बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २६, २०८२
|
|
१०३ पटक हेरिएको
Shares
बिपी राजमार्गः ‘ट्र्याक’ खुलाएसँगै मर्मत थालियो

सारांश

  • काभ्रेपलाञ्चोक।
  • गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ।
  • बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो।

काभ्रेपलाञ्चोक। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी ‘ट्र्याक’ खोलेर सवारी सञ्चालन गरेसँगै थप मर्मत गर्न थालिएको छ। बाढीले एक साता अवरुद्ध गराएको उक्त राजमार्ग औपचारिक रुपमा शनिबार बिहानदेखि खुलाइएको थियो।

बाढीले क्षतिग्रस्त भएका स्थानमा ‘डाइभर्सन बनाएर सञ्चालनमा ल्याइए पनि साँघुरो तथा अप्ठ्यारो सडकमा मर्मत गरिरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। हालको मर्मत कार्यले तिहारमा राजमार्गमा यात्रा सहज हुने कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले बताए। उनका अनुसार तीन वटा मेसिनले मर्मत गरिरहेको छ भने अन्य ‘स्टेशन’मा मेसिनलाई ‘स्ट्याण्डबाई’ राखिएको छ। कार्यालय पाँच दिन लगातार बाढीले कटान गरेको तथा बगर बनेको सडक बनाउन खटेको थियो।

राजमर्गाको क्षतिग्रस्त १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग शनिबारदेखि खुलाइएको हो। शनिबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रुपमा खुलाउन सम्भव भएको कार्यालयले जनाएको छ। शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्र्याक’ खोली सकेर परीक्षण गरिएको थियो।

योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे-घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँसी तथा पिप्लेको चार स्थानलगायत माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी पूर्ण रुपमा यातायात सञ्चालन गरिएको बताए। राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो। कार्यालयले उक्त क्षेत्रमा सवारी साधन चलाउँदा चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउनसमेत अपिल गरिरहेको छ।

कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्र्याक खुलाएको थियो। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। सोही क्षेत्रमा गत साल असोजको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो।

पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौं यातायातका साधन आवतजावत हुने गर्छन्। कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?