गृहमन्त्री थापाले भने, ‘बोक्सीको आरोपमा कुट्नेलाई कडा कार्वाही गर्छु’- संसदमा पनि कुरा उठ्यो
सारांश
- काठमाडौं, २७ फागुन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् ।
- आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
- तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ)ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।
काठमाडौं, २७ फागुन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ)ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।
कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो ।
‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’
यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए ।
विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् ।
घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि
बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् ।
उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् ।
बोर्डको अध्यक्ष ममताप्रसाद आफैं छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् ।
प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा : मिलापत्र गराउनेलाई कारबाही होस्
बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो ।
खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे ।
घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ ।
यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’
पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् ।
सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् ।
‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ ।
समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’
सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् ।
Shanta Giri
त्यो झाँक्रीलाई २० लाख जरवाना र क्षतिपुर्ति सहित ५ वर्ष कडा जेल सजाय हुनु पर्छ ।
Sundar Tangbe
Karbahi garera dekhaunu mantri jyu bhanera hudaina garera balla junta Le bishwas garxa