ट्राफिक व्यवस्थापनमा कठिनाइ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२० पटक हेरिएको
Shares
ट्राफिक व्यवस्थापनमा कठिनाइ

सारांश

  • बाँके, २१ भदौ ।
  • जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ ।
  • जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।

बाँके, २१ भदौ । जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा चलेको छ । चौबिस जनाको दरबन्दी रहेको जिल्लामा काजमा आएकासहित ३१ जनाको भरमा चलिरहेको छ ।

“काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुङ्गो छैन ।”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भन्नुभयो, “काज फिर्ता भए व्यवस्थापनमा थप कठिनाइ हुन्छ । जनसङ्ख्या वृद्धि उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।”ट्राफिक प्रहरीले शहरोन्मुख क्षेत्र खजुरा, कोहलपुर, शमसेरगञ्जका साथै पूर्व–पश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नु परिरहेको छ । ‘‘बढ्दो जनसङ्ख्यासँगै सोही अनुपातमा चल्ने सवारीको सङ्ख्या हेर्ने हो भने बाँकेमा कम्तिमा ८० ट्राफिक प्रहरीको दरबन्दी आवश्यक छ”, उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा ४५ हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो सङ्ख्याको अनुपातमा एक ट्राफिक प्रहरीले करीब ८२० सवारी साधन हेर्नुपर्ने हुन्छ ।प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र, ब्लुबुक जाँचलगायत सवारी नियम उल्लङ्घनका काममा जनपद प्रहरीले सघाउँदा केही सहज भइरहेको छ ।” सवारी साधनको वृद्धि उच्च रहेसँगै ट्राफिकमैत्री पूर्वाधार नहुँदा जिल्लाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै गएको छ ।
भाडाका घरमा ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट कोहलपुर (साविकको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय) बाहेक ११ ट्राफिक प्रहरी पोष्ट भवन अभावमा भाडाका घरमै छन् ।

ट्राफिक प्रहरी पोष्ट नेपालगञ्ज (बसपार्क) फुल्टेक्रा, गनापुर, शम्सेरगञ्ज, कुसुम, सम्झना, धनौली, मदनचोक, कोहलपुर (चप्परगौडी), कोहलपुर (हाइस्कूल)र चिसापानीको आफ्नै भवन नहुँदा भाडाका घरबाट सञ्चालन गर्नु परिरहेको प्रहरी निरीक्षक रोकायले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको सहयोगका कारण घरभाडालगायत ट्राफिक व्यवस्थापनका काम सहज भएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?