के गर्दैछन् चीनमा ओली ?
सारांश
- काठमाडौं ।
- जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रमा एक हप्ताको निजी भ्रमणमा गत ७ गते काठमाडौंबाट ल्हासा प्रस्थान गरेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिब्बतकै सिगात्से तथा आली प्रिफेक्चरको भ्रमण सम्पन्न गरिसकेका छन् ।
- उनका साथमा धर्मपत्नी राधिका शाक्य तथा चिकित्सक सहित ६ जना रहेका छन् ।
काठमाडौं । जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रमा एक हप्ताको निजी भ्रमणमा गत ७ गते काठमाडौंबाट ल्हासा प्रस्थान गरेका पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिब्बतकै सिगात्से तथा आली प्रिफेक्चरको भ्रमण सम्पन्न गरिसकेका छन् । उनका साथमा धर्मपत्नी राधिका शाक्य तथा चिकित्सक सहित ६ जना रहेका छन् ।
श्रावण ७ गते ल्हासाको गोंगर विमानस्थल पुगेका उनको भ्रमण दललाई तिब्बत सरकारका सहायक अध्यक्ष महामहिम लो मई, तिब्बत जनकांग्रेसका उपाध्यक्ष महामहिम चु च्यानह्वा र नेपाली महावाणिज्यदूतावास, ल्हासाका महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले स्वागत गरेका थिए । ल्हासा विमानस्थलनमा ओली र तिब्बत जनकांग्रेसका उपाध्यक्ष चु बीच द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो ।
श्रावण ७ गते साँझ उनलाई ल्हासास्थित सांग्रिला होटलमा चीनको तिब्बत स्वशासित क्षेत्रको जनसरकारका अध्यक्ष महामहिम श्री छि टालाले स्वागत गर्दै सोही साँझ उनको सम्मानमा रात्रीभोजको समेत आयोजना गरेका थिए । उक्त रात्रीभोजमा तिब्बत जनकांग्रेस, जनसरकार तथा चीनियाँ कम्युनिष्ट पार्टी, तिब्बत क्षेत्रको समितिका उच्च पदस्थ पदाधिकारी एवम् महावाणिज्यदूतको समेत सहभागिता रहेको थियो ।
भ्रमणदल श्रावण ८ गते ल्हासाबाट रेलमार्गमार्फत सिगात्से प्रस्थान गरेको थियो । ओलीलाई सिगात्सेको रेलवे स्टेशनमा सिगात्से नगरपालिकाका उपमेयर तथा सिगात्से परराष्ट्र कार्यालयका पदाधिकारीहरुले स्वागत गरेका थिए। तत्पश्चात सिगात्सेको सिगात्से होटलमा ओलीर सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी श्री चाङ याङछिङबीच भेटघाट तथा छलफल भएको थियो । उक्त बैठकमा श्री चाङले चीनको तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, सिगात्से प्रिफेक्चरमा पर्ने २०७२ बैशाख १२ को भूकम्पबाट अबरुद्ध भएको खासा नाका क्षेत्रको अध्ययन भइरहेको, रसुवागढी नाकामा चीनतर्फ पूर्वाधार विकासको कार्य भइरहेको, किमाथांका– चेन्ता« नाका क्षेत्रमा समेत चीनतर्फ द्रुतगतिमा पूर्वाधार विकास भइरहेको बताए ।
त्यस्तै उक्त बैठकमा श्रद्धेय अध्यक्ष ओलीले आफू सन् २०१६ मा प्रधानमन्त्री भएका बखत दुई देशको हितको लागि विभिन्न सम्झौता र सहमति भएको उल्लेख गर्दै ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न तिब्बत सरकार तथा सिगात्से प्रिफेक्चर सरकारको समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्दै तिब्बत र नेपालबीचको ऐतिहासिक, भौगोलिक, व्यापारिक, धार्मिक, सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढिकरण हुने र चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको कुरा व्यक्त गरे ।
साथै, ओलीले तिब्बत र नेपालबीच द्विपक्षीय भ्रमणको आदान–प्रदान गर्नुपर्ने विषय समेत उल्लेख गरे ।
श्रावण ८ गते नै सिगात्से भ्रमणबाट ल्हासा फर्किका अध्यक्ष ओली र तिब्बत जनसरकारका अध्यक्ष छिटालाबीच सांग्रिला होटलमा बैठक आयोजना भएको थियो । उक्त बैठकमा उनले नेपाल र चीनबीच सदियौं पुरानो तथा सुमधुर सम्बन्ध रही दुई देश एक–अर्काका असल छिमेकीको रुपमा रहेको उल्लेख गर्दै ‘ओविओआर’मा नेपाल आबद्ध भएपश्चात नेपालले रेलवे, सडक, व्यापार, पर्यटन, ऊर्जा तथा लगानी लगायतमा विविध क्षेत्रमा चीनबाट ठूलो सहयोग प्राप्त हुने र यसबाट नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विचार व्यक्त गरे । साथै, उनले सन् २०१६ मा आफू प्रधानमन्त्री भएको बखत गरेको चीन भ्रमणमा नेपाल र चीनबीच १० बुँदे सम्झौता भएको र १५ बुँदे संयुक्त वक्तव्य जारी भएको उल्लेख गर्दै उक्त सम्झौता र सहमतिबाट नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्दै ती सम्झौताहरु कार्यान्वयन गराउनका लागि आफूले नेपाल सरकारलाई दबाब दिइरहेको बताए ।
साथै, ती सम्झौता र सहमतिको सफल कार्यान्वयन गराउन नेपालको उत्तरी सीमा जोडिएको स्वशासित क्षेत्र तिब्बत सरकारको पनि महत्वपूर्ण भूमिका हुने भएकाले सहयोगका लागि आग्रह गरे ।
भ्रमणको तेश्रो दिन श्रावण ९ गते ओली ल्हासाबाट विमानमार्फत तिब्बतको आली प्रिफेक्चर प्रस्थान गरी सोही दिन हिन्दु र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल कैलाश पर्वत र मानसरोवरको भ्रमण गरे।
आलि प्रिफेक्चरमा रहेको कुन्सा विमानस्थल समुन्द्र सतहबाट ४३४० मिटर उचाइमा रहेको र मानसरोबरको उहाई ४६२४ मिटर रहेकोमा उनीलगायत प्रतिनिधिमण्डलका कुनै पनि सदस्यलाई उचाईजन्य समस्या वा लेक लाग्ने समस्या भने भएन । सोही दिन भ्रमणदल प्रिफेक्चरको सदरमुकाम सिचुआन ह शहर पुग्यो । उक्त शहरमा त्यहाँका चीनियाँ कम्युनिष्ट पार्टीका उपमहासचिव तथा आली प्रिफेक्चरका कमिस्नर फङ छोरले उनको सम्मानमा रात्रीभोज आयोजना गरेका थिए । उक्त रात्रीभोजका अवसरमा तिब्बत जनसरकारका उपाध्यक्षको समेत उपस्थिति रहेको थियो । रात्रीभोजका अवसरमा छोरले नेपाल र चीनको तिब्बतबीच असल छिमेकी र असल मित्रको सम्बन्ध रहेको बताउँदै उनलाई स्वागत गर्न पाउँदा आफू हर्षित रहेको बताए ।
उक्त रात्रीभोजमा उनले नेपाल र चीनको तिब्बतबीच साझा हिमाल, धर्म, भाषा एवम् संस्कृति र खानपिनमा समानता रहेको कुरा उल्लेख गरे । साथै, पवित्र तीर्थस्थल कैलाशपर्वत र मानसरोवरको भ्रमण गर्न पाएकोमा खुशी व्यक्त गर्दै भ्रमणको व्यवस्था मिलाउने चीनको केन्द्र सरकार, तिब्बत सरकार तथा आलिको सरकारलाई धन्यवाद ज्ञापन गरे ।
आलि प्रिफेक्चरको भ्रमणको समन्वय तथा सहजीकरण गर्न तिब्बतथ जनसरकारका उपाध्यक्ष महामहिम दोर्जी छिटु, तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक श्रीमती बाइमा याङजोम तथा नेपाली महावाणिज्यदूतावास, ल्हासाका महावाणिज्यदूत गोविन्द बहादुर कार्की समेत गएका थिए । साथै, उनको भ्रमणका क्रममा स्वास्थ्य सेवा पु¥याउन भ्रमण अवधिभर चीन सरकारले चिकित्सक, नर्स लगायत अन्य आवश्यक व्यवस्था समेत मिलाएको छ ।
भ्रमणको चौथो दिन उनी तिब्बतको आलीबाट ल्हासा फर्किएका छन् । ल्हासामा उनले त्यस शहरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरहरु जस्तै पोताला दरबार, नोर्बुलिंका मन्दिर, नोर्बुलिंका पार्क, अन्य प्रशिद्ध गुम्बा तथा मन्दिरहरुको अवलोकन गर्ने तथा तिब्बत क्षेत्रका अन्य उच्च नेताहरुसँग भेटघाट सम्पन्न गरी श्रावण १३ गते ल्हासाबाट नेपाल फर्कन कार्यक्रम रहेको छ ।
प्रतिक्रिया