घर छोडेर विकटमा खटिने प्रहरीलाई भवनको महत्व : महानिरीक्षक खनाल
सारांश
- काठमाडौं ।
- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक सुरक्षाको खातिर चुनौतिको सामना गर्दै हरप्रहर प्रहरी तैनाथ रहने बताएका छन् ।
- हर प्रहर तैनाथ रहने प्रहरी कर्मचारीहरुलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु प्रहरी संगठनको उच्च प्राथमिकता रहेको बताए ।
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नागरिक सुरक्षाको खातिर चुनौतिको सामना गर्दै हरप्रहर प्रहरी तैनाथ रहने बताएका छन् । हर प्रहर तैनाथ रहने प्रहरी कर्मचारीहरुलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु प्रहरी संगठनको उच्च प्राथमिकता रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको आवास भवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोट, अस्थायी प्रहरी पोष्ट विदुरको नवनिर्मित भवनको आइतबार उदघाटन गर्दै प्रहरी महानिरीक्षक खनालले यस्तो बताएका हुन् ।
घर परिवार छोडेर बिकटमा कार्यरत प्रहरी कर्मचारीलाई भवनको ठूलो महत्व हुने चर्चा गरे । आवासको सुविधाबाट प्रहरी कर्मचारीको उत्प्रेरणा र मनोबलमा समेत सकारात्मक प्रभाव पर्ने बताए । अपराध रोकथाम, अपराध नियन्त्रण, नागरिकको सुरक्षा जस्ता केन्द्रीय दायित्वमा प्रहरी संगठन पूर्ण प्रतिबद्ध रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले अपराधी पक्राउ गर्न प्रहरी सफल भएको दाबी गरे ।
चुनौतीका बाबजुद छिमेकी देशका प्रहरीसँग सहकार्य, इन्टरपोलको सहयोगमा समेत बाहिरी मुलुकबाट अपराधी ल्याएर कानुनी कारवाही गर्न प्रहरी सफल भएको बताए । स्थानीय सरकार र नागरिकसँग दिगो साझेदारीमार्फत शान्ति सुरक्षा कायम गर्ने अभियापाएको दाबी छ ।
३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपककुमार थापाले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखको निर्देशनलाई कार्यान्वयन गर्ने बताए । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्ववबहादुर थापाले मन्तव्य राख्दै जिल्लाको शान्ति सुरक्षामा उल्लेखनीय कार्य भएकोमा प्रहरी प्रशंसा गरे ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण कोषको सहयोगमा बनेको १२ कोठे नुवाकोटको प्रहरी आवास भवन १ करोड ७१ लाख १७ हजार रुपैयाँ खर्चेर बनेको हो । त्यसैगरी १० कोठे जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटको भवन १ करोड २८ लाख ५१ हजार रुपैयाँमा र अस्थायी प्रहरी पोष्ट १ करोड ३३ लाख ८ हजार रुपैयाँको लागतमा बनेको हो ।


प्रतिक्रिया