कुकुर कुटेपछि नेपालमै पहिलोपटक काभ्रेका दुईजना प्रहरीको फन्दामा
सारांश
- काठमाडौं, २ असोज ।
- के तपाईं कुकुर कुट्नुहुन्छ ?
- त्यसो हो भने अब होशियार रहनु होला ।
काठमाडौं, २ असोज । के तपाईं कुकुर कुट्नुहुन्छ ? त्यसो हो भने अब होशियार रहनु होला । बनेपा– ७ का संविधानबहादुर जोशीका दुई कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।
“घरपालुवा जनावर कुटेको” उजुरी इलाका प्रहरी कार्यालयले दर्ता भएपछि खानीखोला गाउँपालिका–७ घर भई हाल बनेपा– ७ मा बस्दै आएका १९ वर्षीय सुरेश ब्लोन र धुलिखेल– १ का २८ वर्षीय राज लामामाथि मुद्दा चलाइएको हो । उनीहरूले जोशीको घरमा बाँधेर राखिएका कुकुर “टमी” र “काली”लाई रडले हानेर खुट्टा भाँचिदिएका थिए । सन्तानझैं माया गरेर पालेका कुकुरलाई कुटपिट गरेपछि जोशीले प्रहरीमा उजुरी दिएका थिए ।
कुकुर कुटेकै अभियोगमा म्याद थपी मुद्दा चलाइएको नेपालमा सम्भवतः यो पहिलो घटना हो । उजुरी दर्ता गर्ने वा नगर्ने भन्ने विषयमा प्रहरी अन्योलमा परेको थियो । तर, मुलुकी अपराधसंहिता पल्टाएपछि प्रहरीले उजुरी लिन बाध्य भएको थियो ।
संविधानबहादुरका टमी र कालीलाई पिट्दै काट्नका लागि खुकुरी ल्याउँदा सुरेश ब्लोन र राज लामाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको हो । मुलुकी अपराध (संहिता) ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि ऐन, २०७४ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ९ को उपदफा ७ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट पक्राउ आदेशपछि ब्लोन र लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए ।
गत भदौ २२ गते मादकपदार्थ सेवन गरी सडकमा होहल्ला गर्दा टमी र काली नामक कुकुर उनीहरूलाई देखेर भुकेका थिए । त्यसपछि ब्लोन र लामाले कुकुर कुटेपछि कुकुरका मालिक जोशीसँग उनीहरूको विवादसमेत भयो । त्यसपछि दुई युवाले खुकुरी ल्याएर कुकुर काट्न खोजेपछि जोशी प्रहरी कार्यालय पुगेका थिए । ब्लोन र लामा आइतबार पक्राउ परेका हुन् । घरपालुवा जनावर कुटेको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले पहिलोपटक मुद्दा दर्ता गरेको बताइएको छ ।
नयाँ कानुन कार्यान्वयन गर्नुपर्ने भएकाले कुकुरमाथि आक्रमण गर्नेलाई प्रहरीले कारबाहीका लागि अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आदेश दिएका हुन् । जिल्ला अदालत काभ्रेबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी राउतले ‘यस्तो प्रकृतिको कसुरमा पहिलोपटक पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि म्याद दिएको” बताएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार पशुपंक्षीसम्बन्धी मुद्दा पहिलोपटक दर्ता भएको हो ।
घाउजाँचपछि टमी र कालीलाई उपचारका लागि पशु चिकित्सालय पठाइएको छ । प्रहरीले उनीहरूको घटना नै दर्ता गरी कानुनी प्रक्रियासमेत अघि बढाएको छ ।
प्रतिक्रिया