कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ११, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कोरोना संक्रमण झन् तीव्र बनेकाे भन्दै डब्लुएचओकाे चेतावनी

सारांश

  • बीबीसी।
  • विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।
  • टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

बीबीसी। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्।

टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, “पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो।”

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ‘विश्वव्यापी महामारी’ को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ।

प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ।

रोगका सम्भावित उपचार उक्त बैठकको अजेन्डामा छ।

विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन्।

अमेरिकाको केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ।

जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरि जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन्।

एन्टोनियो गुटेरजले कोभिड-१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताए।

उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको बताए।

उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?