चलचित्र पत्रकार संघ दाङको स्थापना दिवसमा मेयरद्वारा कला नगरीको घोषणा
सारांश
- दाङ, ४ भदौ ।
- चलचित्र पत्रकार संघ दाङको बार्षिकोत्सव तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ ।
- स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
दाङ, ४ भदौ । चलचित्र पत्रकार संघ दाङको बार्षिकोत्सव तथा बृहत साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।
बिष्णु चलचित्र मन्दिरमा भएको कार्यक्रममा नायक पल शाह, वरिष्ठ रंगपत्रकार शान्तिप्रिय, चर्चित गायक कृष्ण काफ्ले, गायिका साहिमा श्रेष्ठ, संगीतकार सन्तोष श्रेष्ठ, गीतकार एवं सञ्चारकर्मी लोकराज अधिकारी लगायतका कलाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए । त्यस अवसरमा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई चलचित्र नगरीका रुपमा बिकास गरिने बताए । दाङ विश्वको सबै भन्दा ठूुलो उपत्यका भएकाले यहाँ चलचित्र क्षेत्रका लागि पनि उपयुक्त स्थान भएको उनले बताए । जिल्लाको चलचित्रको बिकासका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष धु्रबराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले दाङलाई चलचित्रको माध्यमबाट समृद्ध बनाउन सकिने बताए । दाङमा चलचित्र निर्माण गर्न उपयुक्त भएकाले यहाँको बिकासमा चलचित्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे । चलचित्र पत्रकारहरुले पनि यस विषयमा कलम चलाउनुपर्ने धारणा राखे ।
कार्यक्रममा रङ्ग पत्रकार शान्तिप्रिय, राप्ती समाचार दैनिकका प्रकाशक संगीत बस्याल लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए । त्यस अवसरमा देवलोचन पत्रकारिता पुरस्कारबाट शिव पुनलाई पुरस्कृत गरिएको थियो । उक्त पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
त्यस्तै चलचित्र पत्रकारिता राष्ट्रिय सम्मानबाट शान्तिप्रिय, चलचित्र पत्रकार संघ कलाकारिता सम्मानबाट नायक पल शाह र चलचित्र पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याएको भन्दै सल्लाहकार शरद रेग्मीलाई युवा पत्रकारिता सम्मानबाट सम्मान गरिएको थियो ।
प्रतिक्रिया