एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १२, २०८१
|
|
३८ पटक हेरिएको
Shares
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदका लागि नेताहरूको दौडधुपले तीव्रता पाएको छ ।
  • पार्टी विधानअनुसार १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन हुनेछ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदका लागि नेताहरूको दौडधुपले तीव्रता पाएको छ । पार्टी विधानअनुसार १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन हुनेछ ।

पदाधिकारी तथा सदस्यका लागि नेताहरू आन्तरिक छलफल, भेटघाटमा व्यस्त भएका छन् । अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसालले भेटघाटलाई तीव्रता दिएका छन् ।

अगामी नेतृत्वका लागि महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पुनः अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री रहेका खनालसमेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । एमालेबाट साढे दुई वर्षअघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट भए पनि नेतृत्वमा आउन खोजेका छन् ।

नेपाल र खनाल दुवैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकारसमेत चलाइसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउने अकांक्षा आफूनिकटका नेतासँग राख्ने गरेका छन् ।

नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसालसमेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउन खोजेका छन् ।

एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए । एमालेले गत आमनिर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए ।

एमालेको सौराहामा भएको महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए तर पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्पर्ण नगरेका भुसालले ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधैं चर्को रूपमा विरोध गरिरहेका थिए । पार्टीमा खनालनिकट मानिने भुसाल वैचारिक नेतामा पर्छन् । एकीकृत समाजवादीमा सर्वसम्मत अध्यक्ष चयन नभएको अवस्थामा खनालले भुसाललाई समर्थन गर्ने चर्चासमेत भइरहेको छ ।

यस्तै, अध्यक्षपछिको कार्यकारी भूमिका रहने महासचिव पदका लागिसमेत नेताहरूको दौडधुप तीव्र रूपमा भइरहेको छ । अध्यक्षजस्तै महासचिवका आकांक्षी पनि धेरै भएकाले सहमति जुट्ने सम्भावना कम रहेको छ ।

महासचिवका लागि जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र डा. विजय पौडेल आकांक्षी रहेका छन् । यी चारै जना नेताहरू अहिले पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहेका छन् ।

यस्तै, राजेन्द्र राई, रामकुमारी झाँक्रीसमेत महासचिवका आकांक्षी छन् । दुवै जना अहिले पार्टीमा सचिवको जिम्मेवारीमा रहेका छन् । राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने झाँक्री संघीय सरकारको पूर्वमन्त्री हुन् ।

उपाध्यक्ष, उपमहासचिव, सचिवका लागि ५० भन्दा बढी आकांक्षी देखिएका छन् । केन्द्रीय सदस्यका लागि सयौंले आकांक्षा राखेका छन् । अहिलेकै पदाधिकारी रहेका कतिपय नेताहरू आफू सोही पदमा दोहिरिन खोजेका छन् भने कतिपय नेताहरूले एक तहमाथि उक्लिन खोजेका छन् ।

एकीकृत समाजवादीको आगामी १६ देखि २० असारसम्म काठमाडौंमा महाधिवेशन हुँदै छ । त्यसका लागि प्रतिनिधि छनौटसँगै अन्य व्यवस्थापनका कार्यहरू तीव्र रूपमा अगाडि बढेको छ । १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय समिति महाधिवेशनबाट चयन हुने पोलिटब्युरो सदस्य दिलु पन्तले जनाएकी छन् ।

विधानबाट ७० वर्षे उमेरको हदबन्दी हटेको छ । युवालाई २० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । महिला, मधेसी, दलित, जनजातिलगायतका क्षेत्रमा समेत आरक्षणको व्यवस्था गरिएको छ । महाधिवेशनमा १ हजार ८ सय ४९ जना प्रतिनिधि सहभागी हुनेछन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् ९५ जना मनोनीत गर्न बाँकी रहेको छ ।

पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । संघीय संसद्को प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरिरहेको छ ।

महाधिवेशनका लागि तयार गरिएको राजनीतिक प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ । वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको सो प्रतिवेदनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै विविधताबीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्धन गर्ने विषय प्राथमिकता छ ।

‘समाजवादी कार्यक्रम’को प्रतिवेदनमा वैज्ञानिक समाजवादी व्यवस्थाको अवधारणा, त्यसको स्वरूप तथा संरचना, सामाजिक प्रभाव, आर्थिक रूपान्तरणका पक्ष, अन्तर्राष्ट्रिय अभ्यासलगायत विषय उल्लेख छन् । मुलुक र जनताको प्रगतिको बाधक तत्वका रूपमा पुँजीवादी व्यवस्थालाई चित्रण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Difference Between Application Quality Assurance
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
नयाँ शक्ति विद्यार्थी युनियनद्वारा बुढीगण्डकी सम्झौता खारेजको माग गर्दै विरोध प्रर्दशन
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
मन्त्रिपरिषद्को बैठक जारी : प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सम्भावना
केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै
केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
ओम्नीको बदमासीः निर्वाचन आयोगलाई पुरानो प्रिन्टर बिक्रि
भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी
भारतीय काँग्रेस अध्यक्षमा राहुल गान्धीको एकल उम्मेदवारी
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्
महिला समितिमा कांग्रेसको प्रस्तावः जेष्ठ नागरिकले चाहेको व्यक्तिलाई सम्पत्ति दिन पाउने कानुनी व्यवस्था गरियोस्