गोरेको ‘इन्काउन्टर’ योजना थियो तर….(अडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २२, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २२ जेठ ।
  • महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीले सुन तस्करीका मुख्य नाईके चुडामणि उप्रेती ‘गोरे’ सहितको समुहलाई ‘फेक इन्काउन्टर’ गर्ने तयारीका साथ फिल्डमा खटिएको अनुसन्धानमा खुलेको छ।
  • महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीहरुले कुख्यात सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ पक्राउभन्दा उनी र उनको समुहको ‘फेक इन्काउन्टर’ को उद्देश्यले पूर्व गएको खुलासा भएको हो।

काठमाडाै, २२ जेठ । महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीले सुन तस्करीका मुख्य नाईके चुडामणि उप्रेती ‘गोरे’ सहितको समुहलाई ‘फेक इन्काउन्टर’ गर्ने तयारीका साथ फिल्डमा खटिएको अनुसन्धानमा खुलेको छ।

महानगरीय अपराध महाशाखाका तत्कालीन अधिकारीहरुले कुख्यात सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ पक्राउभन्दा उनी र उनको समुहको ‘फेक इन्काउन्टर’ को उद्देश्यले पूर्व गएको खुलासा भएको हो।

सुन तस्करी र सनम शाक्य हत्याको अनुसन्धान गरिरहेको समितिले बरामद गरेको टेलिफोन रेर्कडअनुसार गोरेलाई बचाउन भन्दै धरान पुगेको टोलीले त्यही रात उनी आएको भए टेकराज मल्ल, मोहन काफ्ले र कृष्ण केसीसहितलाई उर्लाबारीकै जंगलमा इन्काउन्टरको तयारी गरेको देखिएको हो। नेपालखबरमा दीपक खरेलले लेखेअनुसार समितिले बरामद गरेको तत्कालीन महाशाखा प्रमुख एसएसपी दिवेश लोहनी र डिएसपी प्रजित केसीबीच भएको टेलिफोन वार्तामा सनम शाक्यको शब बरामद गरिसकेपछि टेकराज मल्ललाई उर्लाबारी लैजाने र त्यहीँ गोरे र उनका अन्य सहयोगी बोलाएर हत्या गर्ने योजनाका विषयमा छलफल भएको छ।

नेपालखबरलाई प्राप्त अडियोमा एसएसपी लोहनी र डिएसपी केसीबीच गोली चलाउन धरान वा उर्लाबारीको कुन जंगल ठिक हुन्छ भन्ने विषयमा छलफल भएको छ। ६ मिनेट १४ सेकेण्ड लामो सो टेलिफोन वार्तामा लोहनीले केसीलाई उर्लाबारीकै जंगलमा इन्काउन्टर गर्दा उचित हुने सल्लाह दिएका छन।

काठमाडौंदेखि नै ‘टारगेट आउट’ को तयारी
तत्कालीन महाशाखा प्रमुख लोहनीले टोली धरान पठाउनु अघिदेखि नै गोरे र उनको समूहको इन्काउन्टरको योजना बनाएको देखिन्छ। उनले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई फोन गर्दा फोन डाईभर्ट भएर अतिरीक्त महानिरीक्षक बमबहादुर भण्डारी कहाँ पुगेको थियो। एआईजी भण्डारीलाइ गोरे र उनको समूहले हतियारसहित आक्रमण गर्ने सम्भावना रहेकाले आफ्नो टोली प्रतिकारको तयारीसहित खटिन लागेको लोहनीले जनाएका थिए।

तर अतिरिक्त महानिरीक्षक भण्डारीले समिति समक्ष आफू फेक इन्काउन्टरको पक्षमा नरहेको उल्लेख गरेका छन्। लोहनीले एआईजी भण्डारीलाइ विश्वस्त गराउन कोशिस गरेपनि आफू त्यसमा सहमत नभएको उल्लेख गरेका छन्। एआईजी भण्डारीले यो विषयमा थप छलफलका लागि महानिरीक्षकलाई फोन गर्न निर्देशन दिएको बताएका छन्।

अनुसन्धानमा तत्कालीन प्रहरी महानिरीक्षक अर्याल यसअघि बिदा बस्दा कहिल्यै कल डाइभर्ट नभएको तर यसपटक मात्र डाइभर्ट भएर एआईजी भण्डारीकोमा पुगेको खुलेको छ। एआइजी भण्डारी समेतले यसअघि अर्याल बिदा बस्दा आफूकहाँ कहिल्यै कल डाइभर्ट भएर नआएको समितिलाई बताएका छन्।

‘प्रहरीको इतिहासमा संगठन प्रमुखलाई गरेको फोन रेकर्ड गरेर राखिँदैन, टोली पठाउनु अघि अनुमति लिँदैदेखिका सबै कल रेर्कड भएका छन्। कहिले डाइभर्ट नहुने आईजीपीको फोन डाइभर्ट भएको छ,’ अनुसन्धान समिति सदस्यले नेपालखबरसँग भने, ‘यी यावत प्रमाणआधारमा लोहनीमाथि मुद्दा अघि बढाइएको हो।’

‘प्रहरी पोष्ट नजिकै रहँदा समेत गोरेलाई पक्राउ नगरी आफ्नै टोलीद्वारा हत्या गर्ने योजनाका पछाडि सुन तस्करीको रहस्य सार्वजनिक हुन नदिने नियत देखिन्छ। बाहिर प्रचार गरिएका हल्लाभन्दा हामीले तथ्य प्रमाण हेर्ने हो।’

लोहनीले किन बनाएनन् गोरेलाई प्रतिवादी?
समितिकाअनुसार महाशाखा प्रमुख लोहनीले आफ्नो टोलीलाई दुई फरक योजनासहित फिल्डमा खटाएका थिए। पहिलो योजना गोरेबाट रकम लिने र उनको इन्काउन्टर गर्ने थियो। दोस्रो उनलाई सहयोग गरेको देखाएर रकम हातपार्ने रहेको दाबी छ।

महाशाखाको टोलीले २०७४ फागुन १८ गते राति धरान पुगेपछि गोरेलाई बोलाउन रातभर र अर्कोदिन बिहानसम्म प्रयास गरेको थियो। काठमाडौंको टोली इटहरी आइनपुग्दै उनी भारतर्फ भागेकाले बच्न सफल भएको देखिन्छ। अर्कोतर्फ महाशाखा टोली नियन्त्रणमा रहेका टेकराज मल्लले रातिको बयानमा गोरेको सम्पर्क सुत्रको रुपमा प्रहरी अधिकारीको नाम लिएपछि टोली इन्काउन्टर गर्न हच्किएको थियो। प्रहरी नियन्त्रणमा रहेका मल्लले सुन प्रकरण र सनम शाक्य हत्याबारे गोरेले एसपी विकासराज खनाल, डिआइजी गोविन्द निरौलाबीच छलफल भएको बयान सोही रात दिएका थिए।

अन्डरकभर बार्गेनिङको अर्को पाटो
काठमाडौंबाट महाशाखाको टोली हिँडेपछि डिएसपी प्रजित केसी र सइ बालकृष्ण सञ्जेलले गोरेसँग ‘केश’ मिलाउन ‘डिल’ गरेका थिए। अन्डरकभर अप्रेसन भनिएको यो प्रकरणको घटनास्थलमा पूर्वसहमतिअनुसार रकमसहित गोरे नआएपछि उनलाई प्रतिवादी नबनाउने शर्तमा टोलीले बारम्बार कुराकानी गरेको थियो। सुन तस्करी र सनम शाक्य हत्याका विषयमा महाशाखाले अनुसन्धान गरिरहे पनि २०७४ फागुन १९ गते विराटनगरमा तयार पारिएको घटनास्थल प्रतिवेदनमा गोरेलाई प्रतिवादी बनाएका थिएनन्।

‘क्राइम सिन पनि त्यही (उर्लाबारी) हो, त्यहीँ ठिक हुन्छ, सबैलाई त्यहीँ बोलाऊ,’ लोहनीले केसीलाई भनेका छन् (सुन्नुहोस् अडियो)।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jhana Devi

    न्यायकाे बर्दि अाेढेर यस्तो कुकर्म गरेर हिड्ने तस्कर लाई कडा भन्दा कडा सजाय दिनुपर्छ ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?