चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
चुनावी अभियानमा जुटे बैतडीका राजनीतिक दल

सारांश

  • मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।
  • बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका हुन् ।
  • काँग्रेसले जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा केन्द्रीय समितिमा नामावली पठाएको छ भने एमालेले पनि प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बैतडीका राजनीतिक दल उम्मेदवार सिफारिशसँगै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

बैतडीमा प्रमुख चार दलले उम्मेदवार सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेका हुन् । काँग्रेसले जिल्लामा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा केन्द्रीय समितिमा नामावली पठाएको छ भने एमालेले पनि प्रदेश कमिटीमा सिफारिश गरेको छ ।

यस्तै, माओवादी केन्द्रले भने असोज ५ गते जिल्लामै उम्मेदवार टुंगो लगाइसकेको छ । उता राप्रपाले पनि समानुपातिक उम्मेदवारको नामावली केन्द्रीय समितिमा पठाएको छ ।

काँग्रेसले सम्भावित उम्मेदवारको नामावली केन्द्रमा पठाएको भए पनि बैतडीमा उसले चारतारे लोकतान्त्रिक चौतारीको दोस्रो भाग सञ्चालन गरेर चुनावी अभियानलाई तीव्रता दिएको काँग्रेस, बैतडीका सचिव वीरबहादुर विष्टले जानकारी दिए । उनले भने, “समाजमा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेकाले आफूहरुले अभियानमार्फत नागरिकसँग अन्तरक्रिया थालेका छौँ ।”

यस्तै, एमालेले पनि चुनावलाई केन्द्रित गरेर जिल्लाका विभिन्न ठाउँमा संगठन बिस्तारको काम गरिरहेको एमालेका सचिव तथा प्रदेशसभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नं २ बाट सिफारिश उम्मेदवार लीलाधर भट्टले जानकारी दिए । उनले भने, “संगठन बिस्तारसँगै अगामी चुनावमा कसरी अगाडि बढ्ने विषयमा छलफल गरिरहेका छौँ ।”

अगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको बैतडीमा जित सुनिश्चित गर्न ‘झाम अभियान’ सञ्चालन गरेको माओवादी केन्द्र बैतडीका संयोजक एवं प्रदेशसभाका लागि बैतडी क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार प्रेमप्रकाश भट्ट ‘आदित्य’ले जानकारी दिए ।

बैतडीको डिलाशैनी गाउँपालिकाको कोटपेटरस्थित झामालेकदेखि पञ्चेश्वर गाउँपालिकाको महाकालीसम्म संगठन विस्तार र चुनावी प्रचारप्रसारका लागि झाम अभियान जारी रहेको छ । उनले भने, “संगठन सुदृढीकरण र प्रचारप्रसार अभियान सञ्चालनमा छ ।”

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिक उम्मेदवारको सिफारिश गरेसँगै चुनावी अभियानलाई पनि जारी राखेको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताउनुभयो । नेकपा (माले), नयाँ शक्ति नेपाल पार्टी, विवेकशील साझा पार्टीलगायत अन्य साना दल भने उम्मेदवारको खोजीमा रहेका छन् ।

सरकारले गत भदौ तेस्रो साता अगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन भौगोलिक अनुकूलतालाई हेरेर पहिलो चरण मंसिर १० मा हिमाली एवं उच्च पहाडी ३२ जिल्ला र दोस्रो चरण मंसिर २१ मा पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय गरेको थियो ।

बैतडीमा पहिलो चरणमा आगामी मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएको छ । दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लालाई निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र कायम गरेको छ ।

आगामी निर्वाचनलाई लक्षित गरेर जिल्ला निर्वाचन कार्यालय, बैतडीको सदरमुकाम गढीमा असोज २९ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृतका रुपमा जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमलाई तोकेर निर्वाचनसम्बन्धी काम पनि थालिएको उनले बताए ।

बैतडीमा ६४ हजार ४७० पुरुष, ६७ हजार ८४५ महिला र दुई जना तेस्रोलिङ्गी गरी एक लाख ३२ हजार ३१७ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?