गोरखाको धार्चे गाउँपालिकामा मौसमी रुघाखोकी , स्वास्थ्य संस्थामा औषधि अभाव
सारांश
- गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँमा मौसमी रुघाखोकी फैलिएको छ ।
- तर केही दिनदेखि भाइरल ज्वरो फैलिए पनि बिरामीले उपचार पाउन नसकेका स्थानीय बासिन्दाले बताएका छन् ।
- यो गाउँपालिका–५ अर्थात साबिकको गुम्दा गाविसका विभिन्न गाउँमा मौसमी रुघाखोकी फैलिएको हो ।
गोरखाको धार्चे गाउँपालिकाका विभिन्न गाउँमा मौसमी रुघाखोकी फैलिएको छ । तर केही दिनदेखि भाइरल ज्वरो फैलिए पनि बिरामीले उपचार पाउन नसकेका स्थानीय बासिन्दाले बताएका छन् ।
यो गाउँपालिका–५ अर्थात साबिकको गुम्दा गाविसका विभिन्न गाउँमा मौसमी रुघाखोकी फैलिएको हो । गुम्दाको सिङला, गुम्दागाउँ, यमगाउँ र लप्सीबोटमा केही दिनदेखि रुघाखोकी र ज्वरो फैलिएको गाउँपालिका प्रमुख सन्तोष गुरुङले पनि पुष्टि गर्नुभयो ।
महामारीकै रुप नलिए पनि रुघाखोकी र ज्वरोका बिरामी बढेको जानकारी आएको अहिले काठमाडौंमा रहनुभएका गुरुङको भनाई छ । स्थानीय स्वास्थ्य संस्थामा औषधिको अभाव भएको पनि उहाँले स्वीकार गर्नुभयो ।
कार्यकारी अधिकृतको सरुवा भएकाले औषधि खरीद प्रक्रिया अघि बढाउन नसकेको बताउँदै गाउँपालिका प्रमुख गुरुङले तत्काल औषधिको व्यवस्थापन हुने बताउनुभयो ।
स्वास्थ्य चौकी इन्चार्ज दिलप्रसाद गुरुङलाई जसरी भएपनि औषधिको व्यवस्था गर्न निर्देशन दिएको उहाँले बताउनुभयो । यसअघि गुम्दा नजिकैको लापु गाउँमा पनि भाइरल ज्वरोको प्रकोप फैलिएको थियो ।
प्रतिक्रिया