गौतमका परिवारलाई भेट्न जाने भनेर नेताहरुले ढाँटे
सारांश
- गत साता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई भेट्न जाने भनेर एमाले नेताहरुले ढाँटेका छन् ।
- मेची-महाकाली अभियानअन्तर्गत बिहीबार सदरमुकाम धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा एमाले शीर्ष नेताहरुले सीमा रक्षार्थ ज्यान गुमाएका शहिद गोविन्द गौतमको खुबै प्रशंसा गरेका थिए ।
- उनीहरुले शुक्रबार गौतमको घर त्रिभुवनबस्ती जाने र परिवारलाई भेट्ने बताएका थिए ।
गत साता भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली हानी हत्या गरेका गोविन्द गौतमका परिवारलाई भेट्न जाने भनेर एमाले नेताहरुले ढाँटेका छन् ।

मेची-महाकाली अभियानअन्तर्गत बिहीबार सदरमुकाम धनगढीमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा एमाले शीर्ष नेताहरुले सीमा रक्षार्थ ज्यान गुमाएका शहिद गोविन्द गौतमको खुबै प्रशंसा गरेका थिए । उनीहरुले शुक्रबार गौतमको घर त्रिभुवनबस्ती जाने र परिवारलाई भेट्ने बताएका थिए । तर, एमालेका शीर्ष नेता त के स्थानीय नेतासमेत भेट्न आएका छैनन् ।
एमाले नेताहरुको भनाई र गराईमा अन्तर भएपछि गौतमको परिवार र स्थानियले एमाले नेताहरुले ढाँटेको गुनासो गरेका छन् ।
नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तारा लामाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरु आउने जानकारी गराए पनि पछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आउने भनेका थिए । तर, नेता नेपाल पनि सुरक्षाको कारण देखाउँदै आएनन् ।
तर, सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी रोमेन्द्र सिंह देउजाले गौतमको घर जानेसम्बन्धमा प्रहरीसँग सुरक्षा समन्वय र सल्लाह नभएको बताए ।
एमाले अध्यक्ष केपीले ओलीले कञ्चनपुरमा आयोजित सभामा जिल्ला अध्यक्ष तारा लामालाई गौतमका परिवारका लागि पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । तर, त्यो राहत पनि पीडित परिवारले पाएका छैनन् ।
गत बिहीबार सीमा विवादपछि भएको प्रदर्शनमा भारतीय एसएसबीले गोली चलाउँदा कञ्चनपुर पुनर्वास नगरपालिकाका ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । सरकारले उनलाई तत्काल राहत उपलब्ध गराउने भने पनि आठ दिन बितिसक्दा समेत राहतको अत्तोपत्तो छैन ।
(Klonopin)
प्रतिक्रिया