गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन

सारांश

  • ७ कात्तिक, गोरखा ।
  • ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेझैं गोरखामा चुनावी माहोल गर्माए पनि भूकम्पपीडितमा कुनै रौनक छैन ।
  • प्रतिनिधि सभा र प्रदेश सभाको यो महत्वपूर्ण निर्वाचन भए पनि उनीहरुमा कुनै उत्साह देखिँदैन ।

७ कात्तिक, गोरखा । ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भनेझैं गोरखामा चुनावी माहोल गर्माए पनि भूकम्पपीडितमा कुनै रौनक छैन । प्रतिनिधि सभा र प्रदेश सभाको यो महत्वपूर्ण निर्वाचन भए पनि उनीहरुमा कुनै उत्साह देखिँदैन ।

भूकम्पले भत्किएको घर कसरी पुनर्निर्माण गर्ने भन्ने चिन्ताले उनीहरु चाहेर पनि चुनावी माहोलमा रमाउन सकेका छैनन् । भूकम्प गएको २९ महिना बितिसक्दा पनि त्यतिबेला भत्किएका अधिकांश पीडितका घर ठडिन सकेका छैनन् । आर्थिक अवस्था कमजोर भएकै कारण ग्रामीण भेगका अधिकांश पीडितले घर बनाउन सकेका छैनन् ।

चुमनुव्री गाउँपालिका-६ चुम्चेतका पीडितहरु भने प्राविधिकको पर्खाइमा बसिरहेका छन् । भूकम्पपछि अनुदान सम्झौताका लागि एक पटक मात्र प्राविधिक भेटेका चुम्चेतका पीडितहरुले त्यसयता उनीहरुको मुख पनि देख्न पाएका छैनन् । प्राविधिक अभावका कारण उनीहरुले भत्किएको घर पुनर्निर्माण गर्न सकेका छैनन् ।

‘सरकारले भनेअनुसार घर बनाउनुपर्छ रे, कस्तो बनाउनु पर्ने हो थाहा छैन । प्राविधिक पनि आउँदैनन्, कसलाई सोध्नु ?’ स्थानीय कर्मा लामाले गुनासो गरे । आफूखुशी घर बनाउँदा अनुदान रकम नपाइने चिन्ता रहेको उनले बताए ।

अढाइ सय घरधुरी रहेको चुम्चेतमा सबै पीडित महिनौंदेखि प्राविधिकको बाटो हेर्दै बसेका छन् । प्राविधिक झुल्किने आशा पूरा नहुँदा अस्थायी टहराकै कष्टकर जीवन बाध्यता बनेको छ, उनीहरुका लागि ।

अधिकांश पीडितले काठ र ढुंगा जम्मा गरिसकेका छन् । स्थानीय पासाङ लामाले भने, ‘तर, प्राविधिक आउँदैनन्, घर बनाउने कहिले हो कहिले !’

सरकारले अनुदान रकम लिने समय सीमा भने तोकिसकेको छ । घर निर्माण सुरु नै नभएका कारण उनीहरु सरकारी अनुदानबाट छुट्ने चिन्तामा छन् ।

स्थानीय शेराप गुरुङको भनाइमा अन्य ठाउँमा घर बनिसकेको देख्दा मन खिन्न हुन्छ । ‘हामीलाई सरकारले वास्ता नै गरेन,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?