के चिनियाँ रेल नेपाल आउला ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
के चिनियाँ रेल नेपाल आउला ?

सारांश

  • काठमाडौं- चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीहरुको भ्रमणले नेपालीहरुको रेलको सपनालाई ब्युउत्याएको छ।
  • उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन्।
  • सो टोली पोखराबाट लुम्बिनीमा पुगेर आफ्नो स्थलगत अध्ययनलाई सकेका छन्।

काठमाडौं- चिनियाँ रेल नेटवर्कका उच्च अधिकारीहरुको भ्रमणले नेपालीहरुको रेलको सपनालाई ब्युउत्याएको छ। उच्च अधिकारीले केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेका छन्। सो टोली पोखराबाट लुम्बिनीमा पुगेर आफ्नो स्थलगत अध्ययनलाई सकेका छन्।

स्थलगत अध्ययन गरेको टोलीले उक्त रेलमार्ग बनाउन सकिने निष्कर्षसहित अबको जिम्मा नेपाल सरकारको हातमा रहेको संकेत पनि गरेका छन् ।

तीन दिनसम्मको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको दुईपक्षीय बैठकमा रेलमार्गमा विभिन्न चुनौती भए पनि बनाउन सकिने चिनियाँ टोलीले बताएको भौतिक पूर्वाधर मन्त्रालयले जनाएको छ । यसले फेरि नेपालीको रेल चढ्ने सपनालाई पुनर्जागृत गराएको छ। कति संभव छ नेपालमा रेल कुदाउन के चिनियाँ रेल आउला ?

पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङ

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले गत चैतमा चीनको भ्रमण गर्दा पनि यो विषय उठेको थियो । त्यस समयमा दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’

दाहालभन्दा एक कदमअघि बढ्दै सीले भने, ‘ठोस प्रस्तावसहित आउनोस्।’ भेटमा चिनियाँ राष्ट्रपतिले अझ स्पष्ट शब्दमा भने, ‘केरुङ हुँदै काठमाडौंतर्फ अघि बढ्ने रेल ‘वान बेल्ट वान रोड’ (ओबिओआर) योजनाअन्तर्गत पर्छ । यस्ता योजनालाई सहयोग गर्ने हाम्रो घोषित नीति नै छ।’

दुई देशका उच्च अधिकारीले एकअर्को देशमा भ्रमण गर्दा छलफलमा नछुट्ने विषय हो– नेपाल–चीन रेल कनेक्टिभिटी । चीनको, अझ बढी चिनियाँ राष्ट्रपतिको महत्वाकांक्षी योजना मानिएको ओबिओआरअन्तर्गत पर्ने नेपाल–चीन रेलसेवालाई नेपालले जति महत्व दिएको छ त्योभन्दा बढी चीनले। चिनियाँ राष्ट्रपतिले प्रस्तावसहित आउनु भनेपछि एजेन्डाविहीन चीन भ्रमणमा गएका प्रधानमन्त्री दाहाललाई फर्कंदा मिडियालाई दिने ‘मसला’ त्यही बन्न पुग्यो ।

दाहालभन्दा एक वर्षअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा यस्तै कुरा गरेका थिए। त्यतिबेला रेलका बारेमा अध्ययन गर्ने भनिएको थियो । तर यस विषयमा नेपाली पक्षबाट गृहकार्य भएको छैन ।

तर चिनियाँ पक्षले भने आफ्नो तयारीलाई तीव्र पारेको छ । आन्तरिक रूपमा तीव्र गतिमा रेल सञ्जाल विस्तार गरिरहेको चीनले २०२० सम्ममा केरुङसम्म रेल ल्याउने गरी काम गरिरहेको छ । केरुङ नेपालको उत्तरी नाका रसुवागढीबाट २६ किलोमिटर पर छ। स्थलमार्गबाट दक्षिण एसियामा सहज प्रवेश खोजिरहेको चीनले रेलमार्ग निर्माणलाई विशेष महत्व दिएको छ ।

धेरै नेपालीले केरुङसम्म आउने रेल काठमाडौं जोडिने अपेक्षा गरेका छन्। नेपाली व्यापारीको सामान बोकेको चिनियाँ रेल छुटेको समाचारले पनि प्राथमिकता पाउने गरेको छ। यस्ता समाचारले तीनै देशका सञ्चारमाध्यम तरंगित त हुने गरेका छन् नै काठमाडौं रोमाञ्चित र दिल्ली कम्पित हुने गरेको पनि देखिन्छ।

आधा बाटो घट्ने

सिंगापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका एसोसिएट प्रोफेसर प्रद्युम्नविक्रम राणाको अध्ययनअनुसार नेपाल हुँदै रेलसेवा विस्तार भएमा चीनको भित्री सहर र भारतीय सहरसँगको सम्पर्क दुरी आधाभन्दा बढी घट्नेछ ।

नयाँदिल्लीदेखि चीनको कुन्मिङसम्म हवाई दुरी दुई हजार आठ सय ८७ किमि, चोङचिङसम्म तीन हजार एक सय ५१ र चेन्दुसम्म दुई हजार नौ सय ११ किमि छ ।

अहिले यी दुवै स्थानबीच हङकङ हुँदै जल तथा स्थलमार्गबाट सम्पर्क स्थापित छ । स्थल र जलमार्ग हुँदै दिल्लीबाट कुन्मिङ १० हजार तीन सय ४५ किमि, चोङचिङ १० हजार ६ सय ६९ किमि र चेङ्दु १० हजार चार सय ३७ किमि टाढा छ ।

रेलसेवा विस्तार भएमा भारतको चेन्नई र चीनका भित्री सहर कुन्मिङ, चोङचिङ र चेन्दुसम्मको सीधा दुरी आधा कम हुनेछ । हाल चेन्नेईदेखि कुन्मिङसम्म ६ हजार आठ सय ४१ किमि, चोङचिङसम्म ६ हजार सात सय ४५ किमि र चेन्दुसम्म सात हजार चार किमि छ ।

चीनले पछिल्लो समय पश्चिम–दक्षिण क्षेत्रमा आफ्नो व्यापार विस्तार गर्दै लगेकाले पनि व्यापारका लागि दिल्ली उपयुक्त भएको राणाको अध्ययनमा उल्लेख छ । चीनका लागि मध्यएसिया र पूर्वी एसिया प्रवेश नेपाल हुँदै स्थल सम्पर्क सबैभन्दा सजिलो हुने राणाले औंल्याएका छन् ।

युरोप, एसिया र अफ्रिका जोड्न चीनले रेसममार्ग ब्युँत्याउन अघि सारेको स्थल तथा जल मार्गको ‘वान बेल्ट वान रोड’को अभियानमा जोडिन पनि भारतका लागि नेपाली मार्ग सबैभन्दा छोटो पर्नेछ । वान बेल्ट वान रोड अभियानलाई चीनले सन् १९४९ मा कम्युनिस्ट पार्टीको शासन स्थापनापछि निर्धारण गरेको विदेश नीतिको सबैभन्दा ठूलो ‘डिप्याचर’का रूपमा व्याख्या गर्न थालिएको छ।

चार वर्षअघि चिनियाँ राष्ट्रपति सीले घोषणा गरेको ‘वान वेल्ट, वान रोड’ मा सीमापार रेल, सडक, सीमापार विद्युत् प्रसारण लाइन, पेट्रोलियम पाइप लाइन र हाइस्पिड इन्टरनेट विस्तार छन् ।  पछिल्लो समयमा दुई विशाल छिमेकीबीच नेपाललाई माध्यम बनाएर व्यापारको सम्भावनाबारे छलफल हुने गरेको छ।

चिनियाँ रेलमार्ग जोडिएपछि समुद्रको पहुँचबाट टाढा रहेका भारतका उत्तर प्रदेश, बिहारजस्ता राज्यलाई नेपाल हुँदै चीनसँग व्यापार गर्न सहज हुनेछ । नेपालसम्म मात्र रेल ल्याउँदा चीनलाई खासै फाइदा हुँदैन, उत्तर प्रदेश र बिहारजस्ता धेरै जनसंख्या भएका राज्यसम्म पुग्न सक्यो भने बेइजिङको आँखा रहेको छ । भारतको उत्तर प्रदेशमा २१ करोड र बिहारमा १० करोडको जनसंख्या छ ।

दक्षिण एसियाका आठमध्ये पाँच देशको सीमा चीनसँग जोडिएको छ । सीमा जोडिए पनि नेपालजत्तिको सहज अन्य देशको बाटो नभएको चिनियाँ पक्षको बुझाइ छ । भारतसँग रहेको सीमा विवाद, पाकिस्तान र अफगानिस्तान क्षेत्रको कठिन भौगोलिक अवस्थिति तथा प्रतिकूल मौसम र भुटानसँग दौत्य सम्बन्ध नभएका कारणले चीनका लागि नेपाल उपयुक्त स्थान भएको सिचुवान विश्वविद्यालयको इन्स्टिच्युट अफ साउथ एसिया स्टडिजकी प्रमुख प्राध्यापक ली ताओले जनाएकी छिन् ।

‘दक्षिण एसियामा प्रवेश गर्न सक्ने चीनका तीन सय १२ भन्ज्याङमध्ये नेपालमा एक सय ८४ वटा छन्’, लीको कार्यपत्रमा उल्लेख छ, ‘दक्षिण एसियासँग चीनको पाँच हजार किमिभन्दा बढी सीमा क्षेत्र जोडिएको छ । त्यसमा एक हजार चार सय १५ किमि सीमा क्षेत्र पर्ने नेपाल दक्षिण एसिया र चीनबीच सम्बन्धको महत्वपूर्ण सेतु हो।’

कतिपय भारतीय विश्लेषकहरू भने सुरक्षाका दृष्टिले चीन संवदेनशील तिब्बतलाई खुला पार्ने गरी नेपाल हुँदै दक्षिण एसियामा जान्छ भन्नेमा विश्वस्त छैनन् । तीमध्येका एक नेपाल र तिब्बती मामिलाका जानकार प्राध्यापक एसडी मुनीले चीनले बाह्य विश्वका लागि तिब्बत खोल्न नचाहने बताएका छन् । विकट भौगोलिक अवस्थिति,  वातावरणीय र सुरक्षा दृष्टिले संवेदनशील  तिब्बतसँगको सीधा सम्पर्क हुन सक्ने भएकाले दक्षिण एसियासँग रेलसेवा विस्तार गर्ने परियोजनाप्रति उनको आशंका छ ।

यस्तै त्रिदेशीय साझेदारीमा नेपाल र चीन सहमत रहेपनि भारत भने झस्किने गरेको छ। त्रिदेशीय साझेदारीको सूत्राधार आफैं भएको दाबी गरेको दिल्ली अहिले यसबाट पछि हट्न खोजेको छ। हिमाललाई आफ्नो सुरक्षा किल्ला मान्ने साढे छ दशक पुरानो नेहरु डक्ट्रिन मात्रै नभएर चीनको गतिसँग प्रतिस्पर्धामा कमजोर हुने र आफूभन्दा बढी फाइदा बेइजिङले लिन सक्ला भन्ने लघुताभास भारतीय पक्षसँग रहेको विश्लेषण गर्नेहरु पनि उत्तिकै छन्।

भारत आफ्नो प्रभाव क्षेत्रभित्र अन्य कुनै पनि शक्तिलाई प्रवेश गर्न दिन चाहँदैन र छिमेकी देशलाई आफ्नो राजनीतिक, सैनिक, सांस्कृतिक प्रभावबाट निर्देशित भइरहोस् भन्ने चाहन्छ ।

पछिल्लो समय शक्तिराष्ट्र बन्ने होडमा रहेका भारत–चीनबीच वार्षिक व्यापार सय अर्ब अमेरिकी डलर हाराहारी छ भने विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा सहकार्य र प्रतिस्पर्धा दुवै छ । रेलसेवा विस्तार भएमा भारतका लागि पनि नेपाल हुँदै मध्यएसिया र युरोप पुग्न सजिलो हुनेछ ।

गत वर्ष चीनबाट हिँडेको रेल १५ दिन लगाएर बेलायत पुगेको थियो । जसले ४५ दिनको समुद्री यात्रा घटाएको थियो । चीन र बेलायत त्यसलाई अझै १२ दिनमा झार्ने कोसिसमा छन् । सस्तोमा सामान आयातनिर्यात समुद्री मार्गबाट हुन सक्ला। तर अहिले प्रतिस्पर्धाका कारण व्यापारमा पनि समयको निकै महत्व छ। त्यसैले संसारलाई रेलसेवाले आकर्षित गरेको छ’, आचार्यले भने ।

रेल कूटनीति

चीनले आन्तरिक रूपमा रेल सञ्जाल विस्तार गरी अन्य देशसँग पनि जोड्न चाहेको छ। अहिले नै संसारभरका द्रुत गतिको रेल्वे ट्र्याक सबैभन्दा बढी चीनसँग छ। चीनले सन् २०२० सम्म स्वदेशमा द्रुतरत रेलको ट्र्याक ३० हजार किमि बनाउने लक्ष्य लिएको छ। चीनका सय वटा ठूला सहर जोड्ने यो परियोजनाका लागि १० खर्ब युआन छुट्ट्याइएको छ।

चीनले आफ्नै लगानीमा पूर्वी अफ्रिकी मुलुक डिजिबाउटीस्थित लालसागरको तटबाट भूपरिवेष्टित मुलुक इथियोपियाको राजधानी अदिसअबाबासम्म निर्माण गरेको सात सय ५० किलोमिटर रेलमार्ग गत जनवरीदेखि  सञ्चालन भएको छ । यस्तै चिनियाँ प्रविधिमै टर्की, सिंगापुर, ब्राजिलले बुलेट ट्रेन सञ्चालन गर्ने भएका छन् ।

चिनियाँ प्रविधिले विश्व बजारमा द्रुतरत रेलको मूल्यलाई आधा कम बनाएको विज्ञहरुले बताउँछन् । यसअघि जापान, जर्मनी र फ्रान्ससँग मात्रै यस्तो प्रविधि थियो । बुलेट ट्रेन सञ्चालनका लागि चीनले विगत आठ वर्षमा १९ हजार किमि रेलमार्ग विस्तार गरेको छ । चीनको कुन्मिङबाट १० घन्टामा सिंगापुर पुग्ने गरी रेलसेवा विस्तार गरिएको छ । थाइल्यान्ड, कम्बोडिया, भियतनाम, मलेसिया र सिंगापुरसम्म रेलसेवा विस्तार गर्ने योजना चीनको छ । कतिपय पश्चिमाहरू चीनले रेलसेवालाई ‘डिप्लोमेसी’ का रूपमा प्रयोग गरिरहेको बताउन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
“धौलागिरीमा नया गन्तब्य ‘जिप लाइन’को आवश्यकता”
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
सुन प्रकरणमा एमालेः ओली-नेम्वाङ भनाभन
सुन प्रकरणमा एमालेः ओली-नेम्वाङ भनाभन
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
Box office roundup July: Sanju storm continues while Dhadak and Mission Impossible Fallout shine bright
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
मेलम्ची बाढीको एक वर्ष : अझै सुरु भएन पुनःनिर्माणको काम
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
पेट्राेल भर्दा माेटरसार्इकलमा अागाे लागेपछि…
सुरक्षा प्रवन्ध मिलाउन चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन
समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा
समावेशी विकासमा अर्थपूर्ण साझा प्रयास आवश्यक : अर्थमन्त्री खतिवडा
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र
मुग्लिन–पोखरा सडकमा दुवैतर्फ चार किलोमिटर कालोपत्र