चार वर्षमै काठमाडौंको चक्रपथमा मोनोरेल चलाइदिने मलेसियाली कम्पनीको प्रस्ताव
सारांश
- काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ।
- मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्।
- उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्।
काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ। मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन्।
उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर काठमाडौं मोनोरेल प्रालि नामक कम्पनी गत माघमै स्थापना गरिसकेका छन्। मोनोरेल सञ्चालनबारे छलफल गर्न यति बेला कम्पनीको अध्यक्षमा डा. अमिनुद्दिन अदनान, कर्पोरेट डाइरेक्टर हेन्री जुड, निर्देशक सिएस सेल्भाराजाका साथै बेलायती लगानी कम्पनी एन्जल इन्भेस्टमेन्टका मलेसियाली कन्सलट्यान्ट अल्बर्ट पेरियानागाम काठमाडौंमा छन्।
सो टोलीले बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर परियोजनाबारे जानकारी गरायो। ‘बुधबार राति अबेरसम्म मलेसियाली टोलीले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेको छ,’ भेटमा संलग्न एक अधिकारीले बताए, ‘प्रधानमन्त्रीले उहाँहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिनुभएको छ ।’
उनले छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै बीचमा कुनै व्यवधान आएन भने शुक्रबार नै विस्तृत परियोजना प्रतिवेदनमा निर्माण गर्न सम्झौता हुन सक्ने सम्भावना रहेको बताए।
टोलीले शुक्रबार लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसँग छलफल गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओलीसँगको भेटमा पावरट्रेकमा अध्यक्ष अध्यक्ष अदनानले चार वर्षमै सञ्चालनमा ल्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेको अधिकारीहरुले बताए। ‘प्रधानमन्त्री ओलीले समय सबै तोकेर काम गर्ने र निर्धारित समयमा काम नभए ठेक्का टर्मिनेट हुन गरी काम गर्नुपर्ने बताउनुभएको छ,’ एक अधिकारीले भने।
प्रधानमन्त्रीसँग भएको छलफलमा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, एमालेका उपमहासचिव विष्णु पौडेल, पुनर्निर्माण प्रधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीसहित सहभागी थिए।
मलेसियाली टोलीले ललितपुर उपमहानगरपालिकाका मेयर चिरिबाबु महर्जन, लगानी बोर्डका अधिकारीसहित विभिन्न अधिकारी तथा नेताहरुसँग भेट गरी यस विषयमा छलफल गरेको छ। ‘पहिलेदेखि नै यस विषयमा छलफल हुँदै आएको हो। बिहीबार मलेसियाली अधिकारीहरु आउनुभएको थियो। रेलको प्राविधिक क्षमता र वित्त व्यवस्थापनबारे जानकारी गराउनुभयो’, महर्जनले नागरिकसँग भने।
चक्रपथमा साढे २८ किमि लामो डबल ट्र्याकको मोनोरेल निर्माण गर्ने योजना छ, जसको लागत ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ।
सो कम्पनीले प्रधानमन्त्रीलाई गराएको जानकारीअनुसार मोनोरेलका गति बढीमा असी किलोमिटर प्रतिघण्टा हुनेछ। आठ सय मिटरदेखि साढे एक किमिको अन्तरमा रहनेगरी १७ वटा स्टेसन राखिनेछ। प्रारम्भिक अध्ययनअनुसार प्रतिकिलोमिटर निर्माण लागत २ अर्बदेखि ३ अर्ब रुपैयाँसम्म लाग्ने देखिएको छ। जमिनबाट १४ फिट उचाइमा गुड्ने मोनोरेलले दैनिक १ लाख ५० हजार यात्री बोक्नेछ। १२ देखि १५ वर्ष लगानी उठाउने लक्ष्य लिएको कम्पनीले ३० वर्ष पनि परियोजना सरकारलाई हस्तान्तरण गर्नेछ।
Ranjit Chaudhari
प्रस्ताब मात्र आउँछ काम हुदैन नेपाल मा