आमाको किरिया नगरेको भन्दै महोत्तरीमा एक परिवारलाई सामाजिक बहिष्कार
सारांश
- काठमाडौं, २२ असोज ।
- आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा– ८ सिंहासनीको एउटा परिवारलाई गाउँलेले सामाजिक बहिष्कार गरेका छन् ।
- स्थानीय पानोदेवी यादवको मृत्यु भएपछि कर्मकाण्ड नगरेपछि तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्कृत भएका हुन् ।
काठमाडौं, २२ असोज । आमाको किरिया नगरेको भन्दै महोत्तरीको सोनमा– ८ सिंहासनीको एउटा परिवारलाई गाउँलेले सामाजिक बहिष्कार गरेका छन् । स्थानीय पानोदेवी यादवको मृत्यु भएपछि कर्मकाण्ड नगरेपछि तोकिएको जरिवाना तिर्न नसक्दा उनका छोरा जिनिस राय (यादव) बहिष्कृत भएका हुन् ।
सामाजिक परम्पराअनुसार किरिया नगर्दा गाउँलेको पञ्चायतले उनीमाथि १ लाख २५ हजार जरिवाना तोकेको थियो । आफ्नो जातिका माइजन किशोरी यादव, महतो जातिका मेहीलाल महतो, साह जातिका बेचन साह, लोहार जातिका रामचन्द्र ठाकुरसहित स्थानीयको बैठकले त्यस्तो कारबाही गरेको हो । तराई–मधेसका जिल्लामा जातिपिच्छे जातीय नेता (माइजन) गाउँगाउँमा तोकिएका हुन्छन् । जातीय कामकाजको नेतृत्व उनीहरूले नै गरिरहेका हुन्छन् । गाउँको संस्कार÷व्यवहार बिगारेको ठहर गर्दै बैठकले पीडितलाई दण्ड, जरिवाना गरेको बताइएको छ ।
सामाजिक बहिष्कारमा परेका जिनिसको ४ छोरी र १ छोरा छन् । दुई छोरीको विवाहमा ऋण काढेर दाइजो दिएका कारण उनी आर्थिक समस्यामा छन् । दुई छोरीको विवाह गर्नुपर्ने तनावका बेला आमाको मृत्युसंस्कार नगर्दा उनमाथि गाउँलेले समेत अर्को बज्र प्रहार गरेको छ ।
जिनिसकी आमाको २०७३ कार्तिक १९ गते निधन भएको थियो । पानोदेवीका ब्रह्मदेव र जिनिस २ छोरा छन् । उनले सबै सम्पत्ति जेठो छोरा ब्रह्मदेवलाई दिएको र धनसम्पत्ति नपाएपछि जिनिस आमाको किरिया कर्ममा सहभागी भएका थिएनन् । त्यही कारण गाउँलेले उनलाई कारबाहीस्वरूप जरिवाना तोकेको थियो । जरिवाना नतिरे सामाजिक बहिष्कार गर्ने भनिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले जरिवाना तिर्न नसक्दा उनी एक वर्षसम्म सामाजिक बहिष्करणमा परेका थिए । “जरिवाना एक वर्षसम्म तिर्न सकेनौं”, जिनिसकी श्रीमती जगतारण देवीले भनिन्, “समाजले हाम्रो लागि आगो, पानी समेत बारिदिए ।” छिमेकीले बोलचाल, खानपिन सबै बन्द गरे, गाउँको पसलमा सामान खरिद गर्न पनि प्रतिवन्ध लगाइएको थियो । एक वर्ष सामाजिक बहिष्कारमा पर्दा समाजमा एक्लै बाँच्नुको अर्थ नरहेको बोध गरेको उनीहरूको भनाइ छ । उनीहरू बाध्य भएर समाजको निर्णय मान्न तयार भएका हुन् । जिनिसले आमा बितेको एक वर्षपछि १ लाख रुपैयाँ जरिवाना माइजनलाई बुझाएका उनलाई १ लाखको ब्याज तिर्दा हैरानै भएको छ ।
माइजन किशोरी यादवले आमालाई बाँचुञ्जेल खान, लाउन, बिरामी परेका बेला औषधि नदिएको बताए । “आमाको मृत्यु भएको दिन उनी दाहसंस्कारमा सहभागी भएनन्”, उनले भने, “त्यसैले उनलाई सामाजिक कारबाही गरियो ।” आमाबुवालाई बुढेसकालमा लालनपालन नगर्ने परिपाटी बढ्दै गएकाले त्यस्ता सन्तानलाई कारबाही गर्न बाध्य हुनुपरेको उनले जनाए । जरिवाना रकमले सिंहासनी गाउँ हुँदै मरहा खोला जाने बौद्धिमाई सडक मर्मत गरिएको छ । केही रकम झण्डा मेलामा खर्च गरिएको वडाध्यक्ष राजदेव यादवले बताएका छन् ।
प्रतिक्रिया