छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३, २०८०
|
|
१९ पटक हेरिएको
Shares
छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखि

सारांश

  • काठमाडौं ।
  • निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ ।
  • चेम्बरले मङ्गलबार पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको बताएको हो ।

काठमाडौं । निजी व्यवसायीहरूको छाता सङ्गठन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा छैटौँ चेम्बर एक्स्पो हुने भएको छ । चेम्बरले मङ्गलबार पत्रकार सम्मेलन गरी बिहीबारदेखि जेठ ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डमा एक्स्पो आयोजना गर्न लागेको बताएको हो ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले एक्स्पोमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय वस्तु राखिने जानकारी दिए । एक्स्पोमा व्यापारिक अन्तक्र्रिया, आयात–निर्यातको सूचना आदान–प्रदान एवं नेपाली वस्तुको बजारीकरणमा जोड दिइने उनको भनाइ छ । मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला तथा प्रदर्शनीले उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरण तथा व्यापारिक गतिविधि प्रत्यक्ष अवलोकन गर्न सकिने अध्यक्ष मल्ल बताउँछन् ।

“बाह्य व्यापारिक समुदायसँग सहकार्य गरी स्वदेशी उद्यमी व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न एक्स्पो प्रभावकारी हुनेछ”, उनले भने । एक्स्पोमा नेपाली हस्तकलाका उत्पादन, घरेलु तथा खाद्यान्न सामग्री, जडीबुटीजन्य वस्तु प्रदर्शनी गरिने छ । यस्तै अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिनेछन् । मेलामा नेपाललगायत भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने छ । मुलुकको अर्थतन्त्र चलायमान बनाउन एवं गुणस्तरीय वस्तु प्रयोगमा जोड दिन र उपभोक्तालाई सचेत गराउने उद्देश्यले मेला आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?