गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गगनजी, तपाईं र शेरबहादुरलाई भोट दिनुमा केही भिन्नता छ र ?- रमेश वडाल, अधिवक्ता

सारांश

  • काठमाण्डौ क्षेत्र नं ४ का उमेदवार श्री गगन थापाको फेसवुकमा शेयर भएको एउटा चुनावी भाषण हिजोमात्र हेरेँ ।
  • उहाँले भन्नु भएको छ– ‘काग्रेस गरिव र सुकुम्वासीको पार्टी होईन, धनीमानीको पार्टी हो र गरिव सुकुम्वासीले सूर्यमा झ्याम झ्याम मतदान गरेहुन्छ ।
  • तपार्इंहरुको मत रुखमा चाहिंदैन, आदि ।

काठमाण्डौ क्षेत्र नं ४ का उमेदवार श्री गगन थापाको फेसवुकमा शेयर भएको एउटा चुनावी भाषण हिजोमात्र हेरेँ । उहाँले भन्नु भएको छ– ‘काग्रेस गरिव र सुकुम्वासीको पार्टी होईन, धनीमानीको पार्टी हो र गरिव सुकुम्वासीले सूर्यमा झ्याम झ्याम मतदान गरेहुन्छ । तपार्इंहरुको मत रुखमा चाहिंदैन, आदि । उहाँले झापामा पुगेर दिएको भाषणमा झापामा त सवै सडक चौडा र चिल्ला होलान् भनेको त होइन रहेछ भनी व्यङ्गय समेत गर्नु भएको छ । त्यसपछि मैले उहाँको फेसवुकमा शेयर भएको अन्य प्रचार सामाग्री समेत हेरेँ र काठमाडौं क्षेत्र नम्वर ४ को मतदाताको हैसियतले विना प्रतिक्रिया रहन उचित लागेन ।

यो क्षेत्रवाट २०६४ सालमा र २०७० सालमा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । वहा नै २०७० सालमा निर्वाचित संसद समेत हुनुहुन्छ । यति मात्र हैन काठमाडौं उपत्यका भित्रको १५ सिट मध्ये गत संविधानसभामा वाह्र सिट कांग्रेसले जितेको थियो । यी चार वर्षमध्ये झण्डै तीन वर्ष नेपाली कांग्रेसले नै सत्ताको नेतृत्व गरेको थियो । यस क्षेत्रको मतदाताको हैसियतमा उहाँलाई केहि प्रश्न सोध्ने मेरो हक छ । तपाईलाई लाग्ला यी मेरा मात्र प्रश्न हुन् । तर यी आम मतदाताका पनि प्रश्न हुन् ।

१.    काठमाडौंलाई धुलोमाडौंमा कसले परिणत गरेको हो ? तपाईं संसद र मन्त्री समेत वन्नु भयो तर, काठमाडौ उपत्यकालाई धुवाँ र धुलोवाट मुक्त गर्ने कुनै काम गर्नुभयो ? काठमाडौको कपन, ज्ञानेश्वर, गौशाला, चावहिल, वूढानीलकण्ठ क्षेत्रको वाटो तपाईंको कार्यकालभरी खाल्डो, हिलो र धुलोवाहेक के थियो ? कपन क्षेत्रमा वर्षामा हिलोले र हिउँदमा धुलोले वस्न टिक्न नसक्ने अवस्था कसले वनाएको हो ? यो क्षेत्र धुलोको ग्यास चेम्वरमा परिणत हुँदा तपाईं कता जानुभयो ? राजधानी शहरलाई विगत अवधीमा अस्तव्यस्त वनाउने तपाईं समेतका कांग्रेस उम्मेदवारलाई जनताले किन मत दिने ? आफू निर्वाचित राजधानी सहरलाई धुलोमाडौंमा परिणत गर्नेले अरु जिल्लामा प्रश्न गर्न मिल्छ ?

२.    तपाईंले कांग्रेस धनीमानीको पार्टी भएको र गरिव सुकुम्वासीले सूर्यमा झ्याम झ्याम मतदान गरे हुन्छ, तपाईंहरुको मत रुखमा चाहिंदैन भन्नु भएको छ । काठमाडौको क्षेत्र नम्वर ४ को कपनमा सुकुम्वासीको वस्ती छ । के संविधानले गरिव र सुकुम्वासीप्रति राज्यको कुनै कर्तव्य पालना गर्नु पर्दैन ? तपार्इंको क्षेत्रका हजारौं संख्याका शहरी गरिव र सुकुम्वासीलाई कांग्रेसले काठमाडौंवाट हटाउन चाहेको हो ?

३.    तपाईंले केहि मिडिया मार्फत स्वास्थ्य वीमाको जननी आफैं भएको प्रचार गराईरहनु भएको रहेछ । यो कुरा तपाईंको चुनावी भाषणमा समेत छ । तपार्इं २०७३ भाद्रमा मात्र स्वास्थ्य मन्त्री हुनुभयो । तर स्वास्थ्य वीमा गर्ने संस्थाको स्थापना २०७० फागुनमा नै भयो । स्वास्थ्य वीमा नीति स्वास्थ्यमन्त्री खगराज अधिकारीको समयमा २०७१ जेठमा आयो । नेकपा एमालेको केपी ओली सरकारले २०७३ जेष्ठ १५ गते ल्याएको वजेटमा स्वास्थ्य कार्यक्रमलाई २५ जिल्लामा विस्तार गर्ने र तीन वर्ष भित्र देशभर लागू गर्ने घोषणा भएको थियो । त्यसपछि तपाईं मन्त्री हुनुभयो । तपाईंको कार्यकालमा स्वास्थ्य वीमा ऐन पारित भएन । एमालेले २५ जिल्लामा विस्तार गर्ने भनेको कार्यक्रमलाई तीन जिल्लामा मात्र सिमित गरिदिनु भयो । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको समयमा मात्र ऐन पारित भयो । यी कुरा स्वास्थ्य मन्त्रालयको वेवसाईटमा हेर्न सकिन्छ । अव भन्नुस् तपाईं स्वास्थ्य वीमाको जनक वा जननी कहिले र कसरी हुनुभयो ?

४.    तपाईंले मिर्गौला रोगको उपचार निशुल्क गर्ने कुराको थालनी आफूले गरेको भनी प्रचार गराउनु भएको छ । मिर्गौलाको प्रत्यारोपण नभए सम्म डाइलेसिस निशुल्क गर्ने घोषणा २०७३ श्रावण पहिलो साता वसेको केपी शर्मा ओली सरकारले गरेको हो । सो कुरा त्यस वखत सवै मिडियामा आएको छ र मन्त्रालयको वेवसाईटमा २०७३ साउन ४ गतेको मितिमा कुन कुन अस्पतालले सो सेवा निशुल्क दिने हो भनी राखिएको छ । अव तपाईं त्यसको एक महिना पछि नियुक्त मन्त्रीले मैले नै सो कार्य थालनी गरेको भनी दावी गर्न मिल्छ ?

५.    तपाईंले मन्त्री हुनु भन्दा केहि दिन अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन अध्यक्ष लोकमानसिंह कार्की विरुद्ध केहि मिडियामा पपुलारिटीको लागि वोल्नुभयो । मिडिया मार्फत तपाईं महान व्यक्ति भएको प्रचार गराउनु भयो । तर दुर्भाग्य जतिवेला एमाले र माओवादीले अख्तियार प्रमुख कार्की विरुद्ध महाअभियोग प्रस्ताव पेश गरे तव मन्त्री पदसँग तपाईंले निष्ठा किन साट्नुभयो ? किन मन्त्री भएपछि महाअभियोगको पक्षमा तपार्इं उभिनु भएन ? लोकमानको नियुक्तिलाई सर्वाेच्च अदालतले गैरकानुनी ठहर गरेपछि तपाईंको पार्टी प्रधानन्यायाधीश विरुद्ध महाभियोग दर्ता गर्न पुग्यो । तपाईं किन मौन वस्नु भयो ? यसले तपाईको कथनी र करणी वीचमा आकाश पातालको भिन्नता देखिंदैन ?

६.    तपार्इं मन्त्री पदमा रहंदा नै नेपालको इतिहासमा एक मात्र महिला प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध तपाईंको पार्टीले  महाअभियोग लगायो । तपाईंले सो महाअभियोगको विरुद्धमा सशक्त आवाज उठाउने अपेक्षा आम जनताको थियो । तर आदर्श र निष्ठा सवै नै मन्त्री पदसँग सौदा भएको हुँदा तपाईंले केही वोल्न सक्नु भएन । तपाईं आफूलाई योग्य उम्मेदवार ठान्नुहुन्छ तर तपाईंलाई दिएको मत तपाईंको पार्टी मार्फत हामीले किन दुरुपयोग गर्ने ? भाषणकला बाहेक शेरबहादुर देउवा र तपाईंमा नीति र कार्यक्रमगत के भिन्नता छन् गगनजी ?

७.    २०७२ असोज महिनामा नेपालको संविधान जारी भएपछि प्रत्येक दिनजसो मिडियामा तपाईंका अन्तरवार्ता आउँथे । नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोईरालाको नेतृत्वमा सरकार थियो । भारतले संविधान विरुद्ध नाकावन्दी लगायो । तपाईं लगायत तपाईंको दल एमालेले लतारेपछि मात्र संविधान बनाउन राजी हुनुभयो । संविधान जारी गर्न अग्रसरता लिएवापत भारतले एमाले अध्यक्ष केपी ओली विरुद्ध खुवै तिकडमबाजी गर्यो । संविधान जारी गरेको जस आफू लिंदै, संविधान जारी गर्न अगुवाई गर्ने त्यहि केपी ओली हो भन्दै ओलीलाई मधेस विरोधी बिल्ला भिराउनुभयो । आफू नगर्ने, नगरेको कामको जस लिने, तर, गरेवापतको अपजस ओलीको टाउकोमा थोपर्ने तपाईंको पार्टीलाई संविधान जारी गर्ने प्रक्रियाको विरोधी भन्न मिल्छ कि मिल्दैन ? त्यसबेला एमालेले सवै दल मिलेर नाकावन्दीको सामाना गर्ने प्रस्ताव गरेको थियो । तर तपाईंले एमाले र नेपाली कांग्रेस मिल्नै हुँदैन, ठूला दल मिल्यो भने लोकतन्त्र कमजोर हुन्छ भनी नाकावन्दीको समयमा मुलुकभित्र दलीय विभाजनको वकालत गर्नु भएको थियो । गगनजी म तपाईंलाई ती अन्तरवार्ता फेरि सुन्न अनुरोध गर्दछु । र प्रश्न गर्न चाहान्छु– नाकावन्दीलाई कसिलो वनाउने हिसावले तपाईंले दलहरु विभाजन गर्न उक्साउने काम किन गर्नु भयो ?

मानिसको परीक्षा त्यसवखत हुन्छ जव उ पदमा पुग्दछ । तपाईंले आफ्ना मतदाताका मनमा आएका यी प्रश्नहरुलाई शान्त गर्नुहोला भन्ने अपेक्षा गरेको छु ।  धन्यवाद ।


(काठमाडौं क्षेत्र नं ४ चावहिल निवासी बडाल अधिवक्ता हुन्) 

सभार चक्रपथ डट्कम

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Chuda Mani Acharya

    ठीकै भन्नुभयो ;फरक छैन किन कि दुवैलाई भोट दिने हो भने रूखमा नै छाप हान्नु पर्छ & दुवै नेपाली काँग्रेसका उम्मेदवार , लोकतन्त्रका पक्षधर एवं गणतन्त्रका लागि संघर्ष गरेका नेताहरू हुन् ।

    Comment Author

    Maheshwor KC

    फट्टाई व़ा गलत प्रचार गर्दैमा अब जनता झुक्किदैन मित्र!!!

    Comment Author

    Raju Budathoki Budathoki

    yaso. vaya. depak. manange. lai. vote. dinu ra. k. p. oli. lai. dinu. ustee. ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?