जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
जलाउन ठीक्क पारिएको चिताको शव र मलामी प्रहरीद्धारा पक्राउ

सारांश

  • रौतहटमा जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ ।
  • चार मलामी पक्राउ गरिएका छन् ।
  • कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो ।

रौतहटमा जलाउन चितामा राखेको महिलाको शव हत्या आशंकामा प्रहरीले मंगलबार बिहान नियन्त्रणमा लिएको छ । चार मलामी पक्राउ गरिएका छन् ।

कटहरिया नगरपालिका–५ का विजय साह सोनारकी श्रीमती राजकुमारी देवीको शव प्रहरीले लालबकैया खोलास्थित घाटबाट नियन्त्रणमा लिएको हो । शव नियन्त्रणमा लिने क्रममा प्रहरी र मलामीबीच केहीबेर झडपसमेत भएको थियो । स्थानीयले श्रीमान्को कुटाइबाट मृत्यु भएकी महिलाको हतारहतार अन्त्येष्टि हुन लागेको सूचना दिएपछि प्रहरी घाट पुगेको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।

घटनामा संलग्न भएको आशंकामा मृतकका भाइ कटहरिया–५ का भन्टु साह, भान्जा रामबालक साह र रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ । मृतकका आफन्तले घटना लुकाउन खोजेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ । श्रीमान् विजय साह भने फरार छन् ।

साहले हत्यापछि श्रीमतीका आफन्तलाई समेत प्रलोभनमा पारेको एसपी पोखरेलले बताए । स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार सोमबार राति साह र श्रीमती राजकुुमारीबीच झगडा भएको थियो । साहले स्थानीय कटहरिया बजारमा लोकल रक्सी र मासुको पसल राखेका छन् । उनले मदिरा खाएको विषयमा राति ९ बजेपछि श्रीमान् श्रीमतीको झगडा परेको थियो ।

मृतकको घाँटीमा नीलडाम देखिएको प्रहरीले जनाएको छ । घाटछेउबाट दुई बोतल पेट्रोल र पाँच केजी चिनी पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

मृतकका कोही पनि आफन्त किटानी जाहेरी दिन नआएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले चिताबाट उठाएर लगेको शव फिर्ता माग्दै जिल्ला प्रहरी कार्यालय गौर पुगेका रामप्रवेश साह सोनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनी विजयका भाइ हुन् । शव जिल्ला अस्पताल गौरको शवगृहमा राखिएको छ ।  साह र राजकुमारी देवीको १० वर्ष पहिला विवाह भएको थियो । उनीहरूका दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?