अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
५५ पटक हेरिएको
Shares
अस्थायी मुकाम रुपन्देही तोकिएपछि यस्तो आयो कृष्णबहादुर महराको कडा प्रतिक्रिया

सारांश

  • काठमाडौं, ३ माघ ।
  • भर्खरै नेपाल सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा गरेका माओवादी केन्द्रका वरिष्ठ नेता एवं दाङ क्षेत्र नं.
  • २ का सांसद कृष्णबहादुर महराले कतिपय प्रदेशका अस्थायी मुकाम तोक्ने कामलाई अविवेकी र असन्तुलित भएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं, ३ माघ । भर्खरै नेपाल सरकारको उपप्रधानमन्त्री पदबाट राजीनामा गरेका माओवादी केन्द्रका वरिष्ठ नेता एवं दाङ क्षेत्र नं. २ का सांसद कृष्णबहादुर महराले कतिपय प्रदेशका अस्थायी मुकाम तोक्ने कामलाई अविवेकी र असन्तुलित भएको प्रतिक्रिया दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नुले सरकारको असक्षमता पुष्टि भएको बताएका छन् ।

विज्ञप्तिमा महराले भनेका छन्, “आज नेपाल सरकारले प्रदेशहरुको अस्थायी राजधानी तोकेको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । देशका विभिन्न भागहरुमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमको सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलित रुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको छ ।”

प्रशासन पुनःसंरचना आयोगको सिफारिस, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित भएको महराको आरोप छ । “देउवा सरकारको यो असन्तुलित, अविवेकी, अदूरदर्शी, असंवेदनशील र असक्षम निर्णय हो”, महराको विज्ञप्तिमा भनिएको छ, “म यो निर्णयको विरोध र घोर भत्र्सना गर्दछु । यसबाट देउवाको उत्पीडित क्षेत्रको सन्तुलित विकास गर्ने खोक्रो आदर्श उदाङ्गिएको छ र यो निर्णय उत्पीडकहरुको स्वार्थद्वारा प्रेरित भएको पुष्टि हुन्छ ।”

५ नम्बर प्रदेशको राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको आफूले दृढतापूर्वक समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ । उनले सरकारलाई तुरुन्त निर्णय सच्याउन अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ