउदै विना अनुमति बनेका घर कतिबेला भासिने हो भन्ने चिन्ता छ । फेवातालमा पानीको वहाब बढेसँगै उर्लने पातलेछाँगोका कारण बर्खामा गुफा पानीले भरिन्छ । गुफा भित्र पानी कराएको आवाज र राजमार्गमा गुड्ने सवारीले थर्काउने जमिनमा बनेको घरमा बस्नेहरुको पनि निद्रा हराउछ ।
दक्षिण एसियाकै ठूलो दाबी गरिएको गुप्तेश्वर गुफा करिब तीन किलोमिटर लम्बाइ र ८० मिटरसम्म गहिराइको रहेको समितिले बताएको छ । यो गुफा २०४९ पुस ९ गते स्थानीयले पत्ता लगाएका थिए । २०५१ जेठ २ गते जिल्ला प्रशासन कार्यालयमा गुफा व्यवस्थापन समिति दर्ता भई गुफाको मर्मतसम्भार गरी यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको छ ।
गुफा पत्ता लगाउने मध्येका एक निर विक्रम पौडेलका अनुसार सो क्षेत्रमा सुरुमा तीन वटा मात्रै घर थिए । अहिले गुफा माथि र वरपर गरी १३३ वटा कंक्रिट घर बनिसकेका छन् । ती घरले न त नगरपालिकाबाट नक्सा पास गरेका छन् न सम्बन्धित कुनै निकायबाटै अनुमति लिएका छन् । ब्यक्तिको नीजि जग्गा सरकारले अधिग्रहण गर्न नसक्दा उच्च जोखिम भएपनि भोगचलनमा छ ।
गुफा ब्यवस्थापन समितिले २०६२ सालदेखि गुफा माथिको घर किनेर खाली गर्ने क्रम सुरु गरेकोमा हाल सम्म ६ वटा ब्यक्तिका घर किनेर खाली गराएको छ ।
सुरुमा राजमार्गको विकल्प खोज्नुपर्छ अनि बस्ती हटाउनुपर्छ : डा. केसी
भुगोलविद् डा. कृष्ण केसीले गुफा संरक्षण र संभावित दुर्घटना टार्नका लागि तत्काल सिद्धार्थ राजमार्गको विकल्प खोज्नुपर्ने बताएका छन् । तत्कालका लागि राजमार्ग अन्तर्गत गुफा माथिको भागको सवारी चाप र गति कम गर्नुपर्ने र निकट भविश्यमै बैकल्पिक सडक बनाउनुपर्ने उनको सुझाब छ ।
‘सडकको विकल्प पहिलो कुरा हो । तत्काललाई गुफा माथिको सडकमा एक पटकमा दुबैतर्फबाट एउटा मात्र सवारी कम गतिमा चलाउने ब्यवस्था गर्नुपर्छ ’, उनले पिसपोखरासँग भने ‘अर्को बैकल्पिक बाटोमा गएन भने गुफा सहित त्यस क्षेत्रकै आयु छोटिन्छ । ’ उनका अनुसार भूमिगत पानीका कारण समग्र छोरेपाटननै जोखिममा छ । सबैभन्दा ठूलो जोखिम क्षेत्र गुफा वरपर हो ।
केसीले गुफाको क्षयिकरण रोकथामको लागि हाल भैरहेको प्रयास बिरामीलाई पेनकिलर दिएको जस्तो भएके टिप्पणी गरे । ‘विमार यथावत पालेर टाल्ने काम भएजस्तो देखियो । विरामीलाई पेन किलर दिए जस्तो भयो । उपचार त्यो होइन । ’ केसीले भने । गुफा जोगाउन राजमार्ग र बस्ती ब्यवस्थापनमै ध्यान दिन उनको सुझाब छ ।
प्रतिक्रिया