चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
४८ पटक हेरिएको
Shares
चुनावी गतिविधिले आर्थिक कारोबारमा वृद्धि

सारांश

  • २५ कात्तिक, तेह्रथुम ।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ ।
  • गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ ।

२५ कात्तिक, तेह्रथुम । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी छलफल, बहस र चर्चा ह्वात्तै बढेको छ । गाउँ–गाउँदेखि सदरमुकामसम्म चुनावकै विषयमा छलफल हुन थालेको छ ।

उम्मेदवारहरु प्रचारप्रसारका लागि गाउँ पसेका छन् । उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रमलाई अभियानकै रुपमा अगाडी बढाउँदै लगेका छन् । चुनावी गतिविधिका कारण स्थानीय बजारमा व्यापारिक चहलपहलसमेत वृद्धि भएको छ । मानिसहरुको आवतजावत बढेपछि दैनिक कारोबारमासमेत वृद्धि भएको यहाँका व्यापारी बताउँछन् ।

दशैँ तिहारपछि प्रायः सुनसान बनेका बजारमा अहिले नेता कार्यकर्ताको उपस्थितिले चहलपहल बढेको छ । बजारका स–साना चिया पसलदेखि ठूला होटलसम्ममा नेता कार्यकर्ताको जमघट हुने गरेकोे छ ।

चुनावका कारण आर्थिक गतिविधि वृद्धि भएपछि व्यवसायीहरु उत्साहित भएका छन् । राजनीतिक दलका बैठक, सभा, कोठे तथा होटलमा हुने छलफलजस्ता गतिविधि बाक्लिएपछि बजारमा आर्थिक कारोबारमा वृद्धि भएको तेह्रथुम उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष महेन्द्रप्रसाद काफ्लेले बताए । वडा तहदेखि गाउँपालिका हुँदै नगरक्षेत्रसम्म नै दलका उम्मेदवारहरु आफ्ना एजेण्डाहरु सुनाउँदै घरदैलो गर्दैछन् ।

“नेता कार्यकर्ताको उपस्थितिले दुर्गम गाउँका टुक्रे बजारमा समेत व्यापार बढेको छ”, काफ्लेले भन्नुभयो । चुनावी अभियान बढेसँगै ग्रामीण क्षेत्रका सामान्य होटल, किराना पसल, सहकारी, बैंक, यातायात व्यवसायी, ब्यानर छपाइ, इन्धन बिक्री, खसी तथा कुखुरापालक किसानलगायतको व्यापार बढेको व्यवसायी बताउँछन् । जिल्लामा मुख्य प्रतिस्पर्धी वाम गठबन्धन र नेपाली काँग्रेसका दैनिकजसो चुनावी कार्यक्रम भइरहेका छन् ।

अन्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल, राप्रपा प्रजातान्त्रिकलगायत दलले पनि दैनिक चुनावी प्रचारका कार्यक्रम गरिरहेका छन् । त्यस्ता कार्यक्रम लिएर उम्मेदवारहरु दुर्गम गाउँका चोक–चोकसम्म पुगेका छन् । यसरी गाउँसम्म पुगेका दलका नेता कार्यकर्ताले खाँदा, हिँड्दा गाउँका साना व्यवसायीको समेत व्यापार बढेको छ । चुनावमा आफ्नो पक्षमा बढीभन्दा बढी मत पार्नका लागि पनि नेताहरुले यो बेला बढी खर्च गर्ने गरेका छन् ।

चुनावी कार्यक्रमकै कारण गाउँको साग, आलु, दूध, दही, अण्डा, घिउ, कुखुरा, खसी, चामललगायतको व्यापार वृद्धि भएको आठराई गाउँपालिका–२, खाम्लालुङकी सिर्जना लामा फोम्बोले बताइन् । “गाउँमा चुनावी चहलपहल शुरु भएको छ”, उनले भनिन्, “धेरैले त अधिकांश दिन गाउँ डुलेरै बिताइरहेका छन् ।”

दैनिकजसो सवारी लिएर नेताहरु गाउँ डुल्न थालेपछि सवारीधनीको व्यवसाय पनि ह्वात्तै बढेको छ । बैंक, सहकारी, साहु तथा अन्य वित्तीय संस्थाबाट ऋण लिएका सवारीधनीलाई चुनावको आम्दानीले किस्ता र ब्याज बुझाउन सजिलो भएको यातायात व्यवसायी विनोद आचार्यले बताए । चुनावी चर्चाले होटलको अवस्था नै परिवर्तन हुन पुगेका उदाहरण पनि यहाँ देखिएका छन् ।
वर्षौंदेखि सदरमुकाम हुँदा अड्किएको अधिकार सबै गाउँमा गएपछि गाउँमा यसै पनि व्यापारिक चहल पहल बढेको थियो । अहिले चुनावी कार्यक्रमले झनै कारोबार वृद्धि गराएको फेदाप गाउँपालिका–१, सिम्लेका होटल व्यवसायी प्रदीप चौलागाईंले बताए । उनले भर्खरै खोलेको आठराई होटल एण्ड लजमा अहिले दैनिक विविध प्रकारका रक्सी, खाजा नास्ता तथा पेय पदार्थको व्यापार बढेको छ ।

बजार क्षेत्रका होटलमा समेत नेता कार्यकर्ताको भीडभाड बढेकाले कारोबार वृद्धि भएको छ । होटलमा नेता कार्यकर्ताको चहलपहल बढेपछि कारोबार पनि वृद्धि भएको देउराली होटल एण्ड लजका सञ्चालक चेतन सुवेदीले बताए । होटलमा मासु खाना, पेय पदार्थ तथा मादक पदार्थसमेतको कारोबार निकै बढेको उनको भनाइ छ ।

म्याङ्लुङ, जिरीखिम्ती, वसन्तपुर, शुक्रबारे र सक्रान्तिका होटलमा पनि अहिले नेता कार्यकर्ताको भीडभाड छ । पार्टीका कामले गाउँका नेतासमेत सदरमुकाम बसेका छन् । चुनावमा सबैभन्दा धेरै खर्च खाना, खाजा र पेय पदार्थमै हुने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
अमेरिकामा बाबुआमाको पहिचानको लागि डीएनए परिक्षण सुरु
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
लथालिंग सत्ता-विपक्षीः नेकपामा नेतैपिच्छे गुट, भागबन्डाले कांग्रेस अलपत्र
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्न महर अमेरिकातर्फ
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
नागरिकतामाथि प्रश्न उठेका अन्सारी स्वतः अध्यक्ष हुने
मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते
मनाङ जीप दुर्घटनामा इजरायली पर्यटकको मृत्यु, २ नेपालीसहित ९ विदेशी घाइते
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
देवेन्द्र पौडेलको व्यक्तिगत विचार हुनसक्छ, तर पद लेनदेनका कारण पार्टी एकता रोकिँदैन : उपप्रधानमन्त्री महरा
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
निष्पक्ष र स्वच्छ पत्रकारिता गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद
चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान
चीनले विकास गर्यो पुनःप्रयोग गर्न मिल्ने यान