जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं खोज्ने !
सारांश
- एक बुबा भएपछि आफ्नो सन्तानको लालनपालनबाट बिहेवारीसम्मको जिम्मा पुरा गर्नु नै पर्दो रहेछ ।
- दुःखसुख गरेर आफूले नखाएर भएपनि मिठो खुवाएर सधैँ सुखमा राखेको थिएँ ।
- छोराछोरी ठूलो भएपछि किन सधैँ बाबुआमासँगै बस्थे र !
एक बुबा भएपछि आफ्नो सन्तानको लालनपालनबाट बिहेवारीसम्मको जिम्मा पुरा गर्नु नै पर्दो रहेछ । दुःखसुख गरेर आफूले नखाएर भएपनि मिठो खुवाएर सधैँ सुखमा राखेको थिएँ । छोराछोरी ठूलो भएपछि किन सधैँ बाबुआमासँगै बस्थे र ! त्यस्तै जिद्वि गरेर कलिलै १८ बर्ष उमेरमा नै १२ पास गरेर उच्च शिक्षाको लागि जापान गएकी मेरी छोरी, यो साल त पढाई पनि सकेर काम गर्ने भए भन्थी । अघिल्लो सालसम्म त बिहेभन्दा रिसाउने मेरी छोरी यो सालबाट त तपाईंले जस्तो केटा खोज दिनुहुन्छ त्यो सँग बिहे गर्छु भन्न थालेकी छ ।
जापान गएको २ महिनापछि बाट नै लाखैलाख पठाउन थालेकी मेरी छोरी, मलाई लाग्छ कसैको छोरा भन्दा कम छैन । गएको ऋण पनि १ बर्ष हुन नपाउँदै तिरेकी थिइ । त्यसपछि त महिनाको कहिले १ लाख कहिले २ लाख गरेर सधैँ पठाउने गर्छे । यो हामी अहिले बसिरहेको घर, अनि पोखराको जग्गा पनि उसैले जोडेकी हो ।
घरमा टिभी, कम्प्युटर, भाईलाई आइफोन, मोटरबाइक, आमालाई गरगहना अनि मलाई कपडा सबै उसैले जोहो गर्देकी छ । यस्तो लाखैलाख पठाउने छोरीलाई म कस्तो ज्वाईं खोजौं । मलाई यो पीडाले सारै सताउन थालेको छ । जापान जस्तो आधुनिक प्रविधिसँग दिनरात खेलेकी मेरी छोरी घरगाउँमा आएर आफ्नो जिविका चलाउन त सक्छे होला ? भुईं पुछ्ने मिसिनले सरर भुईं पुछ्ने गरेकी मेरी छोरीले यता आएर त्यो कलिलो हातले माटोको पोतो बोकेर दिनरात घर सफा गर्न सक्छे होला । वाशिङ मिसिनको स्विच दबाएर कपडा धुने गरेकीले घर गाउँको पँधेरा वा घरको कल धारा खिचेर कपडा धुन्न सक्छे होला । यस्तो कयौं प्रश्नको प्रहारले मलाई सताईरहेको छ ।
२–४ दिनअघि नेपालमा इन्जिनियर पढेको केटा हेर्न गरेको थिएँ, लाग्थ्यो इन्जिनियरको राम्रो कमाइ हुन्छ । मेरो छोरीलाई सुहाउँछ अनि मेरी छोरीलाई सुखसँग पनि राख्नेछ । तर उता ऊ आफ्नै पीडामा रहेछ, नेपालमा काम नपाएर अष्ट्रेलिया जाने तयारीमा पो रहेछ । अब कसरी कुरा अघि बढाउनु ।
चीनबाट हालसालै डाक्टर पढेर आएको केटासँग छोरीको बिहेको प्रस्ताव लिएर जान लागेको ऊ पनि आफ्नै पीडामा रहेछ, नेपाल सरकार र विश्वविद्यालयलाई आफ्नो अध्ययनको प्रमाणपत्र बोकेर मेरो पढाईलाई नेपालमा पनि अधिकार दे भन्दै धाउनमा व्यस्त रहेछ । यता पनि कुरा मिलेन ।
सरकारी कर्मचारी राम्रो हुन्छ कि भनेर त्यता पनि गए सबै कुरा त राम्रो नै थियो । मलाई पनि चित बुझेको थियो । तर जुन कुराबाट टाढा राख्न खोजेको थिए त्यही कुरा अगाडी आयो । केटाको सरुवा जता भयो त्यता जानुपर्ने रे । अनि केटा हाल विदेश जाने योजनामा पनि छैन रे । सहरमा काम भए त राम्रो नै हो, तर विकट गाउँमा सरुवा भयो भने विचरा मेरी छोरी ।
घर वरिपरिको केटा नहेरेको पनि हैन, सबैको ताल त्यस्तै थियो । जुलुस–नारा, अनि राजनीतिक झुकाव । कसैको राम्रो काम, अनि कमाई छैन । अनि कसरी जापानबाट लाखैलाख पठाउने छोरीको प्रस्ताव गरुँ ।
छोरीलाई फोनमा घुमाइफिराइ उतै जापान गएको राम्रो तिमीलाई हुने खालको केटा खोज भनेको । यस्तो जवाफ आयो । विदेश वा जापान गएका अधिकांश केटाहरुको चरित्र राम्रो नपाएको बताई । धेरै जस्ता केटाहरु जाँडरक्सी, चुरोटलगायत बिहेभन्दा पहिले नै धेरै जसोले महिलासँग शारीरिक सम्बन्ध राख्ने अनि आफूलाई चित बुझेको केटासँग सम्बन्ध मजभुत नहुने बताई ।
आजकल फिरौते जस्तै दिनरात मेरी जापानबाट लाखैलाख पठाउने छोरीलाई कस्तो ज्वाईं उपयुक्त होला भन्दै अरुको घर–घर धाउँदै हिँडेको छु । तर खोजेको जस्तो वर पाउन सकेको छैन ।
(लेखक भट्टराई हाल जापानको टोकियोमा छन् । )
प्रतिक्रिया