अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २, २०७५
|
|
२४ पटक हेरिएको
Shares
अाज भदाै २ गते: कहाँ के-के घटना घटे ?

सारांश

  • नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८  काठमाडौं, आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ ।
  • सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको प्रयोगमार्फत् प्रभावकारी रुपमा गर्न सफल र उत्कृष्ट भएकोले नेपाल प्रहरीलाई यो अवार्ड प्रदान गरिएको हो ।
  • ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित अवार्ड वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आइसिटी डिजिटल गभर्नेन्स अवार्ड प्रदान गर्नुभयो ।

नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ 
काठमाडौं,
आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ प्राप्त गर्न सफल भएको छ । सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्ड नेपाल प्रहरीले आफ्नो आन्तरिक प्रशासनलाई सूचना प्रविधीसँग जोड्ने मात्र नभएर सर्वसाधारणलाई प्रदान गर्ने सेवा समेत सूचना प्रविधिको प्रयोगमार्फत् प्रभावकारी रुपमा गर्न सफल र उत्कृष्ट भएकोले नेपाल प्रहरीलाई यो अवार्ड प्रदान गरिएको हो ।

‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूलनारासहित लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार काठमाडौंको होटल र्‍याडिसनमा आयोजित अवार्ड वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आइसिटी डिजिटल गभर्नेन्स अवार्ड प्रदान गर्नुभयो ।

अवार्ड ग्रहण गर्दै प्रहरी महानिरीक्षक खनालले प्रहरी सङ्गठन सूचना प्रबिधिको प्रयोगलाई अझ प्रभावकारी बनाउन विशेष पहल गर्नुको साथै साइबर अपराधको अनुसन्धान गर्न हालै साइवर व्यूरोको स्थापना गरी काम अगाडि बढिरहेको बताउनुभयो । विदेशमा रहेका नेपालीहरूले इमेल मार्फत् फर्म दर्ता गरेर पनि चारित्रीक प्रमाणपत्र लिन सक्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
यस अवार्डले सूचना प्रविधिको प्रयोग गरेर विद्युतीय सुशासनमा अग्रसर रहँदै आगामी दिनमा नागरिक सेवामा समर्पित हुन थप हौसला समेत मिलेको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोगले मसलन्द खर्च कटौती भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सूचना प्रविधिको प्रयोगबाट लेसपेपर कार्यालय बनाउने सरकारको उद्देश्यलाई प्रहरी सङ्गठनले पनि आत्मसाथ गरेको छ ।’

उक्त अवसरमा प्रहरी प्रधान कार्यालय, कम्प्युटर निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुनिलकुमार श्रेष्ठले नेपाल प्रहरीमा हाल विद्यमान ‍हाम्रो पुलिस, ट्राफिक पुलिसजस्ता एपलाई चाँडै नै एकीकृत गरी नेपाल पुलिस नामको एकीकृत मोबाइल एप निर्माण गर्ने तयारी भइरहेको र त्यसमार्फत् नागरिकहरुसँग विभिन्न घटनाको जानकारी, ट्राफिकको अवस्था लगायतका सूचना आदान प्रदान गर्न सहज हुने साथै उक्त एप मार्फत् प्रहरी कर्मचारीहरुलाई समेत आन्तरिक सूचना प्रवाह गर्ने व्यवस्था मिलाइने बताउनुभयो । हाल नेपाल प्रहरीले फेसबुक, ट्वीटर, इमेल, वेबसाइट, प्रहरी अनुरोध, रेडियो कार्यक्रम, ट्राफिक एफएम लगायतका सञ्चारमाध्यमबाट नागरिकलाई सूचना प्रवाह गर्ने र गुनासोको सम्बोधन गर्ने काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल सरकारका कार्यालयहरूमध्ये नेपाल प्रहरीले उदाहरणीय काम गरेर सबैभन्दा उत्कृष्ट हुन सफल भएको हो । साथै सो अवसरमा आइसिटी अवार्डअन्तर्गतका अन्य ७ विधामा पनि अवार्ड वितरण गरिएको थियो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा लागूऔषध विरुद्ध जनचेतनामुलक र्‍याली सम्पन्न 
काठमाडौं,
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा ललितपुरको मंगलबजारमा लागूऔषध विरुद्ध जनचेतनामुलक र्‍याली शनिबार सम्पन्न भएको छ । विश्व युवा दिवसको अवसरमा ज्यापु समाज, यल युवा उपसमिति, महानगरीय प्रहरी प्रभाग मंगलबजार ललितपुर, अर्पण समूह तथा सङ्गती बृहत्तर सेवा केन्द्रको संयुक्त आयोजनामा उक्त र्‍याली आयोजना भएको हो ।

र्‍यालीपछि आयोजित कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रहरी महानिरीक्षक खनालले युवावर्ग कुलतमा फसिरहेको सन्दर्भमा लागूऔषध दूर्व्यसनबारेमा चेतना फैलाउन गरिएको र्‍याली अनुकरणीय भएको चर्चा गर्नुभयो । नागरिक तथा प्रहरी हातेमालो गरेर अगाडि बढेमा सामाजबाट अपराध निर्मूल गर्न सकिने उल्लेख गर्दै उहाँले लागूऔषध दूर्व्यसनी, महिला तथा बाल हिंसा, साइबर क्राइम लगायतका सामाजिक अपराध विरुद्ध प्रहरीले देशैभर एकैसाथ कार्यक्रम संचालन गर्ने बताउनुभयो ।

लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरु प्रमुख अपराधी भएकाले त्यस्तालाई सजाय दिन प्रहरी तत्पर रहेको समेत प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । दूर्व्यसनीमा फसेका युवाको भविष्य विकराल रहेकोले स्थानीय सरकार, युवावर्ग, प्रशासन र प्रहरीले यसका विरुद्ध सहकार्य गरी सुरक्षित तथा समृद्ध समाज निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले र्‍यालीले समाजमा लागूऔषधको असरबारे चेतना दिन सफल भएको चर्चा गर्दै युवावर्ग लागूऔषध दूर्व्यसनीमा फस्न सक्ने भएकाले यसप्रति अभिभावकहरु समेत सचेत हुनुपर्ने बताउनुभयो । पूर्व प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्रबिक्रम महत र ज्यापु समाज यलका अध्यक्ष प्रेमकुमार महर्जनले समेत मन्तव्य राख्नुभएको सो कार्यक्रममा महानगरीय प्रहरी प्रभाग, मंगलबजारका प्रहरी निरीक्षक केशरकुमार न्यौपानेले स्वागत मन्तव्य तथा सङ्गती बृहत्तर सेवा केन्द्रका अध्यक्ष उतम श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

ललितपुरको मंगलबजारबाट सुरु भएको र्‍याली पुल्चोक, जवलाखेल हुँदै पुनस् मंगलबजारमा आएर सभामा परिणत भएको थियो । र्‍यालीमा नागरिक समाज, विद्यार्थी, स्थानीय युवा तथा महिला समूह, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर, ललितपुरको निरीक्षण गर्नुकासाथै कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन समेत गर्नुभयो ।
सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक खनालले प्रहरीको ब्यारेक, अन्य अतिआवश्यक भौतिक संरचना निर्माणको साथै प्रहरी कर्मचारीको वृत्तिविकासका लागि सङ्गठन तत्पर रहेको चर्चा गर्दै प्रहरी कर्मचारीले दृढ र लगनशील भएर जिम्मेवारी बोध गरी कार्य गर्नुपर्ने बताउनुभयो ।

प्रहरीको राम्रो कामलाई समाजले सम्मान गर्ने भएकोले सोही अनुरुप कार्य गर्नुपर्नेमा जोड दिँदै संगठनलाई विश्वकै नमूना सङ्गठन बनाउन सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो । गलत कार्य नगर्न निर्देशन दिँदै उहाँले खराब आचरणका कर्मचारी कारवाहीको भागीबार हुने बताउनुभयो ।

टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रम शुभारम्भ 
काठमाडौं,महानगरीय प्रहरी वृत्त सिंहदरबारद्वारा आयोजित टोलटोलमा प्रहरी अभियान २०७५ कार्यक्रमको प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठ र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले शनिबार संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्य दिपेन्द्र श्रेष्ठले कार्यक्रम अर्थपूर्ण भएकाले समाजमा हुने अपराध रोकथाम गर्न हरेक नागरिक समाजको उत्तिकै उत्तरदायित्व रहने भएकाले यसका लागि प्रहरी र नागरिक समाजको सहकार्यमा अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरिक्षक लामाले यस अभियानलाई सार्थक बनाउन नागरिक समाजको सहकार्य र समन्वयको आवश्यकता हुने चर्चा गर्दै नागरिक समाजको विश्वाश जितेर मात्र समाजमा हुने विकृति, विसङ्गति निर्मूल गर्न सकिने बताउनुभयो । कार्यक्रममा पूर्व सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले समाजमा शान्ति सुरक्षाको चुनौती थपिदै गएको अवस्थामा नागरिक समाजको सहयोगमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।

नागरिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासाको निराकरण महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीले गर्नुभएको थियो भने महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । सामुदायिक सेवा केन्द्र घट्टेकुलोका अध्यक्ष टंक श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका ११ का अध्यक्ष हिरालाल तण्डुकार, बरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सामुदायिक सेवा केन्द्र पुरानो बसपार्कका अध्यक्ष बिपेन्द्र खड्गी, अनामनगर समाज सेवाकी उपाध्याक्ष हरिफुँया पाण्डेले समाज सुधारका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, उपत्यका सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिहरु, सम्वन्धित सरोकारवाला निकायका प्रतिनिधिहरु र वरिष्ठ प्रहरी अधिकृत तथा जवानको सहभागितामा उक्त अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र घट्टेकुलो, पुरानोबसपार्क लगायतको मार्गमा सचेतना र्‍याली समेत गरिएको थियो ।

दाजुको हत्या गरेको अभियोगमा पक्राउ 
रामेछाप,
घरायसी विवादमा आफ्नै दाजु ३४ वर्षीय पूर्णबहादुर खत्रीलाई शुक्रबार दाउरा प्रहार गरी हत्या गरेको अभियोगमा गोकुलगंगा गाउँपालिका(२ भित्तरी बस्ने २८ वर्षीय बिष्णुकुमार खत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले अवश्यक अनुसन्धान गरिरहेको छ ।

शौचालयको सेफ्टीट्याङकीमा छोरीहरु फाल्ने आमा पक्राउ
ताप्लेजुङ,
जुम्ल्याहा छोरीलाई शौचालयको सेफ्टीट्याङ्कीमा फालेर भागेकी पाथीभरा याङ्वरक गाउँपालिका(२ तलेबारी बस्ने २३ वर्षीया कमला बिकलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
कमलाले बुधबार जुम्लाहा छोरी गंगा जमुनालाई सेफ्टीट्याङ्कीमा फालेकोमा गंगाको फालेको स्थानमै तथा जमुनाको उपचारको क्रममा मृत्यु भएको थियो । छोरीहरुलाई फालेर फरार भएकी कमललाई सुनसरी ईटहरी उपमहानगरपालिका(२० स्थित तरहरा बजारमा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 सवारी दुर्घटनामा मृत्यु 

रुकुम (पश्चिम) बाफीकोट गाउँपालिका ३ र ४ को सिमानामा पर्ने स्यार्पु दहस्थित भित्री सडकमा रा१ त ३१०६ नम्बरको ट्याक्टर शुक्रबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार आठबिसकोट नगरपालिका१ बस्ने ३८ वर्षीय राजकुमार बिकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सोही नगरपालिका २ बस्ने ३७ वर्षीय बलजित बिक समेत गम्भीर घाइते भएकोले उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।

धनुषा : मिथिला नगरपालिका ६ स्थित सडकमा ज ९ प ३४७ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही नगरपालिका ७ बस्ने ६० वर्षीय शंकर पौडेल शर्मालाई शुक्रबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक जनकपुर उपमहानगरपालिका १३ बस्ने २७ वर्षीय रमेश राउत समेत सामान्य घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकल लगिएको छ ।

रौतहट : फतुवा बिजयपुर नगरपालिका(११ भैसही टोल बस्ने हृदय पटेलको छोरा ५ वर्षीय छोरा रोशन पटेलको शुक्रबार गाडाबाट खसेर मृत्यु भएको छ । पानीटंकी भन्ने स्थानबाट टायरगाडामा माटो लोड गरी घरमा ल्याउने क्रममा अचानक टायरगाडाबाट खस्न जाँदा गम्भीर घाइते भएका उनको पारस लाईफ केयर कोल्बी बारामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 डुबेर मृत्यु 
सर्लाही,
बरहथवा नगरपालिका–१२ बस्ने दिनकर ठाकुरको ४ वर्षीया छोरी रुपाकुमारी ठाकुरको शनिबार घर नजिकै रहेको मनुसमारा खोलामा डुबेर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 मृत अवस्थामा फेला 
खोटाङ ,
दिक्तेल रुपाकोट मजुवागडी नगरपालिका–१ स्थित माउन्टेन बोडिङ स्कुलमा कार्यरत शिक्षक मोरङ सुन्दर हरैचा नगरपालिका–१० बिराटचोक घर भएका २७ वर्षीय राज भट्टराई स्कुलको आफू बस्ने कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पहिरोले घर बगाउँदा मृत्यु
बाजुरा,
शुक्रबार राती परेको वर्षाले बुढीगंगा नगरपालिका–१ तुडी बस्ने नन्दे करीको कच्ची घर माथिबाट पहिरो आई घर बगाउँदा उनको ४५वर्षीया श्रीमती कला करीको मृत्यु भएको छ ।
पहिरोले सोही नगरपालिका–२ मुसी बस्ने चन्द्र राउतको गोठ समेत बगाउँदा उनकी आमा सामान्य घाइते भएकी छिन् । पहिरोमा गोठमा रहेका २ वटा गाई, १ वटा गोरु र १० वटा बाख्राको समेत मृत्यु भएको थियो ।
उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?