कोरोना युरोपमा– प्रभाव किसानमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोना युरोपमा– प्रभाव किसानमा

सारांश

  • भक्तपुर।
  • विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ।
  • कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो सागसब्जी सस्तो मूल्यमा बेच्न परेको गुनासो गरिरहेका छन्।

भक्तपुर। विश्वमा फैलिरहेको कोभिड–१९ को सन्त्रासको प्रभावले यस क्षेत्रमा उत्पादन हुने हरियो सागसब्जी निकै सस्तो भएको छ।

कोभिड– १९ को सन्त्रासका कारण उपभोग्य वस्तुको अभाव र मूल्य बढ्ने हो कि भन्ने चिन्ता भइरहेकै बेला यहाँ किसान भने हरियो सागसब्जी सस्तो मूल्यमा बेच्न परेको गुनासो गरिरहेका छन्।
 
यहाँका किसान सरोज महर्जन भन्छन्, “कोरोनाको सन्त्रासले कृषि क्षेत्रलाई पनि निकै समस्या पारेको छ। सागसब्जी सस्तो छ, बिक्दैन। मान्छे उपत्यका बाहिर गए, ठूला होटल बन्द भए, सब्जी खाने मान्छे छैन।” पुस्तौनी हरियो सागसब्जी खेती गर्दै महर्जनका अरु दुई दाजुभाइ तुल्सीराम र विकेस पनि यसै पेशामा संलग्न छन्। उनीहरुको परिवार धान्ने मुख्य उत्पादन चौसुर–पालुङ्गो, धनियाँ, गाँजर र हरियो प्याज हो । त्यो अहिले निकै सस्तिएको छ।
 
महर्जन भन्छन्, “अहिले हामी निकै घाटामा छौँ, छोराछोरीको पढाई खर्च उठाउन त परैजाओस् परिवार धान्नलाई पनि हम्मेहम्मे परेको छ। कुनै बेला धनियाँको साग प्रतिकिलो रु १०० सम्म बिक्री गरेकामा अहिले १० रुपैयाँमा पनि व्यापारी किन्न मान्दैनन्, होटल बन्दछ, विदेशी छैन, लगेर मात्र के गर्नु व्यापारी भन्छन्।”
 
ठिमीको नगदेश र मनोहरा क्षेत्रका किसानले वर्षमा पाँच पटक हरियो तरकारी उत्पादन गर्दैआएका छन्  गाँजर भने उनीहरुले वर्षमा दुई पटक उत्पादन गर्दछन्। कुनै बेला प्रतिकिलो ६० सम्म गाँजर बेचेका त्यस क्षेत्रका किसानले आठ रुपैयाँ किलो बेच्नुपर्दा कसरी व्यवसाय र घर चलाउन सकिन्छ भनी प्रश्न गरे।

जापानी असल जातको गाँजरको बीउको मूल्य १० हजारभन्दा बढी पर्छ, माटो मुनि फल्ने हुँदा ठेगान हुँदैन, असल बीउ परेन भने गाँजर धेरै फुट्छ, हागाबिगा र डुकु आउँछ। जापानिज बीउ भनेर बिसाएर बेच्छ, त्यसको मार हामीमा पर्छ, असल बीउ परेन भने लगानी उठ्दैन, पुख्र्यौली पेशा धान्न धौधौ परेको अर्का किसान तुलसीराम महर्जन गुनासो गर्छन्।

सिंहदरबारबाट घोषणा भएको कृषि अनुदान महसुस गर्न नपाएको बताउँदै उनी भन्छन्,  “कृषि अनुदान आयो भन्छन्, सब भित्रभित्रै दुई नम्बरी गर्छन्। बिचैमा हराउँछ, कसले खाँन्छन् अत्तोपत्तो हुन्न, अनुदान त परैजाओस् बाली लगाउने बेला बीउ सटेज गर्छन्। महङ्गोमा किन्न बाध्य हुनुपर्छ।” मुलुकमा दूरदर्शी नेतृत्व नभएका कारण उत्पादन हुने खेतबारी घडेरी र बाटोमा परिणत हुन गयो भन्ने विचार राख्ने महर्जन परिवारले जाडो होस् कि गर्मी जुनसुकै बेला हरियो सागसब्जी खर्पन बोकेर राति १ बजे नगदेश पुर्रयाएर बेच्दै आएको घटना सुनाए।

उनीहरुले लगेको साग तुरुन्तै बिक्री भएमा घर आएर केही समय सुत्न पाइने अन्यथा बिहानसम्म कुर्नपर्ने हुन्छ। उनीहरुको आराम गर्ने र निदाउने समय प्रत्येक दिन तीनदेखि पाँच घण्टासम्म मात्र हो । कहिलेकाहीँ उनीहरु साग बेच्न कालीमाटी बजारसम्म पनि पुग्ने गरेको बताउँछन्।
 
उनी कहिलेकाहीँ कालिमाटीसम्म पुग्छन्, अरुको जमिन भाडा लिएर खेती गर्न अहिले निकै कठिन छ, मेहनत मात्रै खेर जान्छ, लगानी उठ्दैन। हरियो सागसब्जी उत्पादनको विकल्पमा जग्गा बेचेर पसल थाप्नुपर्छ कि भनेर योजना बुनिरहेका महर्जन परिवारको भूकम्पमा घर क्षति भए पनि अनुदान पाउन सकेनन् । भूकम्पछि ४० लाख खर्च गरेर बनाएरको घरलाई इञ्जिनीयरले मिलेन भन्यो, अनुदान दिएन सरोज भन्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?