गुठीको आम्दानीबाट पूजा सञ्चालन गर्न समस्या
सारांश
- राजगुठीका जग्गा अतिक्रमण हुने, गुठी जग्गामा खेतीबाली ठेक्कामा नलाग्ने, लागे पनि ठेक नतिर्नेजस्ता समस्या समाधान गर्न गुठी संस्थानको टाउको दुखाईको विषय बन्दै गएको छ ।
- गुठीका जग्गा कति अतिक्रमण भयो भन्ने यकिन जानकारी स्वयं संस्थानले अद्यावधिक भने गरेको छैन ।
- अर्काेतर्फ गुठीको आम्दानीबाट पर्वपूजा, जात्रा, यात्रा साथै देवस्थलका महन्त, पूजारी कामदारलाई खर्च भुक्तानी दिनसमेत नपुग्ने अवस्था बन्दै गएको छ ।
राजगुठीका जग्गा अतिक्रमण हुने, गुठी जग्गामा खेतीबाली ठेक्कामा नलाग्ने, लागे पनि ठेक नतिर्नेजस्ता समस्या समाधान गर्न गुठी संस्थानको टाउको दुखाईको विषय बन्दै गएको छ ।
गुठीका जग्गा कति अतिक्रमण भयो भन्ने यकिन जानकारी स्वयं संस्थानले अद्यावधिक भने गरेको छैन । अर्काेतर्फ गुठीको आम्दानीबाट पर्वपूजा, जात्रा, यात्रा साथै देवस्थलका महन्त, पूजारी कामदारलाई खर्च भुक्तानी दिनसमेत नपुग्ने अवस्था बन्दै गएको छ ।
संस्थानको ५४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार संस्थानका कूल प्रशासिनक खर्च रु १२ करोडमध्ये रु छ करोड कर्मचारी निवृत्तीभरणमा मात्र खर्च हुने गर्छ ।
चालू आवमा संस्थानले कूल रु ५८ करोड ६७ लाख आय गर्ने अनुमान लगाएको छ । संस्थानका प्रमुख प्रशासक नारायण चौधरीले संस्थानको अक्षयकोषमा रु दुई अर्ब १० करोड र पेन्सन उपदान कोषमा रु ४० करोड रहेको जानकारी दिनुभयो ।
उहाँले परिवर्तित अवस्थामा संस्थानको आर्थिक पक्षलाई बलियो बनाउन र संस्थानअन्तर्गतका जमिन संरक्षण गर्न प्राथमिकता दिएको बताउनुभयो ।
रक्षा मन्त्री भीमसेनदास प्रधानले सो अवसरमा धार्मिक, सामाजिक, सांस्कृतिक एवं परोपकारी कार्यमा संस्थानले गरेका कार्य महत्वपूर्ण रहेको चर्चा गर्दै संस्थानको आर्थिक पक्षलाई बालियो बनाउन सरकारले ध्यान दिनेछ भन्नुभयो ।
उहाँले आगामी प्रतिनिधि सभा÷प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको उल्लेख गर्दै निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो । विसं २०२१ कात्तिक १७ गते संस्थानको स्थापना भएको थियो ।
प्रतिक्रिया