जेल सुधार घर बन्न सकेन, बढ्दै अपराधी

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
जेल सुधार घर बन्न सकेन, बढ्दै अपराधी

सारांश

  • काठमाडौं, १९ फागुन – बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए।
  •  आजको नागरिक दैनिकमा खबर छ ।
  • प्रतिकार गर्न खोज्ने भण्डारीलाई गोली हान्ने सोमबहादुर आलेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लियो ।

काठमाडौं, १९ फागुन – बुटवल उपमहानगरपालिका–५, राममन्दिर क्षेत्रस्थित प्रभु मनी ट्रान्सफरमा २०६२ कात्तिक २४ गते डकैती गर्न आएको समूहको प्रतिकार गर्दा स्थानीय बुद्धि भण्डारी मारिए, अर्का एकजना घाइते भए। आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिकार गर्न खोज्ने भण्डारीलाई गोली हान्ने सोमबहादुर आलेलाई तत्कालै प्रहरीले नियन्त्रणमा लियो । हत्या, हातहतियार तथा खरखजना मुद्दामा कसुरदार ठहरिएपछि आले कारागार चलान भए । साढे  दस  वर्ष कैदी जीवन बिताएर उनी २०७३, जेठमा पाल्पा कारागारबाट छुटे।

साढे दस वर्ष कारागार बसेर छुट्दा आले पुरानै आपराधिक काममा लाग्छन् भन्ने प्रहरीले सायदै सोचेको थियो । कैदबाट छुटेको केही महिनामै लुटपाटमा लागेका आले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र संघका कार्यकर्ता वसन्त  पौडेलको हत्यामा संलग्न भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उद्योगी–व्यवसायी र पेसाकर्मीबाट पैसा उठाउने र पैसा नदिए ज्यानसमेत लिने कर्ममा लिप्त गुण्डा नाइके मनोज पुनका मुख्य सहयोगी आलेले नै पुनको पछिल्लो ‘नेटवर्क’ विस्तार गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन् ।पुन र आले फागुन ९ मा देवदहको भवानीपुरमा प्रहरी इन्काउन्टरमा मारिएसँगै उनीहरुको आपराधिक क्रियाकलाप पनि अन्त्य भएको छ।

सुनवल नगरपालिका–७, नवलपरासीका ३६ वर्षीय पदम चौधरी पनि नौ वर्ष कैदी जीवन बिताएर २०७४ वैशाख ६ गते पाल्पा कारागारबाट छुटे । २०६५ असारमा अपहरण तथा शरीर  बन्धक मुद्दामा कैद सजाय ठेकिएका चौधरीको आपराधिक कर्म कारागारबाट बाहिरिएपछि पनि बाटो बदलिएन् । कारागार बस्दा नाइके भई राम्रो छवि बनाएका उनले छुटेपछि समाजमा रामै्र गर्छन् भन्ने विश्वास प्रहरीलाई थियो । कैद भुक्तान गरेर छुटेको केही महिनामै चौधरी पनि आपराधिक कार्यमा लागेपछि  ‘कारागार सुधार गृह’ बन्न नसकेको पुष्टि भएको छ।कारागारबाट छुटेपछि पनि पुनका मुख्य सहयोगी आलेमार्फत अपराधिक क्रियाकलापमा लागेका चौधरी पनि युवा संघका कार्यकर्ता पौडेलको हत्यामा संलग्न भएको र त्यसका लागि २ लाख ३० हजार रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

कुनै अभियोगमा मुद्दा चलेपछि सबुतप्रमाण आधारमा अदालतले दोर्षी र निदोर्षी भएको फैसला गर्छ । दोषी ठहर भए अदालतले तोकेको कैद सजाय भुक्तान गरी कारागारबाट बाहिर निस्कन पाउनु खुसीको विषय हुनुपर्ने हो । तर कैद सजाय भुक्तान गरेर निस्केका केही मानिस समाजमा सामान्य ढंगले जीवनयापनका लागि अघि बढ्नुको साटो पुनः आपराधिक कर्ममा संलग्न हुने प्रवृत्तिले कारागार ‘सुधार गृह नभएर झन् कडा खालका अपराधी जन्माउने थलो बनेको’ कोणबाट पनि विश्लेषण गर्न थालिएको छ ।अपराधको प्रायश्चित गर्नुको साटो जेलबाटै छुट्दा आपराधिक  क्रियाकलापमा लाग्ने योजना बुन्दै निस्कनेहरु बढिरहेकाले  प्रहरी अधिकारी पनि चिन्तित छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?