जनताको काममा व्यस्त हुन अाफ्नाे काम छोड्दै यि वडाध्यक्ष
सारांश
- म्याग्दी, ९ असार ।
- म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त छन् ।
- स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो ।
म्याग्दी, ९ असार । म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त छन् ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो ।
जिल्लाका ठूला राजनीतिक दलका उम्मेदवारलाई समेत पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएका बेनी नगरपालिका–३ भकिम्लीका पदम पुन गाउँमा लोकप्रिय छन् ।
बिहानदेखि बेलुकीसम्म जनताको सेवामा सक्रिय रहनुभएका पुनले आफूले शुरू गरेको बाख्रापालनलाई समेत समय दिन सकेको छैन । बेनी नगरपालिकाभित्रका वडामा सबैभन्दा बजेट कार्यान्वयन तथा योजना सम्पन्नमा समेत भकिम्ली अग्रस्थानमा छ । वडावासीको दैनिक काम, निर्माणाधीन अवस्थामा रहेको जयन्ती माविको २० कोठे भवनमा उनले धेरै समय खर्चनुपरेको छ । तीन वर्ष अगाडि करीब रु १२ लाखमा स्थापना गरेको बाख्रापालन व्यवसायलाई पर्याप्त समय दिन नसक्दा पुनले बाख्रापालन नै छोड्न लागेको बताए ।
“मैले जनप्रतिनिधिको भूमिकासँगै बाख्रापालनलाई अगाडि बढाउन नसक्ने भएकाले संख्या घटाउँदै छु, आफ्नो कार्यकालमा भकिम्लीमा धेरै काम गर्नुपर्नेछ”, पुनले भने । जनताको प्रतिनिधिको भूमिका र व्यवसायलाई सँगसँगै लैजान समय व्यवस्थापन गर्न नसकिने बताउँदै उनले खरी र उन्नत जातका ८५ वटा बाख्रा बिक्री गरिसकेको छ ।
जनप्रतिनिधिको उपस्थिति जनताको आवश्यकताअनुसार हुने भएकाले पनि व्यवसायमा ध्यान दिँदा जनताले समयमै काम नपाउने उहाँको भनाइ छ । जयन्ती माविको व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका पुनले २० कोठे भवन र खेलमैदान निर्माणका लागि स्वदेश तथा विदेशमा भइरहेको चन्दा संकलन अभियानका बारेमा जानकारी तथा भवन निर्माणमा समेत दैनिकजसो उपस्थिति जनाउने गरेको जयन्ती मावि भकिम्लीका प्रअ रामबहादुर पुनले बताए । सदरमुकामबाट नजिक भए पनि राजनीतिक दलको उपेक्षाका कारण सडक, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा पूर्वाधार विस्तारमा पर्याप्त बजेट विनियोजन हुन नसकेको गुनासो गर्दै अध्यक्ष पुनले प्रवासमा रहेका भकिम्लीवासीले विद्यालयको भवनलाई रु एक करोडभन्दा बढी आर्थिक सहयोग गरेको बताए
उनले बेनी–भकिम्ली सडक, स्वार्गाआश्रम, बेलढुंगा, सुन्तला र पशुपालनका क्षेत्रमा बजेट तथा अनुदानका लागि पहल भइरहेको जानकारी दिए । तत्कालीन समयमा राज्य पक्षका सुरक्षाकर्मीको ज्यादतिले दुईवर्ष जेल जीवन बिताएर २०६० सालबाट भूमिगत राजनीति गर्नुभएका पुन गाउँकै मुसुङ्डोले आधारभूत विद्यालयका पूर्वशिक्षक समेत छन् ।
स्थानीय तहको निर्वाचनमा दलीय प्रतिष्पर्धामा जनताले स्वतन्त्र उम्मेदवारलाई जिताए पनि उहाँले सेवा प्रवाहमा समान व्यवहार गर्ने गरेको र गाउँस्तरमा हुने योजना बाँडफाँडमा समेत आवश्यक सहयोग लिने गरेको स्थानीयवासीले बताएका छन् । नगरपालिकाभित्रका वडामा सबैभन्दा धेरै जनश्रमदान हुने वडामा समेत पर्ने भकिम्ली सामाजिक तथा विकास निर्माणमा जनताको उत्साहजनक सहभागिता हुने गरेको छ ।
प्रतिक्रिया