ओलीले सहमतिको प्रयास नगर्दा चुनावबाटै एमालेले मुख्यमन्त्री छान्ने
सारांश
- काठमाडौ, २५ माघ – ओलीसहितका शीर्ष नेताबीच सहमतिबारे भएन छलफल ।
- एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् ।
- मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् ।
काठमाडौ, २५ माघ – ओलीसहितका शीर्ष नेताबीच सहमतिबारे भएन छलफल । एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताले मुख्यमन्त्रीको टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका छन् । मुख्यमन्त्रीका आकांक्षी संसदीय दलको नेता चुनिनका लागि ‘मतको जोडघटाउ’मा व्यस्त देखिएकै वेला ओलीसहित शीर्ष नेताले अन्तिम टुंगो चुनावी प्रतिस्पर्धाबाटै हुने प्रस्ट संकेत गरेका हुन् । मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सांसदलाई छुट्टाछुट्टै भेट गर्दै चुनाव जित्ने लबिङमा व्यस्त छन् । आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले खबर लेखेका छन् ।
एमालेले प्रदेश १ र ३ मा दलको नेता चयनका लागि शुक्रबार (भोलि) बैठक डाकेको छ । त्यस्तै, प्रदेश ४ मा संगठन कमिटीले २८ गते बैठक डाकेको छ । तीनवटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी नेताहरूबीच दलको नेतामा कडा प्रतिस्पर्धा छ । अघिल्लो साता बसेको स्थायी समिति बैठकले प्रदेश सभा दलको चुनावका लागि कार्यविधि तय गरेको थियो ।
१ र ३ मा कडा प्रतिस्पर्धा, ४ मा खगराज निर्णायक
प्रदेश १ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धीका रूपमा दलको नेता बन्ने अन्तिम कसरतमा छन् । ९३ सिटमध्ये प्रदेश सभामा ५१ सिट जितेको एमालेले संसदीय दलमा केन्द्रीय समीकरणअनुसार आचार्य नेता माधवकुमार नेपाल र राई संस्थापन पक्षबाट उम्मेदवार बन्दै छन् । आचार्यलाई वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमको पनि साथ रहेकाले अंकगणितमा अगाडि छन् । तर, प्रदेश सभा दलमा जनजाति सांसदको बाहुल्य रहेको, नेपाल पक्षबाट अर्का आकांक्षी जीवन घिमिरेले पनि दाबी कायम राखेकाले ‘चुनावी जोडघटाउको पासा’ जता पनि पल्टिन सक्ने अवस्था छ ।
प्रदेश ३ मा १ सय १० मध्ये एमालेले ५८ सिट जितेको छ । उपाध्यक्ष अष्टलक्ष्मी शाक्य सर्वसम्मतको एजेन्डालाई पहिलो प्राथमिकता राखेर नेपाल पक्षबाट खडा भएकी छिन् । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा जितको दाबीसहित संस्थापनबाट उम्मेदवार बन्ने अन्तिम गृहकार्यमा छन् । चुनावी अंकगणितमा संस्थापन ८ मतले अघि रहे पनि शाक्य प्रदेश प्रमुख, महिला र उपत्यकाबाट प्रतिनिधित्व गर्ने भएकाले कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
प्रदेश ४ को ६० मध्ये एमालेको २७ सिट छ । मुख्यमन्त्रीका लागि दलको नेतामा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङको दाबी रहेको छ । दुवै अहिलेसम्म संस्थापनमै रहेकाले प्रतिस्पर्धा पेचिलो छ । नेपाल पक्ष लगभग शून्यकै अवस्थामा रहेकाले संस्थापनभित्र प्रभावशाली मानिने पोलिटब्युरो सदस्य खगराज अधिकारीले दुईमध्ये जसलाई समर्थन ग¥यो उसैले चुनाव जित्ने सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ । अधिकारीनिकट ६ देखि ८ सांसद छन् । यद्यपि, दाबेदार दुवै नेताले जितको दाबी गर्दै आएका छन् ।
ओलीले गरेनन् सहमतिको निर्णायक प्रयास
मुख्यमन्त्रीका आकांक्षीलाई एक्लाएक्लै भेटेर कुरा सुन्ने र सकभर सहमति खोज्न सुझाब दिनेबाहेक अध्यक्ष ओलीले अहिलेसम्म निर्णायक प्रयास गरेका छैनन् ।
प्रतिक्रिया