जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जीवित कुमारीको नाउँमा पनि कमाउ धन्दा

सारांश

  • गणेश शाक्य इन्द्रजात्रा र कुमारी रथजात्राबारे थाहा नपाउने शायद कमै मात्र होला नेपालमा ।
  • नेपालमा मात्रै हैन विदेशमा पनि जीवित कुमारीबारे त्यत्तिकै कौतुहल रहेको पाइन्छ ।
  • कुमारीको रथजात्रा हेर्न भनेरै अनि के हो ?

गणेश शाक्य

इन्द्रजात्रा र कुमारी रथजात्राबारे थाहा नपाउने शायद कमै मात्र होला नेपालमा । नेपालमा मात्रै हैन विदेशमा पनि जीवित कुमारीबारे त्यत्तिकै कौतुहल रहेको पाइन्छ । कुमारीको रथजात्रा हेर्न भनेरै अनि के हो ? कस्तो हो ? नेपालको जीवित भगवान भनेर हेर्नकै लागि पनि पर्यटकहरु नेपाल भ्रमणमा आउने गरेको पनि पाइन्छ । कतिले त जीवित कुमारीबारे शोध, अनुसन्धानमार्फत लेख रचना लगायत पुस्तकै पनि लेख्ने गरेका छन् ।

जीवित कुमारीबारे विभिन्न किम्वदन्तीहरु पढ्न र सुन्न पाइन्छ । तीमध्ये एउटा प्रचलित किम्वदन्ती तलेजु भवानीसँग गाँसिएको पाइन्छ । काठमाडौं अथवा यें नगरीमा परापूर्वकालमा कुनै एक मल्ल राजा तलेजु भवानी मातासँग प्रत्यक्ष भेट गर्थे । राज्य चलाउनेबारे सरसल्लाह लिने गर्थे र बेलाबेलामा त्रिपासा खेल पनि खेल्ने गर्थे । यसरी, त्रिपासा खेल खेल्दै गर्दा एक दिन राजाको आँखा भवानी माताको यौवनमाथि पर्न गएको रहेछ । यो कुरा माता भवानीलाई थाहा भइहाल्यो र एकदम रिसाई उतिखेरै त्यहाँबाट अन्तरध्यान हुनु भो । राजालाई आफ्नो गल्ती महसुस भयो र आत्मा ग्लानिका साथ आलापविलाप गर्दै भवानी मातासँग क्षमायाचना माग्दै पुनः पहिलेकै अवस्थामा फर्कन आग्रह गर्न थाले । त्यही बेला माताको यसप्रकारको आकाशवाणी गुञ्जियो, “हे राजा, अब म कुनै हालतमा फर्कन सक्तिन । तिमीले गल्ती स्वीकार ग¥यौ, त्यसैले अब तिमीले काठमाडौंभित्रका अठार महाविहारभित्रका शाक्य थरको परिवारबाट एकजना बत्तीस लक्षणले युक्त बालिका छानी उनीलाई कुमारीको रुपमा स्थापना गर्नू र ती बालिकाको शरीरमा म प्रवेश गर्नेछु अनि आज उप्रान्त उनी कुमारीसँगै जे गर्नु पर्ने हो सरसल्लाह गरी गर्नू ।” यति भनिसकेपछि आकाशवाणी पनि बन्द भयो । राजाले भवानी माताको आज्ञा पालना गरी कुमारी प्रतिस्थापन गरे र त्यही बेलादेखि जीवित कुमारीको इतिहास शुरु भएको मानिएको छ ।

जीवित कुमारीको इतिहास शुरु भएदेखि आजसम्म कुमारीको प्रथा चल्दै आएको छ । तर, एउटा कुरा जुन जो कसैलाई थाहा हुन नसक्ला । जीवित कुमारी बसन्तपुर गद्दी बैठक अगाडिको कुमारीघरमा बस्नु हुन्छ भन्नेसम्म त थाहा होला तर जीवित कुमारीको स्याहारसम्भार, लालनपालन कसले गर्छ भन्नेबारे थाहा हुन नसक्ला । प्रायः जीवित कुमारीको मातापिताले नै हेरचाह गर्ने त होला नि भन्ने होला । हैन, जीवित कुमारीको हेरचाह गर्ने छुट्टै अर्कै व्यक्ति विशेषबाट हुन्छ, जसलाई चिताइदार भन्ने चलन छ । कुमारी छनौटपश्चात कुमारीलाई आफ्नो घरबाट कुमारी घर लगिन्छ र त्यहींबाट कुमारीको हेरचाह गर्ने जिम्मा चिताइदारकोमा जान्छ । चिताइदार पनि शाक्य परिवारकै हुन्छ । यस्तो चिताइदारको व्ववस्था कहिले र कसले वा कसको पालादेखि शुरु भएको भन्नेबारे पनि खोज गर्नु आवश्यक छ ।

जीवित कुमारीको कुमारीघर प्रवेशपश्चात आफ्नो घर परिवारसँगको सम्पर्क कहिलेकाहीँ जात्रापर्वमा बाहेक अरु बेला विरलै मात्र हुन्छ । कुमारीको नाममा हुने आम्दानी सबै चिताइदारको पोल्टामा जाने गरेको छ । यसमा कुमारी हुने आमाबाबुको केही हक लाग्दैन । विभिन्न पूजा, भेटी, दक्षिणा नै वार्षिक करोडौं रुपैयाँ हुने गरेको अनुमान छ । यसको कुनै लेखाजोखा छैन, कुनै पारदर्शिता पनि छैन । तर, कुमारीको चिताइदार भने यस्तो आर्थिक आम्दानीबारे सबैलाई गुपचुपमा नै राख्न चाहन्छ । यो कुरा राम्रो हैन । यति मात्र नभई कुनै व्यक्ति वा संस्थाबाट कुमारीको पूजा गर्दा कुमारीकै अभिन्न अंगका रुपमा रहिआएका जीवित गणेश र भैरवलाई पनि पूजा गर्ने आशय राख्दाराख्दै पनि भो पर्दैन, उहाँहरुलाई हामीले नै पछि पूजा गर्ने हो भनि तार्ने भन्ने पनि सुन्नमा आएको छ । कसैले तीनैजना गणेश, भैरव र कुमारीलाई पूजा गर्न चाहन्छ भने सरलरुपमा गर्न सहकार्य गर्नु चिताइदारको कर्तव्य हो कि हैन ?

अझ, धेरै समय अगाडिदेखि नै कुमारी हेर्न भनि कुमारीचोकमा आउने विदेशीहरुलाई कुमारीको दर्शन गराई सोवापत पैसा नै लिने प्रथा नै चलाई बसेको छ । यस विषयमा २३ वर्षदेखि तलेजुको पुजारी रहँदै आउनु भएका उद्धव कर्माचार्यले खुलेरै एउटा अन्तरवार्तामा कुमारीको नाउँमा कमाउ धन्दा भएको अभिव्यक्ति दिनु भएको छ । उहाँकै भनाईमा अचेल विदेशी पर्यटकहरुले जीवित कुमारी भन्दा पनि “ःइल्भ्थ् प्गmबचष्” भन्न थालेका छन रे । त्यस्तै इन्द्रजात्रा व्यवस्थापन समितिकै एकजना सदस्य राजन महर्जनले पनि अस्ति भरखरैमात्र कुमारीको चिताइदारको ज्यादति र गणेश भैरवलाई ओझेलमा पार्न खोजेको विरुद्ध समितिकै सभामा चर्काचर्की बहस भएको अनलाइन लाइभ नै देखिएको थियो । मेरो एकजना जापानी साथीले पनि हनुमानढोका परिसर छिर्न तिरेको महशुल महंगो भएको, त्यसमा पनि जीवित कुमारी हेर्नको लागि पनि छुट्टै पैसा तिर्नु परेको बताउँदै थिए ।

यसरी जीवित कुमारी देखाउँदै पैसा असुल्दै गर्दा जीवित कुमारीको अस्तित्व कहाँ पुग्ने हो ? सदियौंदेखि कुमारीप्रतिको आस्थामा के असर पर्ने हो ? एउटा चिताइदारको यस्तो कार्यले विदेशी पर्यटकले जीवित कुमारीलाई हेर्ने नजरमा कस्तो असर पर्ने हो ? भगवानलाई भेटी दक्षिणा चढाउने नचढाउने, यति चढाउने उति चढाउने भन्ने कुरा भगवान दर्शन गर्ने व्यक्तिको आफ्नो इच्छाको कुरा हो, जबरजस्तीको कुरा हैन । यस विषयमा गम्भीर रुपमा बहस गर्ने बेला भइसकेको छ । अब ढिला गर्नु हुँदैन ।

हो, परापूर्वकालदेखि चल्दै आएका चिताइदार प्रथा निर्मूल नै पार्नु पर्छ भन्ने हैन । तर प्रथामा परिमार्जन त गर्न सकिन्छ नि । अहिले चिताइदारको सम्पूर्ण परिवार कुमारीघरमा बस्ने अनि कुमारी हुनेको मातापिता चाहिँ बस्न नपाउने । हो, यस्तो कुरामा परिमार्जन गर्नुप¥यो । एकजना चिताइदार पनि बस्ने अनि कुमारीको मातापिता पनि कुमारीघरमै बस्ने व्यवस्था हुनु प¥यो । साथै, आम्दानीको हिसावकिताव पारदर्शी हुनुप¥यो । यदि अहिले जस्तै अपारदर्शिता कायम रहने, कुमारीबाट अवकाश पाउने बेला रित्तो हात घर फर्कनु पर्ने, कुमारीको मातापितालाई बेवास्ता गर्ने हो भने भविष्यमा कुमारी बनाउनको लागि कोही मातापिता तयार नहुने अवस्था नआउला भन्न सकिन्न । तर जेहोस, ढिलै भएपनि अचेल यस्ता विषयवस्तुहरुमा जनचेतना जाग्दै आउनु भनेको राम्रो पक्ष हो ।

यसप्रकारको जीवित कुमारीको नाउँमा कमाउ धन्दा गर्ने प्रवृतिलाई जोसुकैले पनि निरुत्साहित पार्न आआफ्नो तहबाट प्रयास गर्नुपर्ने आजको आवश्यकता हो । अझ, कुमारी व्यवस्थापन पक्षमा प्रत्यक्ष संलग्न हुँदै आएका गुठी संस्थान र संस्कृति मन्त्रालयले त झन प्रभावकारीरुपमा यसलाई केलाएर सही बाटोमा लैजानु पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?