जलमार्गको विस्तारका लागिपनि बजेट विनियोजन !
सारांश
- काठमाडाै, २६ वैशाख ।
- आगामी आर्थिक वर्षको बजेटमा जलमार्गको विस्तारका लागिपनि बजेट विनियोजन हुने भएको छ।
- अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेटमा नेपाललाई जल मार्गसम्म जोड्न बजेटको विनियोजन गर्ने बताएका हुन्।
काठमाडाै, २६ वैशाख । आगामी आर्थिक वर्षको बजेटमा जलमार्गको विस्तारका लागिपनि बजेट विनियोजन हुने भएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी वर्षको बजेटमा नेपाललाई जल मार्गसम्म जोड्न बजेटको विनियोजन गर्ने बताएका हुन्।
खतिवडाले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त र प्राथमिकता पेश गर्दै जल मार्गबाट आयात निर्यात गर्न सस्तो र सुविधायुक्त हुने भएकोले आगामी वर्षको बजेटमा नै रकम विनियोजन गर्न लागिएको जानकारी दिए।
जल मार्गबाट आयात गर्दा नेपाली उद्योगलाई आवस्यक पर्ने कच्चा पदार्थको खर्च कम हुने भएकोले नेपाली उत्पादन सस्तो हुने र उपभोक्तलाई समेत प्रभाव पर्ने बताए।
बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले नेपालको कमजोर आर्थिक धरातलमा टेकेर आर्थिक क्षेत्रको विकास निकै कठिन रहेको बताए। व्यापार घाटा बढ्दै गएकोले त्यसलाई कम गर्न नेपाली वस्तुको उत्पादन बढाउन आगामी बजेट केन्द्रित रहने बताएका हुन्।
आगामी बजेटको निर्माणमा आन्तरिक स्रोतको परिचालन बढाइने र त्यसका लागि सरकारले करको दायरालाई फराकिलो बनाउने तथा राजश्वको चुहावट हुन नदिेने समेत अर्थ मन्त्री खतिवडाले बताए।
सरकारले आगामी वर्षको बजेटमा उर्जा क्षेत्रको विकासलाई विशेष ध्यान दिने पनि उनले बताए। उनका अनुसार सरकारले निर्माणाधीन आयोजनाहरुलाई समयमा नै सम्पन्न गर्न ताकेता गर्ने र संभावना रहेका क्षेत्रमा लगानी विस्तार गर्नेछ। त्यस्तै आर्थिक वृद्धि गर्न उपलब्ध साधनको विनियोजकमा कुशलता प्रयोग गर्ने, पूँजीको विस्तार गर्नेछ। नेपालमा अझै पनि गरिबी, भोकमरीको समस्या रहेकोले त्यसमा सरकारले बजेट विनियोजन गर्ने छ।
त्यस्तै सरकारी, सामुदायिक क्षेत्रलाई स्थानीय निकायबाट प्रवद्र्धन गर्ने योजना पनि अघि बढ्नेछ।
अर्थमन्त्रीले सरकारी वित्त व्यवस्थालाई पारर्दशी बनाउने योजना रहेको पनि बताए। उनले बजेट अनुशासनलाई सरकारले प्राथमिकता दिने, बजेट चुहावटको समस्या नेपालले झेल्दै आएकोले आगामी दिनमा सरकारले त्यसलाई ध्यान दिने बताए। दिगो विकासको लक्ष्य प्राप्त गर्न सरकारले विशेष रणनीति लिइने भएको छ। त्यसको लागि सामाजिक सुरक्षा, रोजगारीजस्ता पक्षमा सुधार गरिनेछ। आगामी बजेटले वन तथा कृषिको क्षेत्रमा रोजगारी बढाउने, श्रम अनुसारको पारिश्रमिकलाई ध्यान दिइने मन्त्री खतिवडाले बताए।
पर्यटन क्षेत्रको विकासको लागि पर्यटकीय क्षेत्रको पहिचानमा सरकारले बजेट विनियोजन गर्नेछ। त्यस्तै पर्यटकीय क्षेत्रमा भौतिक पूर्वाधारलाई जोड दिनेछ। यातायात क्षेत्रको विकास तथा त्यसलाई व्यवस्थित गर्न सरकारले बजेट विनियोजन गर्ने उनले प्रतिनिधिसभा संसदमा बताए।
प्रतिक्रिया