दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ३, २०७९
|
|
३७ पटक हेरिएको
Shares
दलित समुदायको प्रतिनिधित्व कमजोर बन्दै

सारांश

  • काठमाडौँ ।
  • नेपाली जनताको सङ्घर्षणूर्ण योगदानस्वरुप नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष भएको छ ।
  • विसं २००७ को राजनीतिक परिवर्तन हुँदै विसं २०४६ को आन्दोलन, माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र उन्मुलन गरी गणतन्त्र स्थापना गर्यो ।

काठमाडौँ । नेपाली जनताको सङ्घर्षणूर्ण योगदानस्वरुप नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १४ वर्ष भएको छ । विसं २००७ को राजनीतिक परिवर्तन हुँदै विसं २०४६ को आन्दोलन, माओवादी जनयुद्ध र २०६२/६३ को जनआन्दोलनपछि संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्र उन्मुलन गरी गणतन्त्र स्थापना गर्यो । त्यसपछिको १४ वर्ष हेर्दा देशमा व्यवस्था फेरियो तर जनताको अवस्था फेरिएन । व्यवस्था फेरिए पनि बञ्चितीकरणमा पारिएको दलित समुदायको अवस्था ज्यूँकात्यूँ छ ।

देशमा आएको राजनीतिक परिवर्तनसँगै दलित समुदायमा पनि चेतनाको स्तर भने वृद्धि हुँदै गएको छ । विसं २००४ देखि दलित समुदायले सङ्गठितरुपमा विभेद्काविरुद्ध आन्दोलन गर्दै आए । दलित समुदाय सक्रियरुपमा राजनीतिक पार्टीमा आबद्ध भए तर आर्थिक, सामाजिक र राजनीतिकलगायत राज्यको मूलधारबाट किनारमै छन् । सदियौँदेखि जातीय भेदभाव तथा छुवाछुतको पीडा भोग्दै आएको यो समुदायको सरकार (कार्यापालिका) र संसद् (व्यवस्थापिका) मा सहभागिता नगन्नेमात्रामा छ ।

अहिले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित १५ जना र प्रत्यक्षमा एक जना गरी जम्मा १६ जना (५.८१ प्रतिशत) सांसद दलित समुदायबाट छन् । संविधान जारी भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचन, २०७४ मा १९ जना (६ प्रतिशत) को प्रतिनिधित्व थियो । संविधानसभा २०७० मा दलित प्रतिनिधित्व ५१ बाट घटेर ४१ जना (६.८२ प्रतिशत) मा झर्यो । संविधानसभा २०६४ मा ६०१ जनामा ५१ जना (८.४८ प्रतिशत) दलितको प्रतिनिधित्व थियो ।

दलित आन्दोलनका अगुवा पदम सुन्दासले तथ्यलाई हेर्ने मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रपश्चात् दलित समुदायको प्रतिनिधित्व बढ्नुको सट्टा क्रमशः झन झन घट्दै गएको बताए । उनले भने, ‘नीतिनिर्माण तहमै दलित समुदायप्रति उपेक्षा गरिएको छ, दलितहरुको न संसद्मा बलियो सहभागिता छ, न सरकारमा ।’ निर्वाचनमा प्रमुख दलले दलित समुदायबाट पार्टीमा प्रतिनिधित्व गर्ने नेताहरुलाई टिकटमै विभेद् गर्ने गरेको उनको भनाइ छ । प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट दलित उम्मेदवारी शून्य रहेको थियो ।

राज्यसत्तामा दलित समुदायको सहभागिता हेर्दा पञ्चायतकालबाट सुरु भएको देखिन्छ । पहिलोपटक दलित समुदायबाट २०३१ सालमा हिरालाल विश्वकर्मा सहाययक शिक्षामन्त्री बनेका थिए। २०३१ सालदेखि २०४१ सालसम्म उनी चार पटकसम्म शिक्षा र आपूर्ति सहायक र राज्यमन्त्री बनेकी थिइन्। विसं २०३१ देखि २०६३ सालसम्म हीरालाल विश्वकर्मा, प्रकाश चित्रकार, लालबहादुर विश्वकर्मा, हरिशङ्कर परियार, गोल्छे सार्की, प्रतापराम लोहार र मानबहादुर विश्वकर्मालाई सहायक र राज्यमन्त्रीमै सीमित गरिएको थियो । विसं २०६२/६३ को जनआन्दोलनपछि २०६३ साल वैशाख १२ गते गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित अन्तरिम सरकारमा पहिलोपटक खड्कबहादुर विश्वकर्मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री र छविलाल विश्वकर्मा कृषि तथा सहकारीमन्त्री बनेका थिए। त्यसपछि दलितलाई मन्त्रीमण्डलमा समावेश गर्दै लगेको देखिन्छ ।

त्यसपछि पटकपटकका सरकारमा छविलाल विश्वकर्मा, महेन्द्र पासवान, खड्कबहादुर विश्वकर्मा, विशेन्द्र पासवान, दलजीत श्रीपाइली, मीनबहादुर विश्वकर्मा, जगतबहादुर सुनार विश्वकर्मा र महेश्वरजङ्ग गहतराज मन्त्री बने । त्यसैगरी २०६३ सालपछि नवीनकुमार विश्वकर्मा, जीतबहादुर दर्जी (गौतम), खड्कबहादुर बस्याल, कलावती पासवान, दलबहादुर सुनार, गोपी अछामी, रमनी राम, धनमाया विक, कर्णबहादुर विक, विमला विक र आशा विक राज्यमन्त्री बनेका थिए ।

वर्तमान सरकारमा दलित समुदायबाट एक जना राज्यमन्त्री छन् । यसअघि दलितलाई मन्त्री बनाए पनि यसपटक भने राज्यमन्त्रीमा सीमित गरिएको छ । यो तथ्यबाट राज्यसत्तामा दलित समुदायको उपस्थिति बढाउनुको सट्टा साँघुरो पारिँदैछ । संविधानको प्रस्तावनामा ‘सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने’ भनिएको छ ।

धारा ४० (१) मा ‘राज्यका सबै निकायमा दलितलाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ’ भनिएको छ । धारा ४२ (१) र राज्यको निर्देशक सिद्धान्तमा समानुपातिक समावेशी सिद्धान्तलाई संस्थागत गर्ने भनिएको छ । तर संविधानको यो मूल भावना पछिल्लो पटकको प्रतिनिधिसभाको निर्वाचन र सरकार निर्माणका क्रममा लागू हुन सकेन । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहेको छ ।

सामाजिक न्यायमा आधारित समाज निर्माणसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने भनिएको छ । तर कूल जनसङ्ख्याको १४ प्रतिशत दलित समुदाय अहिले पनि उपेक्षामा छ । सदियौँदेखि आर्थिक, सामाजिक र राजनीतिकरुपमा पछाडि पारिएको दलित समुदायको सहभागिता कानुन निर्माण गर्ने थलो संसद्मा न्यून छ । निर्वाचनको समयमा राजनीतिक दलले घोषणापत्रमा ‘दलित समुदायलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समानुपातिकका साथै अन्य अधिकार थप गरी क्षतिपूर्तिको सिद्धान्तअनुरुप विशेषाधिकारको व्यवस्था गरिनेछ’ भने पनि कार्यान्वयनमा इमान्दारिता देखिएको छैन ।

प्रदेशतर्फ सात प्रदेशको कूल पाँच सय ५० सदस्यमा दलित समुदायको प्रतिनिधित्व ३१ जना (५.६३ प्रतिशत) छ । ती ३१ जनामध्ये दुई जना प्रदेशसभाको प्रत्यक्ष निर्वाचित हुन् । कोशी प्रदेशको ५६ सदस्यीय प्रदेशसभामा जम्मा चार जना (७.१४ प्रतिशत) दलितको प्रतिनिधित्व छ । मधेस प्रदेशमा दलित समुदायको प्रतिनिधित्व १०.९३ प्रतिशत छ । कूल ६४ सदस्यीय मधेस प्रदेशसभामा सात जना दलित समानुपातिकबाट निर्वाचित भएका छन् ।

बागमती प्रदेशमा दलित समुदायको सबैभन्दा कम प्रतिनिधित्व छ । कूल ६६ सदस्यीय बागमती प्रदेशसभामा जम्मा दुई जना (३.०३ प्रतिशत) प्रतिनिधित्व भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी १६.६६ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कूल ३६ सदस्यीय गण्डकी प्रदेशसभामा छ जना दलितको प्रतिनिधित्व छ । लुम्बिनी प्रदेशसभामा ९.६१ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको छ । कूल ५२ सदस्यीय लुम्बिनी प्रदेशसभामा पाँच जना दलितको प्रतिनिधित्व छ ।

यस्तै कर्णाली प्रदेशसभामा पनि गण्डकीमा जस्तै १६.६६ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कूल २४ सदस्यीय कर्णाली प्रदेशसभामा चार जना दलितको प्रतिनिधित्व भएकामध्ये एक जना प्रत्यक्ष निर्वाचित भएका हुन् । सुदूरपश्चिम प्रदेशमा ९.३७ प्रतिशत दलितको प्रतिनिधित्व भएको छ । कूल ३२ सदस्यीय प्रदेशसभामा तीन जना दलितको प्रतिनिधित्व छ ।

खासगरी पिछडिएका, उत्पीडित र सिमान्तकृत समुदायका निम्ति समानुपातिक निर्वाचन प्रणाली आएको थियो । समानुपातिक प्रणाली प्रतिस्पर्धामा अगाडि आउन नसक्ने समुदायका निम्ति विशेष व्यवस्था हो । प्रतिनिधिसभामा समानुपातिकका लागि पैसा र पहुँचवाला, पार्टीका शीर्ष नेताहरु नै बसेको देखिन्छ ।

राष्ट्रियसभामा पनि दलित समुदायको उपस्थिति सामान्य छ । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट एक जना दलित समुदायको प्रतिनिधित्व हुने व्यवस्थाअनुसार सात जना दलित सांसद रहेका छन् । कोटाबाहेकको प्रतिनिधित्व राष्ट्रियसभामा हुन सकेको छैन । नेकपा (माओवादी केन्द्र) का नेता पर्शुराम रम्तेलले दलित आन्दोलन कमजोर हुनु, राजनीतिक पार्टीभित्र दलित नेताहरुले पैरवी गर्न नसक्नु, सिमान्तकृतको कमजोर आन्दोलन, समावेशीताको मुद्दामा राजनीतिक दल उदासिन देखिनु नै संसद र सदनमा दलित समुदायको न्यून उपस्थिति भएको विश्लेषण गर्छन् ।

जनता समाजवादीकी नेत्री दुर्गा सोवले दलित समुदायको जनसङ्ख्याका आधारमा संसद् र सरकारमा सहभागिता हुनुपर्ने माग गर्छिन् । संविधानको प्रस्तावनामा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने भनिएको छ । समानुपातिक निर्वाचन प्रणाली खासगरी पिछडिएका, उत्पीडित र सिमान्तकृत समुदायका निम्ति हो । समानुपातिक प्रणाली प्रतिस्पर्धामा अगाडि आउन नसक्ने समुदायका निम्ति विशेष व्यवस्था हो । तर संसद्मा समानुपातिकका लागि पैसा र पहुँचवाला, पार्टीका शीर्ष नेताहरु नै सिफारिस हुने गरेको उनको भनाइ छ ।

हरेक पटकका सङ्घ प्रदेश र स्थानीय तहको निर्वाचनका समयमा सबैजसो राजनीतिक पार्टीले आफ्नो घोषणापत्रमा दलित समुदायलाई समावेश गरिए पनि घोषणापत्रअनुसार ती पर्टीहरुले संसद् र सरकारमा दलित समुदायको सहभागितााई प्राथमिकता दिन नसकेको सभासद् कमला विश्वकर्माको बुझाइ छ । दलित समुदायले कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकालगायत राज्यका हरेक संरचनामा आफूहरुको समान सहभागिताको माग गरिरहेका सन्दर्भमा संसद् र सरकारमा नगन्ने उपस्थिति हुनु समावेशी सिद्धान्तविपरीत देखिने उनी बताउछिन् ।

लोकतान्त्रिक पद्धति अपनाएका राजनीतिक दलहरू नै दलितको प्रतिनिधित्वको सवालमा कठोर देखिएपछि समावेशीताको मुद्दा झन्झन् ओझेलमा पर्दै गएको छ । जनप्रतिनिधिको थलो नेपालको सङ्घीय संसद् सङ्घीय गणतन्त्र नेपालको सर्वोच्च व्यवस्थापकीय निकायलाई समावेशी बनाउन जरुरी छ । समावेशिताको सवालमा राजनीतिक दल जिम्मेवार र गम्भीर हुनुपर्ने देखिन्छ । लोकतन्त्रको सुन्दर पक्ष समावेशितालाई बलियो बनाउन महिला, आदिवासी जनाजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्रलगायत सम्पूर्ण उत्पीडित समुदायको एउटै आवाज हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
बालुवाटारमा शीर्ष नेताबीच सकारात्मक छलफल
दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या
दक्षिणी धादिङको बेनीघाट रोराङमा बालकको हत्या
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
चैतसम्म रु नौ खर्ब रेमिट्यान्स भित्रियो
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
घोषित प्रतिवद्धता अनुरुप नै सरकारले बृद्धभत्ता ५ हजार बनाउँछ : रक्षामन्त्री पोख्रेल
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
पर्यटकीयस्थलहरुमा चहलपहल बढ्दै
लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने
लकडाउनको नयाँ मोडालिटी आज सार्वजनिक हुने
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
प्रचण्डले किन देखे व्यवस्था उल्टिने खतरा ?
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?
महिलाको गालामा चुम्बन गर्दा यौन हिंसा, पुरुषको गालामा गरेको चुम्बन के त?

तपाईंले छुटाउनुभयो कि?