Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • २४ जेठ, काठमाडौं ।
  • चौथोपटक मुलुकको प्रधानमन्त्री बनेर सिंहदरवार प्रवेश गर्दागर्दै शेरबहादुर देउवाका विगतका तीनवटै कार्यकाल बिर्सन लायक छन् ।
  • चुनाव गराउन नसकेको भनेर असक्षम घोषित भई अपदस्थ बनेको विगतले उनलाई सधैं लखेटिरहन्छ ।

२४ जेठ, काठमाडौं । चौथोपटक मुलुकको प्रधानमन्त्री बनेर सिंहदरवार प्रवेश गर्दागर्दै शेरबहादुर देउवाका विगतका तीनवटै कार्यकाल बिर्सन लायक छन् । चुनाव गराउन नसकेको भनेर असक्षम घोषित भई अपदस्थ बनेको विगतले उनलाई सधैं लखेटिरहन्छ ।

संयोग पनि कस्तो परेको छ भने, यसपटक पहिलो चरणको चुनाव सकिएर दोस्रो चरणको चुनाव गराउने जिम्मा देउवाको भागमा परेको छ । यसअघि तीनपटक मिति सरिसकेको दोस्रो चरणको चुनाव देउवाले सम्पन्न गराउन सक्नेमा उनका आलोचकहरु अझै पनि शंका गरिरहन्छन् ।

०५९ साल असोज १८ र ०६१ माघ १९ दुई पटक तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन नसकेको र राजनीतिक सहमति कायम गर्न पनि नसकेकोमा असक्षम घोषित गर्दै अपदस्थ गरिएका देउवाको सामुन्ने फेरि पनि चुनावकै चुनौति छ ।

देउवाप्रति धेरैका शंका छन् । उनको विगतले शंकाको सुविधा अवश्य दिन्छ । तर यसपटक उनले विगत बिर्साउने छन् भन्ने अपेक्षा राख्न सकिन्छ । ०५२ पहिलो पटक प्रधानमन्त्री बन्दा ४८ वर्षका थिए देउवा । चौथोपटक प्रधानमन्त्री बन्दा उनी उमेरको हिसाबले पनि ७० वर्ष पुगिसकेका छन् ।

एमालेसँगका तीतामीठा संयोग

देउवाको जीवनमा यो संयोग नै मान्नुपर्छ कि पहिलोपटक प्रधानमन्त्री बन्दा नेकपा एमालेसँग उनको तीक्त सम्बन्ध थियो । चौथोपटक प्रधानमन्त्री बन्दा पनि एमालेसँग उनको सम्बन्ध निकै कटुतापूर्ण अवस्थामा छ । ०५२ सालमा हेलिकोप्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष मनमोहन अधिकारी शिक्षण अस्पतालको आइसीयुमा थिए । कांग्रेसले अधिकारी विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको थियो ।

एमालेले त्यो बेलाका सभामुख रामचन्द्र पौडेल र प्रधानमन्त्रीका दाबेदार शेरबहादुर देउवासँग आइसीयुबाट अधिकारीले जवाफ दिन नसक्ने भन्दै केही दिन पर्खिन आग्रह गरेको थियो । तर, देउवाले एक दिन पनि पर्खिन मानेनन् तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले मनमोहन अधिकारीको तर्फबाट संसदको रोष्टममा उभिएर दिनुपर्ने जवाफ अस्पतालको बेडबाटै दिनुपरेको थियो ।

अहिले पनि परिस्थिति करिव-करिव त्यस्तै तिक्ततापूर्ण अवस्थामा छ । एमालेले संसद अवरोधको अवस्थामा सूचना टाँसेर प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि नबढाउन सत्तापक्ष र सभामुख ओनसरी घर्तीलाई आग्रह गरेको थियो । तर, देउवाले एक दिन पनि कुर्न मानेनन् । तीक्ततापूर्ण अवस्थामै देउवा प्रधानमन्त्री बने ।
देउवाको पहिलो र चौथो इनिङ जसरी एमालेसँगको तिक्तताबाट शुरु भयो, त्यसै गरी दोस्रो र तेस्रो इनिङमा उनी एमालेको रुचीका पात्र पनि थिए भन्ने इतिहास पनि भूल्न हुन्न । गिरिजाप्रसाद कोइरालासँगको लडाईमा एमालेले कांग्रेसभित्रै खेलेर दुई पटक शेरवहादुरलाई प्रधानमन्त्री बन्न सघाएको हो ।

त्यस्तै ०५३ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला निकट आफ्नै पार्टीका दुई सांसद संसदमा अनुपस्थित भएपछि प्रधानमन्त्री पद गुमाएका देउवाको सम्बन्ध त्यसपछि एमालेसँग सुधि्रएको थियो । तर, त्यो संसदको कार्यकालभरि देउवा दोस्रो पटक प्रधानमन्त्री बन्न पाएनन् ।

कांग्रेसले ०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव लड्यो । वामदेव गौतमले एमाले फुटाएर माले बनाएकाले कांग्रेसले बहुमत पायो । किसुजी प्रधानमन्त्री त बने तर ९ महिना नपुग्दै संसदमा आँशु झारेर उनले राजीनामा दिनुपर्‍यो ।

एमालेले लाउडा विमान प्रकरणमा गिरिजाले भ्रष्टाचार गरेको भन्दै लगातार ५७ दिन संसद अवरुद्ध गर्‍यो । सडकमा ठूलो आन्दोलन भयो र केही मान्छे मारिए । त्यहीबेला जेठ १९ गते दरबार हत्याकाण्डपछि राजनीति अर्को बाटोमा गयो ।

एमालेको आन्दोलन, सदन अवरोध, होलेरीमा माओवादी विरुद्ध सेना परिचालित हुन नमानेपछि गिरिजाप्रसाद राजीनामा दिन बाध्य भए र एमालेको रुचीमा देउवा प्रधानमन्त्री भएका थिए । त्योबेला प्रधानमन्त्री हुनुअघि नै देउवा र एमालेबीच लिखित सम्झौता भएको थियो ।

कांग्रेसको स्पष्ट बहुमत हुँदाहुँदै पनि उनले एमालेसँग लिखित सम्झौता गर्नु निकै अर्थपूर्ण थियो । उनले प्रधानमन्त्री भए लगत्तै एमालेसँगको लिखित सम्झौता बमोजिम कमैया मुक्ति, भूमिसुधार लगायतका केही प्रगतिशील निर्णयहरु गरेका थिए ।

महाकाली सन्धी प्रकरण

अस्पतालको आइसियुबाटै मनमोहन अधिकारीलाई हटाएर आफू प्रधानमन्त्री भएका देउवाले विवादास्पद महाकाली सन्धी गर्ने बेला एमालेलाई आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । जुन सन्धी २०५४ सालमा एमाले बिभाजनको बिउ समेत बन्यो ।

महाकाली सन्धी पारित गर्ने सन्दर्भमा एमाले शुरुमा विपक्षमा थियो । तर देउवाले भारतका उच्च अधिकारीहरु समेत लगाएर एमालेलाई सन्धीको पक्षमा उभ्याए । पन्चेश्वर परियोजनामा नेपालले लाभ लिन सक्ने बुँदा देखाएर एमाले बैठकमा छलफल हुँदा केन्द्रीय कमिटी बैठकमा मतदान भयो । बहुमतले महाकाली सन्धीको पक्षमा मतदान गर्ने निर्णय भयो ।

प्रजातन्त्र दरबारमा बुझाएको आरोप

देउवाले प्रधानमन्त्री भएकै बेला कांग्रेस पार्टी फुटाए । ०५४ सालमा निर्वाचित स्थानीय निकायका पदाधिकारीहरुको म्याद ०५९ जेठमा सकियो । उनले न त स्थानीय निकाय चुनाव गरे, न पदाधिकारीको म्याद थपे । बरु संसदसमेत विघटन गरेर देशलाई जनप्रतिनिधि विहीन बनाउने काम गरे उनले ।

अन्ततः ०५९ असोज १८ गते चुनाव गराउन नसकेको भन्दै असक्षम घोषणा गरेर देउवालाई राजाले अपदस्थ गरेका थिए । त्यहीँदेखि कांग्रेसले देउवालाई प्रजातन्त्र दरबारमा बुझाउने खलनायकको उपलब्धि दिएको थियो ।

राजाबाट अपदस्थ भएका देउवा फेरि राजाकै निगाहमा ०६१ साउनमा तेस्रोपटक प्रधानमन्त्री बनेका थिए । उनले त्यतिबेला गोरखाका ठकुरी राजाबाट आफूले न्याय पाएको बयान पनि दिए । त्योबेला प्रतिगमन आधा सच्चिएको भन्दै एमाले पनि देउवाको सहयोगी बन्यो । कांग्रेस सडक आन्दोलनमै थियो ।

तेस्रोपटक प्रधानमन्त्री बनेको सात महिना नपुग्दै देउवालाई दोस्रो पटक राजाले अपदस्थ गरेर राजनीतिक ‘कु’ गरेका थिए । राजाले देउवालाई दोस्रो पटक अपदस्थ मात्र गरेनन्, उनलाई शाही आयोग खडा गरेर भ्रष्टाचार मुद्दामा जेल समेत पठाए । उनलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको अभियोग लगाइएको थियो ।

राजाबाट दुःख पाउने बीपी कि देउवा ?

राजाबाट सबैभन्दा दुःख पाएका कांग्रेस नेतामा वीपी कोइरालापछि शेरबहादुर देउवा हुन् भन्छन् कांग्रेसजन । वीपी राजाबाट एकपटकमात्र अपस्थ भए तर देउवा दुई पटक भए । वीपीलाई राजवन्दीमात्र बनाइयो, देउवालाई दरबारले भ्रष्टाचारको अभियोगमा बन्दी बनायो ।

कांग्रेसजनले देउवालाई वीपीसँग तुलना गरे पनि वीपी राजाबाट कहिल्यै प्रयोग भएनन् । उनले राजासँग संघर्ष गरे । देउवाले राजासँग सधैं सम्झौता गरे । एकपटक अपमानजनक रुपमा अपदस्थ भएर पनि उनले चेतेनन् । बरु दोस्रो पटक पुनः तीनै राजाले दिएको प्रधानमन्त्री पद खान पाएपछि-गोरखाका राजाले न्याय दिए भने ।

वीपीले प्रजातन्त्र राजाबाट जोगाउन खोजेका थिए । तर, देउवाले प्रजातन्त्र अर्थात अचेलको लोकतन्त्रलाई राजाको पाउमा बुझाएकै हुन् । सत्ता मातले उनलाई यति उन्मत्त बनाएको थियो, नेपाली कांग्रेस फुटाउने दरबारको मतियार बन्न तयार भए तर गिरिजाप्रसाद कोइरालासँग सम्झौता गरेनन् । त्यो उनको ऐतिहासिक भूल थियो ।

प्रयोगवादी पात्र

समग्रमा देउवा प्रयोग गर्न सजिलो पात्र हुन् । उनलाई गृहमन्त्री भए लगत्तैदेखि दरबारियाले प्रयोग गरे । कुनै बेला अमेरिकी एजेन्सीहरुले पनि प्रयोग गरे । आरजु राणासँगको वैवाहिक सम्बन्ध त्यसैको प्रभाव हो भन्नेहरु पनि छन् । कुनै बेला उनलाई राजाले प्रयोग गरे भने बेला बेलामा एमालेले पनि प्रयोग गरेकै हो ।

माओवादीबाट पनि उनी प्रयोग भएका पात्र हुन् । कुनैबेला प्रचण्ड र बाबुरामसहित माओवादी नेताहरुको टाउकोको मूल्य तोक्ने देउवा नै थिए । तर, माओवादीले पछिल्लो शान्ति प्रक्रियाभन्दा अगाडिसम्म गिरिजाभन्दा देउवालाई नै नरम ठान्थे । सत्ताका लागि जोसँग, जुनसुकै मूल्यमा पनि सम्झौता गर्न तत्पर रहने देउवाको उदार स्वाभावले उनी सबैबाट प्रयोग हुने पात्र बनेका हुन् ।

सत्ता राजनीतिमा देउवाजति सजिलो, उदार र प्रयोगवादी पात्र सायद अरु कमै भेटिन्छन् । ०५२ मा पहिलोपटक प्रधानमन्त्री भएपछि उनले आफ्नो उदार चरित्र पुष्टि गरे । त्यसअघि उनलाई गृहमन्त्रीका रुपमा एमालेले निकै कडा र अनुदार पात्रका रुपमा चित्रण गरिरहेको थियो ।

उनले विभिन्न चरित्रका राजनीतिक पात्रहरुलाई मिलाएर संयुक्त सरकार चलाएका थिए । भलै नेपालको बहुदलीय राजनीतिमा उनको त्यहि कार्यकाल इतिहासकै सबैभन्दा बद्नाम समयका रुपमा चित्रित बन्यो ।

सुरासुन्दरी, प्राडो पजेरोको कालो धब्बा

गिरिजाप्रसाद कोइरालाले ०५१ सालमा कांग्रेसको बहुमत हुँदाहुँदै गणेशमान र कृष्णप्रसाद भट्टराईले दुःख दिए भनेर दुई बहुमत ल्याउँछु भन्दै मध्यावधि चुनाव घोषणा गरेका थिए । तर, परिणाम उल्टो भयो । एमाले ८८ सिटसहित पहिलो पार्टी र कांग्रेस ८२ सीटसहित दोस्रो बन्यो ।

गिरिजाप्रसाद नैतिकरुपमा संसदीय दलको नेता बन्न नसकेपछि देउवाको भागमा आइलागेको थियो त्यो पद । एमालेको लोकपि्रय ९ महिने अल्पमतको सरकार ढालेर कांग्रेसले सत्ता हातमा लिएको थियो ।

त्यसबेला पञ्चायतको राजनीति गरेर भर्खर बहुदलीय राजनीतिमा आएका पञ्चहरुको पार्टी राप्रपा सत्ताकै लागि अनैतिक रुपमा प्रयोग हुन थाल्यो ।

आफ्नै सरकारमा रहेका मन्त्रीहरु नै एमालेसँग मिलेर अर्को सरकार बनाउने खेलमा लागेपछि उनले सरकार टिकाउन मन्त्रीहरुलाई रातारात बैंकक घुम्न पठाए । सांसदहरु करोड करोडमा खरिद विक्री हुन थाले । त्यहीबेला सांसदहरुलाई सुरा सुन्दरी उपलव्ध गराएर सत्ता टिकाउन खोजेको आरोप पनि लाग्यो । सांसदहरुले भन्सार छुटका गाडी ल्याएर तस्कर र ब्यापारीलाई बेचे । जसलाई प्राडो पजेरो काण्डका रुपमा अहिले पनि चर्चा गरिन्छ ।

यस्ता अनगिन्ती संसदीय विकृतिका घटना भए, जसको कालो धब्बा शेरबहादुरको निधारमा लागेको छ ।

बिगत बिर्साउने मौका

दुई पटक राजाबाट अपदस्थ भएका देउवा गणतन्त्र नेपालमा पहिलोपटक प्रधानमन्त्री बन्न पाएका छन् १२ वर्षपछि । देउवाका लागि प्रधानमन्त्री पद नयाँ होइन । उनका लागि यो नै अन्तिम अवसर पनि होइन । कांग्रेस पार्टीको लगाम हातमा लिएका देउवा फेरि पनि पाँचौं पटक प्रधानमन्त्री बन्न सक्ने पात्र हुन् ।

देउवाका विगत बिर्सेर यसपटक सबैले गरेको अपेक्षा भनेको, अब उनले राम्रो कामको छाप छाडुन् । जसरी प्रचण्डले सम्झन लायक केही काम गरेर आफ्नो दोस्रो कार्यकाल सफलतापूर्वक हस्तान्तरण गरे, त्यसैगरी देउवाले यसपटक आफ्नै विगत बिर्साउने अवसर पाएका छन् ।

दोस्रो चरणको स्थानीय निर्वाचन निष्पक्ष ढंगलले सम्पन्न गर्दै बाँकी रहेका प्रदेश र संघीय संसदको चुनावतर्फ मुलुकलाई लैजाने र संविधान कार्यान्वयन गराउने काममा सफलता पाए भने देउवाको विगत कोट्याउनुपर्ने छैन । उनले अरु सम्झनलायक धेरै केही काम गर्नुपर्दैन र उनीबाट त्यस्तो अपेक्षा पनि खासै गर्न सकिँदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
अाेली–दाहालकाे कार्यक्रमस्थल नजिकै बम विस्फोट
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
रोजगारी र उत्पादनसँग जोडिने गरी शैक्षिक कार्यक्रम सञ्चालनमा जोड : डा भट्टराई
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन
राजपाको कोर्स करेक्सन : संविधान संशोधन होइन प्रभावकारी कार्यान्वयन
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी अख्तियारकाे फन्दामा
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
नेपाल टेलिकमको चुनाव लक्षित योजना ४९ रुपैयाँमा अनलिमिटेड डाटा र कल
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
शाखा कार्यालयनै स्थापना गरेर ठगि, सञ्चालक भने फरार
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
एक क्विन्टल सुन बरामद हुँदा भन्सार र प्रहरी प्रमुख विदामा बस्नु संयोग मात्र हो?
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल
प्रधानमन्त्रीको भनाइले धार्मिक सहिष्णुतामा खलल ल्याउन सक्छः जितेन्द्र सोनल

तपाईंले छुटाउनुभयो कि?