कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोनाभाइरस: अमेरिका र अस्ट्रेलियाद्वारा चीनबाट भित्रिन नदिन यात्रा प्रतिबन्ध

सारांश

  • बीबीसी।
  • कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्।
  •  अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।

बीबीसी। कोरोनाभाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिनेगरी प्रतिबन्ध लगाएका छन्। अमेरिका र अस्ट्रेलियाले डिसेम्बरमा उक्त भाइरस फेला परेको देश चीनको भर्खरै भ्रमण गरेका विदेशीलाई आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन्।

यसअघि रुस, जापान, पाकिस्तान र इटलीले त्यस्तै यात्रा प्रतिबन्ध घोषणा गरेका थिए। निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई साता चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबे प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारन्टीनमा राख्छ। अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारन्टीनमा राख्ने जनाएको छ। तर विश्व स्वास्थ्य अधिकारीहरू त्यस्ता उपायविरुद्ध छन्।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले शुक्रवार भनेका थिए, "यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउन सक्छ।" डब्ल्यूएचओले सीमावारपार गर्ने स्थानमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ।

सीमा बन्द गरेपछि यात्रुहरू अनधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने उसको चेतावनी छ। चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, "डब्ल्यूएचओले यात्रा प्रतिबन्धहरूविरुद्ध सिफारिस गर्नेबित्तिकै अमेरिका उल्टो दिशातर्फ जान हतारियो, (यो) पक्कै पनि सद्भावको सङ्केत होइन।" कोरोनाभाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको छ। सबै मृत्यु चीनभित्र भएको हो।

त्यसमा पनि अधिकांशको मृत्यु भाइरस उत्पन्न भएको हुबे प्रान्तमा भएको छ। करिब १२ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ। चीनबाहिर त्यो सङ्ख्या करिब १०० छ। अमेरिका, ब्रिटेन, रुस र जर्मनीले हालैका दिनहरूमा सङ्क्रमण देखिएको पुष्टि गरेका छन्।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। तर सार्सको तुलनामा नयाँ भाइरसको सङ्क्रमणमा मृत्युदर निकै कम छ। त्यसैले यो प्राणघातक नभएको विश्वास अधिकारीहरूमा बढाएको छ।

हङ्‌कङ विश्वविद्यालयले गरेको अनुमानमा सङ्क्रमणको सङ्ख्या औपचारिक रूपमा दिइएकोभन्दा निकै बढी हुन सक्छ। विज्ञहरूका अनुसार सङ्क्रमणको केन्द्रबिन्दु वुहान सहरमा ७५,००० भन्दा बढी मानिस सङ्क्रमित भएका हुन सक्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?