कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २७, २०७६
|
|
२८ पटक हेरिएको
Shares
कांग्रेसको जागरण अभियान सकियो, नेताको मतभेद सकिएन

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ ।
  • पार्टीलाई सुदृढीकरण गरेर जनस्तरमा खस्केको शाख फिर्ता गराउनु कांग्रेसको एकमहिने अभियानको मुख्य लक्ष्य थियो ।

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ । पार्टीलाई सुदृढीकरण गरेर जनस्तरमा खस्केको शाख फिर्ता गराउनु कांग्रेसको एकमहिने अभियानको मुख्य लक्ष्य थियो ।  

पार्टीको आन्तरिक गुटबन्दीका कारण कांग्रेसले जागरण अभियानबाट सोचेअनुरूपको प्रतिफल प्राप्त भने गर्न नसकेको कतिपय नेताहरूको भनाइ रहेको मुलुक संघीय संरचनामा गएको लामै समय बितिसक्दा पनि कांग्रेसले संघीय संरचनाअनुसार संगठन पुनर्संरचना गर्न नसकेका कारण जागरण अभियान प्रभावकारी हुन नसकेको ती नेताहरूको भनाइ छ ।

महासमिति बैठकले संशोधन गरेको विधानमा पार्टीको आठ तहको संगठन हुने व्यवस्था छ । केन्द्र, प्रदेश, जिल्ला, प्रदेशस्तरीय क्षेत्रीय समिति, प्रतिनिधिसभा क्षेत्रस्तरीय कार्यसमिति, गाउँ–नगर समिति, वडा तह र बुथ गरी आठ तहको व्यवस्था विधानमा छ ।

संशोधित विधानअनुसार पार्टी संगठन बन्न सकेको छैन । तदर्थ समिति बनाउने वा महाधिवेशन केन्द्रित भएर नयाँ कार्यसमिति चयन गर्ने भन्ने विषयमा नेताहरूका बीचमा मतान्तर रहेका कारण कांग्रेसले संघीय संरचना अनुसारको संगठन निर्माण गर्न नसकेको केही नेताहरूको भनाइ छ ।  

संस्थापन इतर समूहका नेताहरूले संघीय संरचनाअनुसार सांगठनिक संरचना अभावका कारण जागरण अभियान प्रभावकारी हुन नसकेको ठहर गरेका छन् ।  उनीहरूले पहिलो चरणको अभियान नसकिँदै संगठन विस्तार नभएका कारण अभियान प्रभावकारी नभएको गुनासो गर्दै आएका थिए । तल्लो तहमा संगठन परिचालित हुने परिस्थिति नबनेका कारण जागरण अभियान फितलो भएको ती नेताहरूको तर्क छ।
संस्थापन पक्षले चौधौं महाधिवेशन पर धकेल्ने रणनीतिक तयारीका रूपमा जागरण अभियान सञ्चालन गरेको संस्थापन इतर समूहका नेताहरूको आरोप छ ।

संस्थापन पक्ष महाधिवेशन पर धकेल्न अभियान सञ्चालन गरेको भन्ने आरोप स्वीकार्ने पक्षमा देखिँदैन । जागरण अभियान सही समयमा सही निर्णयका साथ आएको जिकिर गर्दै संस्थापन पक्षले वर्तमान कार्यसमितिको समयावधि थपिने संकेत गरेको छ।  

वैशाख २५ गते सुरु भएको पहिलो चरणको एकमहिने अभियान शनिबार सकिएको छ । दोस्रो चरण भदौ २४ देखि असोज ७ सम्म हुनेछ । अन्तिम चरणको अभियान पुस ७ देखि १६ सम्म सञ्चालन हुने कार्यक्रम छ ।  

कांग्रेसले जागरण अभियानका क्रममा महासमिति बैठकबाट पारित नीति तथा कार्यक्रम स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीभित्र एकता वृद्धिका लागि पार्टी सुदृढीकरणका गतिविधि अघि बढाउँदै जागरण अभिवृद्धि गर्ने, कांग्रेसको नेतृत्वमा प्राप्त राजनीतिक उपलब्धि सम्प्रेषण गर्ने, वर्तमान सरकारका जनविरोधी क्रियाकलाप आम नागरिकमा प्रस्ट्याउने, पार्टीलाई जनताको हितमा थप समर्पित गराउनेलगायत १५ वटा उद्देश्य राखेको थियो ।

परस्पर प्रतिस्पर्धी नेताहरूले जागरण अभियानको मञ्चलाई आआप्mनो धरणा सुनाउने र एक अर्काको विरोध गर्ने अवसरका रूपमा पनि प्रयोग गरे । राजधानी काठमाडौंमा भएको उद्घाटन समारोहमा सभापति देउवाले नै ‘कोइरालाको विरोध गर्न किन नपाउने’ भन्दै विरोधको मैदान खुला गरेका थिए । संस्थापन पक्षसँग असन्तुष्ट कतिपय नेताहरूले जागरण अभियानका नाममा महाधिवशेन परसार्ने प्रपञ्च गरेको भन्दै कुनै हालतमा सार्नै नपाउने चेतावनी दिए ।

कतिपयले भने राष्ट्रिय जागरणका लागि समय र सन्दर्भ उपयुक्त रहेको भन्ने टिप्पणी पनि गरेका छन् ।

अभियान कार्यक्रममा जम्मा भएका स्थानीय नेता कार्यकर्ताहरूले भने केन्द्रका नेताहरू मिलेर आउन सुझाव दिएका थिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?