किन गरे १२ क्विन्टल चार किलो शंखेकीरा संकलन
सारांश
- सल्यान, ३१ असार ।
- सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ ।
- जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो ।
सल्यान, ३१ असार । सल्यानको एउटै गाउँमा १२ क्विन्टल शंखेकीरा संकलन गरिएको छ । जिल्लाको शारदा नगरपालिका–६ बरलामा एउटै गाउँमा १२ क्विन्टल चार किलो शंखेकीरा संकलन गरिएको हो । जाइन्ट अफ्रिकन स्नेल अर्थात् ठूलो आकारको शंखेकीराले किसानले लगाएको तरकारीबाली, धानबाली, मकैबाली आदिमा क्षति पु¥याउन थालेपछि स्थानीय सरकारको पहलमा बरलाको करीब २०देखि २५ हेक्टरमा रहेको शंखेकीरा नियन्त्रण गर्न शुरु गरिएको हो ।
एक किलो शंखे कीरा संकलन गरेबापत रु ५० दिएर कीरा संकलन गरिएको हो । शारदा नगरपालिकाको आर्थिक सहयोगमा संकलन गरिएको कीरामा आयोडिन नून छर्केर राखिएको छ ।आयोडिन नूनले नै उक्त कीरा मर्ने भएकाले यस्तो गरिएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अम्मरराज घिमिरेले बताए ।
ठूलो आकारको शंखेकीरा नेपालमा पहिले नभएको तर पछिल्लो समय विभिन्न खानेपानीका योजनाअनुसार ठूला पाइपहरु विदेशबाट भित्र्याउँदा पाइपभित्र कीरा पसेर आएको हुन सक्ने घिमिरेले बताए । यो कीराले भोलिका दिनमा ठूलो क्षति गर्ने भएकाले यसलाई समयमै नष्ट गर्नुपर्ने उनको भनाइ छ । चिसो समयमा शंखेकीरा जमिनमुनि लुक्ने र गर्मी याममा बाहिर निस्कने गर्दछ ।
यो कीराले एक पटकमा एक हजार ६०० अण्डा पार्ने भएकाले व्यापक फैलने र यसले जुनसुकै अन्नबाली पनि उम्रनेबित्तिकै नष्ट गर्ने घिमिरेको भनाइ छ । यसरी जिल्लाका अन्य गाउँ ठाउँमा शंखेकीरा देखिएमा तत्काल सामूहिक रूपमा नष्ट गर्न पनि उहाँले अन्य किसानलाई आग्रह गरे ।
यो पटक उक्त १२ क्विन्टल कीरा समात्न र नष्ट गर्न लगायतको खर्च करीब रु ७० हजार जति लाग्ने सानपा–६ का वडाध्यक्ष भीकराज बुढाथोकीले बताए । कीरा मार्ने अभियान यो पहिलो चरणको भएकाले फेरि दोस्रो चरणमा पनि अभियान चलाउने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।संकलन गरेको कीरा सबै मरे पनि एक दुई दिनभित्र खाडल खनेर गाड्ने बुढाथोकीले जानकारी दिए । गत वर्षदेखि देखा परेको यो कीराले यो वर्ष किसानको बालीनालीमा धेरै क्षति पुगाएको उनको भनाइ छ ।
आफूले बारीमा लगाएको करीब ६० हजारबराबरको तरकारी शंखेकीराले नष्ट गरिदिएको स्थानीय किसान भीमबहादुर बुढाथोकीले बताए । “कीरा मार्न अनेकौँ प्रयास गरियो तर सफल भइएन, यो कीराले कुनै पनि तरकारी बाली काट्न छोडेन । यतिमात्रै संकलन गरेर शंखेकीरा नष्ट हुँदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ”, बुढाथोकीले भने ।
प्रतिक्रिया