सेन्टिनेल (Sentinel) भूउपग्रह फ्रान्सको पेरिसमा मुख्यालय रहेको युरोपियन स्पेस एजेन्सीको कार्यक्रम हो। सन् १९७५ मा स्थापित यो एजेन्सी युरोपका २२ मुलुकको अन्तरसरकारी संस्था हो। यसअन्तर्गत सातवटा मिसन छन्। जमिन, समुद्र र वायुमण्डलीय हलचलको अवलोकन लगायतका काम यस अन्तर्गत हुने गरेको यसको वेबसाइटमा उल्लेख छ। योसँग भूउपग्रहका मात्र ६ वटा मिसन छन्।
‘उक्त तस्बिरमा क्षतिले बनाएको मार्ग (trail) साथै सार्वजनिक सञ्चारमाध्यमहरूबाट प्रेसित गरिएका तस्बिरहरू तथा भिडियोहरूको अध्ययनबाट वैज्ञानिकहरू उक्त विनाशकारी आँधी टोर्नाडो नै भएको निष्कर्षमा पुगेका हुन्’, विभागले भनेको छ।
यसअघि नेपालमा टोर्नाडो नआएको पनि जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ। विभाग र स्मल अर्थ नामक संस्थाले गरेको अध्ययनको प्रारम्भिक अध्ययनलाई मान्ने हो भने बारा र पर्सामा जे भयो वा आयो, त्यो टोर्नाडो हो। तर टोर्नाडो आफैंमा हो के ?
नेशनल जोग्राफिकका अनुसार टोर्नाडो भनेको तीब्र गतिमा घुम्दै उडेको हावाको उर्ध्व (ठाडो) भूमरी हो। टोर्नाडोको हावा २५० माइल (४०० किलोमिटर) प्रतिघण्टाको गतिमा बहन्छ र बहने क्रममा एक माइल (१.६ किलोमिटर) चौडाई तथा ५० माइल (८० किलोमिटर) लम्बाईमा आफ्नो बाटो ‘क्लियर’ बनाउँछ। अर्थात् बाटोमा पर्ने सबै कुरालाई सोली आकारमा उठाउने र उडाएर फाल्ने सामर्थ्य राख्छ।
मेरियम वेब्सटर शब्दकोषका अनुसार स्पेनिश भाषाबाट आएको यो शब्द सन् १५५६ देखि प्रयोगमा छ। यसको समानार्थी रुपमा ‘साइक्लोन’ पनि प्रयोग गरिन्छ तर यी दुई एकै भने होइनन्।
बारा र पर्सामा ठूलो मानवीय क्षति हुने गरी आएको प्राकृतिक प्रकोप (विभागको निष्कर्षमा टोर्नाडो) को प्रकृति र प्रवृत्तिबारे अझ विस्तृत अध्ययन हुँदै गर्ला तर के नेपालीमा टोर्नाडोलाई जनाउने कुनै शब्द छैनन् ?
नेपाली शब्दकोषमा रहेका केही शब्द
यस्ता छन्, हावाहुरीसँग सम्बन्धित ‘वृहत् नेपाली शब्दकोष’ मा भेटिएका केही शब्द र तिनका अर्थ। तपाईँ पनि कमेन्टमा मिल्दाजुल्दा शब्दहरू र तिनका अर्थ थप्न सक्नुहुनेछ ताकि टोर्नाडोलाई जनाउने नजिकको नेपाली शब्द भेट्न सकियोस्।
तुफान (ना) : जोडसँग चल्ने हावा; आँधीबेरी; हुरीबतास; आधीँ; समद्रीतिर आउने आँधीबेरी; सबैतिर जलमग्न पार्ने समुद्री महावात; हुन्डरी।
भुवँरी/भुमरी (ना) : पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त ।
हुरी (ना) : निकै जोडसित बहने वायु; वेगसित चलेको हावा; आँधी; आँधीबेहरी।
चक्रवात (ना) : भुमरी परेजस्तो घुमी–घुमी निम्न चापतिर जोडसँग बहने वायु; निम्न चाप वायु; हावाको भुमरी; आँधीबेरी ।
झञ्झा (ना) : रूखका हाँगाबिगा भाँच्दै र धूलो उडाउँदै हुनहुनाएर बहने आँधीबेहरी; वर्षासहितको आँधी। झञ्झानिल/झञ्झावात (ना) : पानीको साथसाथै चारैतिर हुर्रिएको बतास ।
अन्नपूर्णपोष्टबाट
प्रतिक्रिया