किन वर्षको एक दिनमात्रै खोलिन्छ तलेजु मन्दिर ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
किन वर्षको एक दिनमात्रै खोलिन्छ तलेजु मन्दिर ?

सारांश

  • काठमाडौँको हनुमानढोका दरबार परिसरस्थि तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।
  • प्रत्येक वर्ष बडा दशैंको नवमीको दिनमात्र यो मन्दिर सर्वसाधारणका निम्ति खुला गर्ने प्रचलन रहेको छ ।
  • वर्षमा एक दिनमात्रै खुल्ने भएकाले विहान ३ बजेदेखि नै दर्शनका लागि भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको थियो ।

काठमाडौँको हनुमानढोका दरबार परिसरस्थि तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ । प्रत्येक वर्ष बडा दशैंको नवमीको दिनमात्र यो मन्दिर सर्वसाधारणका निम्ति खुला गर्ने प्रचलन रहेको छ । वर्षमा एक दिनमात्रै खुल्ने भएकाले विहान ३ बजेदेखि नै दर्शनका लागि भक्तजनको मन्दिर परिसरमा घुइँचो लागेको थियो । महानवमीका दिन मन्दिरमा रहेको मुर्तिमा तलेजु भवानी साक्षातरुपमा प्रकट हुने जनविश्वास छ । त्यसैले पनि महानवमीका दिन एक दिनमात्रै खोलिने मन्दिरमा दर्शनका लागि दर्शनार्थीको भीड लाग्ने गरेको हो ।

सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्ने गरेको किंवदन्ती पाइन्छ । किंवदन्तीअनुसार राजा जयप्रकाशले कुदृष्टिले हेरेपछि तलेजु भवानी त्यहाँबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक मात्र आउँछु भन्ने वचन दिएकीले हरेक वर्ष महानवमीका दिन तलेजु भवानी आफ्नो मन्दिरमा प्रकट हुने विश्वासका साथ मानिसको घुइँचो लाग्ने गर्छ ।
एक अर्को किंवदन्तीका अनुसार उनै त्रिपासा खेल्ने तलेजु भवानी बालिकाको शरीरभित्र कुमारीका रुपमा प्रवेश गरेकी हुन् । त्यसैबेलादेखि कुमारीलाई एकान्तकुमारीका रुपमा पुज्न थालिएको हो ।

कुमारी पुजिने चलन सबैभन्दा पहिले भक्तपुरबाट सुरु भएको हो । पछि काठमाडौँ र ललितपुरमा विस्तार भएको हो । कर्नाटकका राजा नान्यदेवलाई मुगलहरूले लखेटेपछि उनी सिम्रौनगढ हुँदै भक्तपुर आएका थिए। भक्तपुरमा उनैको पालामा तुलजा भवानीको मन्दिर स्थापना भएको हो। तलेजु भवानी राजा नान्यदेवको वंशकी कुलदेवी हुन्। काठमाडौँको तलेजु मन्दिर मल्ल राजा महेन्द्र मल्लले निर्माण गरेका हुन् ।

मल्लकालिन मन्दिरमा रहेकी तलेजु भवानीलाई राष्ट्रकै रक्षक देवीको रुपमा लिइन्छ । मल्ल राजाहरुको इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शन गरेका शुख, शान्ति तथा समृद्धि कायम रहने जनविश्वास रहँदै आएको छ । मन्दिरमा अष्टमीको रात ५४ बोका र ५४ राँगाको बलि दिएर कालरात्री मनाइन्छ ।

आजका दिन तलेजु भवानीको दर्शन गरेमा सुख, शान्ति तथा पारिवारिक समृद्धि कायम हुने जनविश्वास रही आएको छ । यसैगरी, सोही मन्दिर नजिकै गएराति ५४ बोका तथा ५४ राँगाको बलि दिएर कालरात्रि मनाइएको छ । कालरात्रिका दिन सरकारी स्तरबाट नै मन्दिरमा बलि दिने प्रचलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?